Comments Add Comment

छापामा आज : संसद् छलेर इन्धनमा थप कर

१६ फागुन, काठमाडौं । नेकपाको प्रशिक्षण र त्यसमा नेताहरूले व्यक्त गरेको भनाइ आजका सबैजसो दैनिक अखबारहरूको प्राथमिकतामा परेको छ । त्यस्तै, इन्धनमा थप विकास कर लगाउने सरकारको निर्णयलाई पनि पत्रपत्रिकाहरूले आलोचनात्मक ढंगले प्रस्तुत गरेका छन् । यसबाहेक पूर्वराज्यमन्त्री सञ्जयकुमार साहबारे अदालतले गरेको फैसला, दुर्घटनालगायत विषय पनि समेटिएका छन् ।

‘संसद् छलेर इन्धनमा थप कर’ शीर्षकमा कान्तिपुरले इन्धनमा सरकारले लगाएको थप करबारे मुख्य समाचार बनाएको छ । समाचार अनुसार, यो निर्णयमा सरकारले कार्यक्षेत्र मिचेको छ ।

कान्तिपुर लेख्छ– संसदबाट अनुमोदन गराएर मात्रै कर लगाउनुपर्ने अभ्यासविपरीत सरकारले इन्धनमा पूर्वाधार कर बढाएर उपभोक्तामाथि अतिरिक्त भार थोपरेको छ ।’

उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँले संविधानविपरीत कर लगाएर सरकारले उपभोक्ता मार्ने काम गरेको टिप्पणी गरेका छन् ।

समाचार अनुसार विगतदेखि नै पेट्रोलियम पदार्थमा अतिरिक्त विकास कर लगाउँदै आए पनि संकलित रकमको सदुपयोग भने हुन सकेको छैन । बूढीगण्डकीका नाममा प्रतिलिटर ५ रुपैयाँ उठाइए पनि संकलित ४१ अर्ब प्रयोगहीन छ । यति मात्रै होइन, प्रदूषण शुल्कका नाममा प्रतिलिटर १.५ रुपैयाँका दरले साढे ८ अर्ब संकलन भए पनि उपयोग भने अन्यत्र गरिएको छ ।

विशेष अदालतले पूर्वराज्यमन्त्री सञ्जयकुमार साहलाई भ्रष्टाचार र सम्पत्ति शुदीकरण कसुरमा बिहीबार दोषी ठहर गरेको समाचार अन्नपूर्णमा छापिएको छ ।

जनकपुर बमकाण्डबारे अदालतले दिएको फैसलापछि जेलमै रहेका साहलाई सम्पत्ति शुद्धीकरण सजाय तोक्न भने बाँकी छ ।

सागका पदक बिजेता खेलाडीलाई सरकारले अझै कबुलअनुसार पुरस्कृत नगरेको अर्को समाचार पनि अन्नपूर्णमा छ । सार्क सकिएलगत्तै सरकारले खेलाडीलाई नगदसहित सम्मानको घोषणा गरे पनि अहिलेसम्म पुरस्कृत नगरेको हो ।

नयाँ पत्रिका दैनिक आज पनि नेकपाभित्रको किचलोमै केन्द्रित छ । समाचार अनुसार नेकपा वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी निर्णय मान्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् । नेपालले त्यसो नभएमा पार्टी दुर्घटनामा पर्ने भन्दै ओलीलाई सचेत गराएका छन् ।

त्यस्तै, प्रधानमन्त्रीसँग बिहीबार भेटवार्ता गरेका कांग्रेस नेता शेखर कोइरालासँग पनि नयाँ पत्रिकालले कुराकानी गरेको छ । कुराकानीमा कोइरालाले प्रधानमन्त्रीलाई चिन्तित पाएको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment