+

एनपीएलमा बनेका ठूला र साना स्कोर : विराटनगरको २२०, जनकपुरको ५१ रन

२०८३ असोज  ३१ गते १२:१२ २०८३ असोज ३१ गते १२:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एनपीएल २०२५ मा विराटनगर किंग्सले पोखरा एभेन्जर्सविरुद्ध ६ विकेट गुमाएर २२० रन बनाउँदै प्रतियोगिताको इतिहासकै ठूलो टोलीगत योगफल बनाएको छ।
  • एनपीएलको पहिलो संस्करणमा जनकपुर बोल्ट्स सुदूरपश्चिम रोयल्सविरुद्ध ५१ रनमै अलआउट हुँदै प्रतियोगिताकै न्यून टोलीगत स्कोरमा सीमित भएको छ।
  • एनपीएलका दुई संस्करणमा टोलीहरूले २०० भन्दा माथिको स्कोर पनि बनाएका छन् र ७८, ७४ तथा ५१ रनजस्ता कम योगफल पनि देखिएका छन्।

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) का अघिल्ला दुई संस्करणमा ब्याटरले ठूला स्कोर बनाउँदा केही टोली भने कम रनमै समेटिएका छन् ।

सन् २०२५ को संस्करणमा विराटनगर किंग्सले पोखरा एभेन्जर्सविरुद्ध २२० रन बनाएको थियो । पहिलो संस्करणमा जनकपुर बोल्ट्स भने सुदूरपश्चिम रोयल्सविरुद्ध ५१ रनमै समेटिएको थियो। यी दुवै एनपीएलका दुई संस्करणका सर्वाधिक र न्यून टोलीगत स्कोर हुन् ।

सन् २०२५ नोभेम्बर १८ मा पोखरा एभेन्जर्सविरुद्ध पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २२० रन बनाएको थियो । विराटनगरको यो स्कोर प्रतियोगिताको इतिहासमा अहिलेसम्मकै ठूलो टोलीगत योगफल हो। जवाफमा पोखरा १८.५ ओभरमा १६७ रनमा समेटिएपछि विराटनगरले ५३ रनको जित निकालेको थियो ।

सन् २०२५ को संस्करणमा पोखरा एभेन्जर्सले पनि ठूलो स्कोर बनाएको थियो । डिसेम्बर २ मा कर्णाली याक्सविरुद्ध पोखराले दुई विकेट गुमाएर २०१ रन बनाएको थियो । तर कर्णाली १९ ओभरमा १६७ रनमा समेटिएपछि पोखराले ३४ रनको जित हात पारेको थियो । एनपीएलमा २०० रनभन्दा बढी बनाउने टोलीको सूचीमा पोखरा पनि परेको छ ।

त्यस्तै, सन् २०२४ को पहिलो संस्करणमा लुम्बिनी लायन्सले विराटनगर किंग्सविरुद्ध २० ओभरमा सात विकेट गुमाएर १९१ रन बनाएको थियो । विराटनगरले १९३ रन बनाएर आठ विकेटको क्षतिमा लक्ष्य पूरा गरेपछि उक्त खेल दुई विकेटले टुंगिएको थियो । दुवै टोलीको योगफल जोड्दा खेलमा ३८४ रन बनेको थियो। यो एनपीएलका दुई संस्करणका सर्वाधिक रन बनेका खेलमध्ये एक हो ।

जनकपुरको ५१ रन सबैभन्दा कम

एनपीएलको पहिलो संस्करणमा जनकपुर बोल्ट्स सुदूरपश्चिम रोयल्सविरुद्ध ५१ रनमै समेटिएको थियो । सन् २०२४ डिसेम्बर ११ मा भएको खेलमा पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा नौ विकेट गुमाएर १२३ रन बनाएको थियो ।

जवाफमा जनकपुर १२.१ ओभरमै ५१ रनमा अलआउट भयो। सुदूरपश्चिमले ७२ रनको जित निकाल्दै जनकपुरलाई प्रतियोगिताको इतिहासकै न्यून टोलीगत स्कोरमा सीमित गरेको थियो।

पहिलो संस्करणमै पोखरा एभेन्जर्स पनि चितवन राइनोजविरुद्ध ७४ रनमा समेटिएको थियो । डिसेम्बर ३ मा भएको खेलमा चितवनले सात विकेट गुमाएर १६१ रन बनाएको थियो। लक्ष्य पछ्याएको पोखरा १३.२ ओभरमा ७४ रनमै अलआउट भएपछि चितवनले ८७ रनको जित हात पारेको थियो ।

दोस्रो संस्करणमा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सविरुद्ध ७८ रन बनाएको थियो । डिसेम्बर ९ मा भएको खेलमा पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले सात विकेट गुमाएर १५५ रन बनाएको थियो । जवाफमा विराटनगर १४.१ ओभरमा ७८ रनमै समेटिएपछि सुदूरपश्चिमले ७७ रनको जित निकालेको थियो ।

दुवै संस्करणका तथ्यांक हेर्दा एनपीएलमा ठूलो स्कोर बनाउने र कम रनमा समेटिने दुवै अवस्था देखिएका छन् । विराटनगरको २२० रन प्रतियोगिताको सर्वाधिक टोलीगत स्कोर हो भने जनकपुरको ५१ रन सबैभन्दा कम स्कोर हो। यसले टी–२० क्रिकेटमा ब्याटिङको लय र बलिङको प्रभावले खेलको नतिजामा पार्न सक्ने ठूलो अन्तर देखाउँछ ।

एनपीएल एनपीएल २०२६ एनपीएल क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय