Comments Add Comment

बढी भार बोक्ने ३६ वटा भारतीय ट्रक कारबाहीमा

१५ फागुन, बुटवल । भारतबाट बढी भार बोकेर नेपालभित्रिने गाडी नियन्त्रणमा लिने अभियान रुपन्देहीमा सुरु भएको छ ।

भारतबाट भित्रिने मालबाहक गाडीको बढी भार (ओभर लोड) नियन्त्रणका लागि यो अभियान सुरु गरिएको हो । रुपन्देहीका यातायात व्यवसायीले एकै दिनमा ३६ वटा गाडीलाई कारबाही समेत गराएका छन् ।

पश्चिमाञ्चल यातायात व्यवसायी समिति र लुम्बिनीे ट्रक व्यवसायी समितिको आग्रहपछि स्थानीय प्रहरी प्रशासनले बढी भार बोक्ने सवारी साधनलाई कारबाही प्रक्रिया अघि बढाएको हो ।

भारतीय नम्बर प्लेटका गाडीले भार क्षमता भन्दा दोब्बरसम्मको सामान ढुवानी गरेको पाइएपछि यातायात व्यवसायीले त्यस्ता गाडीलाई कारबाही गर्न प्रहरीसँग अनुरोध गरेको थियो ।

बढीभार बोक्ने ३६ वटा भारतीय नम्बर प्लेटको गाडीलाई  २ हजारका दरले जरीवाना गरेको  यातायात व्यवस्था कार्यालय (सवारी )रुपन्देहीका प्रमुख मुक्ति पाण्डेले बताए । पाण्डेका अनुसार भार मिलान गरी गाडी सञ्चालन गर्ने गरी जरीवाना लिएर गाडी छाडिएको हो ।

प्रदेश ५ सरकारले बनाएको मालबाहक सवारी साधनको भारवहन नियमन सम्बन्धी कानून बनेको तर निर्देशिका अझै नबनेकाले कार्यान्वयन नभएकोले मन्त्रालयको सहमति लिएर बिहीबारदेखि नै ऐन अनुसार ओभरलोडेड गाडीलाई कारबाही गरिएको पाण्डेले बताए ।

संघीय कानूनमा ओभरलोड बोकेमा २ हजार जरीवाना र भार मिलान गरी सञ्चालन गर्न पाउने व्यवस्था छ भने प्रदेश कानूनमा १० हजार जरीवानापछि भार मिलान गरी सञ्चालन गर्न पाउने कानुनी व्यवस्था रहेको छ ।

पश्चिमाञ्चल यातायात व्यवसायी समिति र लुम्बिनीे ट्रक व्यवसायी समितिको सम्युक्त टोलीले सीमानाका तौल पुल धर्मकाटा सञ्चालन भएका स्थानमा अनुगमन गरी भारतीय ओभर लोड बोकेका गाडीलाई कारबाहीको माग गरेका हुन् ।

सोही अनुसार आगामी दिनमा पनि ओभरलोड नियन्त्रणमा कडाइका साथ लाग्ने पश्चिमाञ्च यातयात व्यवसायी समितिका अध्यक्ष यमप्रसाद पाण्डेले बताए ।

यातयात व्यवस्था कार्यालयले ट्राफिक प्रहरीको पत्रसहित बढीभार बोक्ने गाडीको सिफारिसका आधारमा कारबाहीलाई प्रभावकारी बनाइने जनाएको छ ।

क्षमता भन्दा बढी लोड बोकेका गाडीले सडकलाई क्षति गर्ने र साना तथा मझौला सवारी साधन सञ्चालनमा समस्या हुने भन्दै यातयात व्यवसायीहरुले ओभरलोड गाडी नियन्त्रण गर्न सरकारसँग माग गर्दै आइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment