+
+
Shares

‘चुच्चेढुङ्गा’बाट मासिक २४ हजार आम्दानी

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन १६ गते ८:४८

१६ फागुन, बनेपा । पर्यटकीयस्थल देवीस्थानडाँडामा रहेको चुच्चेढुङ्गाबाट यहाँका स्थानीयले मासिक करिब रु २४ हजारभन्दा बढी आम्दानी गर्दै आइरहेका छन् ।

काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९, देवीस्थानडाँडा घुम्न आउने पर्यटकबाट उठाउने शुल्कले सो आम्दानी भएको हो । ‘चुच्चेढुङ्गा’ मा चढ्न रु १० शुल्क लाग्ने गर्दछ ।

धुलिखेलको सबैभन्दा अग्लो स्थानमा रहेको सो डाँडा व्यक्तिको निजी जग्गा रहेका कारण व्यावसायिक रूपमा टिकटको व्यवस्था गरिएको हो । त्यहाँबाट हिमालका दृश्यावलोकन गर्नुका साथै वरिपरिका विभिन्न मनोरमस्थल हेर्न पाइने भएकाले मनोरञ्जनका साथै आनन्द लिनका लागि पु्ग्ने आन्तरिक तथा बाह्य पर्यटकले चुच्चेढुङ्गा चढेवापत सो शुल्क तिर्नुपर्छ । पहिला खुलारूपमा घुम्न र सो ढुङ्गामा चढ्न पाएको भए पनि पछिल्लो समयमा जग्गाधनीले ढुङ्गा भएको वरिपरि तारबार गरेर टिकटको व्यवस्था गरेपछि कमै मान्छेले मात्रै सो ढुङ्गा चढ्ने गरेका छन् । सबैको रोजाइ चुच्चेढुङ्गा चढ्ने नभए पनि विशेषगरी बालबालिका र युवायुवती जोडीको पहिलो रोजाइ चुच्चेढुङ्गा चढ्नु र तस्वीर खिच्नु रहेको पाइन्छ ।

त्यसरी चढ्न जानेहरुले काटेको टिकटबाट मात्रै दैनिक रु ८०० भन्दा बढी रकम सङ्कलन हुने गरेको व्यावसायिक प्रजिता श्रेष्ठले जानकारी दिए । ‘दैनिक रु ८०० को हाराहारीमा रकम जम्मा हुन्छ”, उहाँले भन्नुभयो, “शनिबार र बिदाको दिन मान्छेको आगमन बढी नै हुन्छ ।’

पहिले खुला रहेको डाँडामा पर्यटकको आगमन बढ्न थालेपछि सो ठाउँ अहिले होटल र रिसोर्टका साथै साना खुत्रुके पसलले भरिन थालेका छन् । जहाँ एकपछि अर्को गर्दै व्यवसायीले होटल र साना पसल राख्न थालेपछि खुलारूपमा घुम्न पाउने अवस्था अन्त्य भएको छ । व्यवसाय आफ्नो–आफ्नो जग्गामा घेराबार लगाएर वनभोजस्थल र उद्यान बनाउन थालेका छन् ।

घुम्न आउनेले गरेको विभिन्न प्रकारका फोहर व्यवसायी मिलेर नै सङ्कलन गरी व्यवस्थापन गर्ने गरेको व्यवसायी श्रेष्ठले बताए । ‘हामीले जम्मा पारेको फोहरलाई नगरपालिकाले हप्ताको दुईपटक उठाउँछ,’ उनले भने, ‘हामीले यहाँ फोहर टिप्नका लागि दुई जनालाई मासिक रु नौ हजारका दरले दिने गरी मान्छे राखेका छौँ ।’

सो ठाउँमा पुगेका कतिपयले भने अनावश्यकरूपमा रकम मात्रै सङ्कलन गरेर दुःख दिने काम गरेको प्रतिक्रिया दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?