Comments Add Comment

प्रधानमन्त्री ओली र डा. कोइरालाबीच डेढ घन्टा सम्वाद

१५ फागुन, काठमाडौं । बामेदव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने पार्टी सचिवालयको निर्णय नमान्ने आफ्नो अडानका कारण संकटमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार विहानै प्रमुख विपक्षी नेपाली कांग्रेसका नेता शेखर कोइरालालाई भेटे ।

पार्टीको आसन्न १४ औं महाधिवेशनको तयारीका लागि जिल्ला दौडाहामा रहेका नेता कोइराला बुधबार मात्र काठमाडौं आएका थिए । प्रधानमन्त्रीले भेट्न चाहेको खबर पाएपछि बालुवाटार पुगेका कोइरालाले साढे ८ बजेदेखि करिव डेढ घन्टा भलाकुसारी गरे ।

दुई नेताबीच अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी), सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद र निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटाको अडियो प्रकरणबारे कुराकानी भयो । संविधान संशोधन प्रयास र राष्ट्रियसभा सदस्यको मनोनयनलाई लिएर नेकपामा देखिएको विवादबारे पनि सम्वाद गरे ।

यो सबै विषयमा सत्तारुढ नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली पार्टीमा अल्पमतमा परेका छन् । उनले तत्काल संसदबाट अनुमोदन गर्न चाहेको एमसीसीबारे नेकपाले कार्यदल बनायो र नसच्याई पास नगर्न सुझाव दियो । प्रधानमन्त्रीले अर्थमन्त्री डा. युवराज खतिवडालाई राष्ट्रपतिबाट पुनः मनोनित गर्न चाहेका छन्, तर सचिवालयले गौतमको नाम सिफारिस गर्‍यो ।

त्यही बह उनले कोइरालासामू पोखेका छन् । ‘छापाहरुमा आएको कुरालाई उहाँले पुष्टि गर्नुभयो र मेरो विरोध पनि सोध्नुभयो’ कोइराला भन्छन्, ‘राष्ट्रियसभामा कसलाई लैजाने सरकारको विषय हो र कुनै व्यक्तिलाई लैजाँदा हामीलाई आपत्ति होइन । तर संविधान संशोधन गरेर लैजानु भूल हुन्छ भनेको छु ।’

डा. खतिवडालाई अन्तर्राष्ट्रिय समुदायको विश्वास जितेको भन्दै उनलाई दोहोर्‍याउन चाहेको संकेत गरे ।

ओलीले आफूहरुसँग सहयोग मागेको नभई आफ्नो राय बुझ्न खोजेको हुनसक्ने कोइरालाले सुनाए । साथै संविधान संशोधन समय आएपछि गर्ने हो तर कुनै व्यक्तिका लागि गर्नु गलत हुने प्रधानमन्त्रीको बुझाई आफूले पाएको कोइरालाले सुनाए ।

उनले एमसीसीमा कुनै संशोधन गर्नुपर्ने हो भने छिटो गरेर अनुमोदन गर्न सुझाएका छन् ।

प्रधानमन्त्री ओलीले ललिता निवास प्रकरण र निवर्तमान सञ्चारमन्त्री बास्कोटाको अडियो प्रकरणमा कांग्रेसको भूमिकामा पनि असन्तुष्टि जनाए । ललिता निवास प्रकरणमा तत्कालीन प्रधानमन्त्रीलाई छाडेको तर मन्त्री विजय गच्छदारलाई मुद्दा लगाएको भन्दै कांग्रेसले अख्तियार सरकारको छाया बनेको आरोप लगाएको छ भने बास्कोटा प्रकरणमा ओलीलाई समेत मुछेको छ ।

उनले भ्रष्टाचारको सवालमा आफूले बाहिर जे भन्दै आएको हो, त्यही अडान भएको जिकिर दोहोर्‍याए ।

भलाकुसारीका क्रममा दुई नेतापछि ठट्टा पनि भयो । डा. कोइरालाले नैतिकताका आधारमा तपाईंले त राजीनामा दिनुपर्ने हो भने । जवाफमा प्रधानमन्त्री ओलीले राजीनामा माग्नु त प्रतिपक्षको धर्म नै हो भनेर टारिदिए ।

यो भेटमा आफूले प्रधानमन्त्रीलाई पार्टीभित्रैबाट अप्ठ्यारो पारेको पाएको कोइरालाले सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment