Comments Add Comment

बहराइनमा पनि कोरोना संक्रमण, नेपालीहरु त्रासमा

दुई हप्ताका लागि विद्यालय बन्द, हवाई उडान पनि कटौती

१५ फागुन, काठमाडौं । कोभिड–१९ (कोरोना भाइरस)को संक्रमणबाट बहराइनसमेत प्रभावित भएपछि त्यहाँ रहेका नेपालीहरु त्रसित भएका छन् । बहराइनमा ३२ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भइसकेको छ । नेपालीहरु संक्रमित छन् कि छैनन् भन्नेचाहिँ खुलेको छैन ।

बहराइन नेपालीहरुका लागि वैदेशिक रोजगारीको प्रमुख गन्तव्यमध्ये एक हो । बहराइनमा २० हजारभन्दा बढी नेपालीहरु रहेको अनुमान छ ।

बहराइन सरकारले संक्रमण फैलिन रोक्ने उपायस्वरुप सबै शिक्षण संस्थाहरु मंगलबारदेखि दुई हप्तासम्मका लागि बन्द गराएको छ । हवाई उडान पनि बन्द गरिएको छ । कोरोनाको त्रासले बहराइनका बजारहरु सुनसान छन् भने होटल क्षेत्र ठप्प छ ।

बहराइनमा होटल सञ्चालन गर्दै आएका काठमाडौंका ईश्वर पोखरेलले अनलाइनखबरसँग टेलिफोनमा कुरा गर्दै भने, ‘म काठमाडौंको ठमेलजस्तै यहाँको एरियामा होटल चलाउँछु । अहिले विदाको बेलामा पनि होटलहरुमा ग्राहकको चहलपहल छैन ।’

दूतावास के गर्दैछ ?

उनका अनुसार बहराइनस्थित दूतावासले सुरक्षा सचेतनाका लागि सूचना प्रवाह वा अन्य कुनै गतिविधि गरेको छैन । दूतावासको वेबसाइट र फेसबुक पेजमा पनि कोरोनासँग सम्बन्धित कुनै सूचना वा जानकारी राखिएको छैन । बहराइनमा हाल नेपाली राजदूत पदम सुन्दास छन् ।

बहराइनमा काम गर्दै आएका पोखरेलले अनलाइनखबरसँग भने, ‘यहाँ बस्ने नेपालीहरु त्रासमा छन् । हाम्रो जीवन रक्षाका लागि सरकारले के गर्दैछ ?’ कोरोना संक्रमण सुरु भएको चीनको बुहान सहरबाट नेपाल सरकारले १ सय ७५ जना नेपालीहरुलाई उद्धार गरेको थियो ।

बहराइनमा इरानबाट कोरोना संक्रमण फैलिएको बताइएको छ । इरानबाट आएका तीन जना महिलाबाट कोरोना भाइरस सरेको बहराइनको स्वास्थ्य मन्त्रालयले जनाएको छ । इरानले सबै अन्तर्राष्ट्रिय उडान बन्द गराउनुभन्दा अगाडि नै ती महिलाहरु हवाईजहाजमार्फत् बहराइन आएका थिए । इरानमा १९ जनाले कोरोना भाइरसबाट ज्यान गुमाइसकेका छन् ।

कोरोना भाइरसको संक्रमण सबैभन्दा पहिले २०१९ को डिसेम्बर अन्तिम साता चीनमा फेला परेको थियो । हाल ३० भन्दा बढी देशमा यसको संक्रमण फैलिइसकेको छ ।

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बिहीबार बिहानसम्म २ हजार ८ सय १ पुगिसकेको छ । चीनमा मात्रै २ हजार ७ सय ४४ जनाले ज्यान गुमाएका छन् ।

कोरोना भाइरसबाट विश्वभर ८२ हजार २७ संक्रमित छन् । ३३ हजार २ सय ६ जना भने उपचारपछि स्वास्थ्य लाभ गरी घर फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment