Comments Add Comment

एसियन च्यालेन्जर क्रिकेटमा वेस्टर्न र असरक स्पोर्टस् विजयी

१५ फागुन, बुटवल । अन्तरदेशीय एसियन च्यालेन्जर ट्रफी क्रिकेट प्रतियोगितामा वेस्टर्न क्रिकेट क्लब बुटवल र असरक स्पोर्टस् ग्लोबल क्लब बंगलादेश विजयी भएका छन् ।

भैरहवा क्विन्स प्रालिको आयोजना तथा राइनो स्पोर्ट्सको संयोजनमा भैरहवास्थित रंगशालामा बिहीबारदेखि सुरु भएको प्रतियोगितामा वेस्टर्नले शोबिज स्पोटर्स काठमाडौंलाई ७८ रनले र असरक स्पोर्टस्ले अल्फा वारियर्स मुम्बईलाई ९६ रनले पराजित गरेको हो ।

सोबिजले टस जितेर फिल्डिङ रोजेको थियो । पहिलो व्याटिङ गरेको वेस्टर्नले निर्धारित १२ ओभरमा ३ विकेट गुमाउँदै १३२ रन बनायो । उसका लागि प्रदीप ऐरीले ५३, कुशल भुर्तेलले १८, कृष्ण कार्कीले १७ (नटआउट) र पवन पाण्डेले १३ रनको योगदान गरे । बलिङमा सोबिजका शुभमसिंह ठकुरी, अनुप श्रेष्ठ र अंकित प्रताप सिंहले १/१ विकेट लिए ।

जवाफमा सोबिजले १२ ओभरमा ५ विकेट गुमाउँदै ५४ रन मात्र बनायो । उसका लागि अनुप श्रेष्ठले २६ रनको योगदान गरे । बलिङमा वेस्टर्नका कृष्ण कार्की, बसन्त रेग्मीले २/२ तथा विक्रम सोबले १ विकेट लिए । खेलमा वेस्टर्नका प्रदीप ऐरी म्यान अफ द म्याच घोषित भए ।

दोस्रो खेलमा टस जितेर व्याटिङ गरेको असरक स्पोर्टस्ले निर्धारित १२ ओभरमा २ विकेट गुमाउँदै १६१ रनको योगफल बनायो । उसका लागि अस्कर कोल्कले ७४ (नटआउट), एमबी चौधरीले ५० र डान रोबर्टले १७ रनको योगदान गरे । बलिङमा अल्फा वारियर्सका प्रताश गोसाई र अजय श्रीवास्तवले १/१ विकेट लिए ।

प्रतिउत्तरमा अल्फा वारियर्सले १०.५ ओभरमा सम्पूर्ण विकेटको क्षतिमा ६५ रन मात्र बनायो । उसका लागि अजय श्रीवास्तवले ३४ (नटआउट) र रितेश कुमारले १४ रनको योगदान गरे । बलिङमा असराक स्पोर्टस्का हामिद अहमदजाईले ६, एमबी चौधरीले २ र अलि समदले १ विकेट लिए । खेलमा असराक स्पोर्टस् हामिद अहमदजाई म्यान अफ द म्याच घोषित भए ।

शुक्रबारको पहिलो खेल असराक स्पोर्टस् ग्लोबल क्लब बंगलादेश र सोबिज क्रिकेट क्लब काठमाण्डौं तथा दोस्रो खेल गुज्ररात लायन्स पाकिस्तान र राइनो स्पोर्टस् क्लब काठमाण्डौंबीच हुने रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment