Comments Add Comment

यातायात व्यवस्था कार्यालय वीरगञ्जमा अख्तियारको छापा

१४ फागुन, वीरगञ्ज । वीरगञ्जस्थित यातयात व्यवस्था कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापामारी गरेको छ । मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाबाट आएको तीन सदस्यीय टोलीले छापामारी गरेको हो ।

यातयात व्यवस्था कार्यालय सवारी वीरगञ्जमा अनियमितता भएको उजुरी परेकोले त्यसैको सम्बन्धमा अख्यिारको टोलीले अनुसन्धान गरेको अख्तियारको हेटौंडास्थित कार्यालयले जनाएको छ । के विषयमा अनियमितताको उजुरी परेको भन्नेबारे अख्तियारले खुलाएको छैन ।

टोलीले यातायात व्यवस्था कार्यालयका प्रमुख विपिनलाल कर्णसँग सोधपुछ गर्नुको साथै उजुरीसँग सम्बन्धित कागजपत्रको अध्ययन गरेको थियो । अख्तियारले केही कागजपत्र थप अनुसन्धानका लागि लिएर समेत गएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाका सूचना अधिकारी शिवराज रेग्मीले अनियमितताको उजुरी परेपछि प्रारम्भिक छानवीन गरिएको र केही कागजपत्र अनुसन्धानका लागि ल्याएको जानकारी दिए ।

‘यातायात व्यवस्था कार्यालयमा अनियमितता भएको उजुरी परेको थियो, सत्य तथ्य पत्ता लगाउन प्रारम्भिक छानवीन गरिएको हो,’ रेग्मीले भने, ‘उजुरीसँग सम्बन्धित केही कागजात थप अनुसन्धानका लागि ल्याइएको छ ।’

अनुसन्धान प्रक्रिया पूरा भएपछि मात्रै त्यसबारेमा थप जानकारी दिन सकिने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment