Comments Add Comment

चितवनमा नक्कली राजश्व बिल बनाएर माटो उत्खनन्

१५ फागुन, चितवन । पूर्वी चितवनको राप्ती नगरपालिका वडा नं. ९ मा नगरपालिकाको फर्जी बिल बनाएर माटो निकासी गरेको भेटिएको छ । एक ब्यक्तिको निजी जग्गाको माटो निकासीमा नगरपालिकाले निकासी कर लगाउन बिल जारी गरेको थियो ।

राप्ती नगरपालिकाकी प्रमुख प्रभा बरालले अनुगमनका क्रममा फर्जी बिल फेला पारिएको जानकारी दिइन् । गत फागुन ७ गते आकस्मिक अनुगमनका क्रममा फर्जी बिल काटिएको भेटाएको नगर प्रमुख बरालको भनाइ छ ।

स्थानीयले गुनासो गरेपछि नगर प्रमुख बराल आफैं अनुगमनमा जाँदा एउटै नम्वरका तीन थरी बिल भेटिएका थिए । ‘अनुगमनमा जाँदा माटो बोकेर आएको टिपरलाई चेक गर्दा फर्जी बिल भेटिए,’ नगर प्रमुख बरालले भनिन्, ‘एकै समय आएका दुई टिपरमा बिल नम्वर एउटै भएका रसिद भेटियो, दुवै गाडीले ल्याएका बिलमध्ये एउटामा समय उल्लेख थियो, अर्कोमा उल्लेख थिएन ।’

राप्ती नगरपालिकाका अनुगमन समिति संयोजक एवम् उपमेयर इमानसिंह लामाले भने– म निरन्तर अनुगमनमा छु, हाम्रोभन्दा उनीहरूको संयन्त्र बलियो छ, फेला नै पर्दैन

गाडीलाई दिएको बिल र बिल प्याडमा समय, ठाउँ र पैसाको दर पनि फरक–फरक भेटिएको उनले बताइन् । सबै अनुसन्धानपछि नगरपालिकाको जस्तै अर्काे बिल प्रयोग गरेर किर्ते काम गरेको प्रमाणित भएको प्रमुख बरालको भनाइ छ ।

नगरपालिकाअन्तर्गत रहेको नदीजन्य पदार्थ संरक्षण समिति र कार्यपालिकाको बैठकले फर्जी बिल भन्दै किर्तेमा संलग्नलाई कानुन बमोजिम कारबाही गर्न आवश्यक प्रकृया अघि बढाउने निर्णय गरेको छ । ‘हामी अझै अनुसन्धान गर्दैछौं,’ बरालले भनिन्, ‘यो कसले आदेश दियो, कति प्याड छापियो, कहाँ–कहाँ वितरण गरिएको छ, कुन छापाखानामा छापिएको छ ? पुलिस प्रशासनले पत्ता लगाओस् भनेर निर्णय गरेका छौं ।’
अनुसन्धानका लागि सबै कागजातसहित बिल प्याड प्रमुख जिल्ला अधिकारीलाई बुझाइएको नगरप्रमुख बरालले बताइन् ।

राप्ती नगरपालिका अनुगमन समिति संयोजक उपमेयर इमानसिंह लामा छन् । उनले आफूले निरन्तर अनुगमन गरे पनि केही त्यस्तो फेला नपारेको बताए । ‘म निरन्तर अनुगमनमा छु, उनले भने’, खै हाम्रोभन्दा उनीहरूको संयन्त्र बलियो छ, फेला नै पर्दैन ।’

राप्ती नगरपालिकाको वडा नम्बर ७, ८ र ९ बाट माटो बिक्री हुने गरेको छ । राप्तीका अन्य क्षेत्रमा पनि अबैध उत्खनन् भइरहेको जनगुनासो आउने गरेको छ ।

वडा नम्बर ९ का वडाध्यक्ष देवेन्द्र लामाले वडाबाट दिएको बिल किर्ते गरिएकोबारे आफू जानकार नरहेको बताए । उनले अनुगमनका दिन आफू वडामा नरहेको बताए । ‘म काम विशेषले बाहिर थिएँ,’ उनले भने, ‘कसले यस्तो ग¥यो मलाई थाहा छैन ।’ उनले वडाले ल्याएका सबै रसिद नगरपालिकालाई बुझाएको र अधिकांश रसिद काटिसकिएको जानकारी दिए ।

वडा कार्यालय नै माटो खन्नका लागि सिफारिस दिएको थियो । नगरपालिकाबाट जारी भएको बिल प्याड वडा कार्यालयबाट नै सम्वन्धित ब्यक्तिलाई दिने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment