Comments Add Comment

७ दिनको बिदा लिएका इन्स्पेक्टर चार महिनासम्म पनि हाजिर भएनन्

गृहले अघि बढायो कारबाही प्रक्रिया

१६ फागुन, काठमाडौं । एक साताका लागि बिदा बसेका नेपाल प्रहरीका एक निरीक्षक बिना जानकारी ४ महिनादेखि अनुपस्थित भएपछि गृह मन्त्रालयले कारबाही प्रक्रिया अघि बढाएको छ ।

प्रहरी अस्पताल महाराजगञ्जमा कार्यरत प्राविधिक प्रहरी निरीक्षक डा. मोहमद फिरदोश आलम बिदा लिएको चार महिनासम्म पनि हाजिर नभएका हुन् ।

उनी पूर्वसांसद् मोहमद आफताब आलमका छोरा हुन् । संविधानसभा चुनावका बेला बम बनाउने क्रममा विष्फोट भएर घाइते ८ जनालाई जलाएर मागेको अभियोग उनका बाबुमाथि छ । यही  आरोपमा पक्राउ उनी  अहिले पुर्पक्षका लागि नख्खु कारागारमा छन् ।

अस्पताल प्रशासनका अनुसार आलमको ८ कात्तिकबाट लागू हुने गरी सात दिनका लागि घर विदा स्वीकृत भएको थियो । तर, अहिलेसम्म हाजिर नभएपछि गृह मन्त्रालयको कर्मचारी प्रशासन शाखाले फिरदोशमाथि थप कानूनी प्रक्रिया अघि बढाएको छ ।

गृह मन्त्रालयका अनुसार लामो समयसम्म गैरहाजिर रहेपछि अस्पतालले खोजतलासका लागि भन्दै जिल्ला प्रहरी कार्यालय, रौतहटमा पत्राचार गरेको थियो । यद्यपि, रौतहट प्रहरीले उनको ठेगानामा फेला पार्न नसकेको जवाफ फर्कायो ।

त्यसपछि कारबाही प्रक्रिया अढि बढाइएको जनाइएको छ । शुक्रबार मन्त्रालयले हाजिर हुन आउनेबारे म्याद सम्बन्धी सूचना पनि जारी गरेको छ । सूचनामा भनिएको छ, ‘सूचना प्रकाशित भएको मितिले सात दिनभित्र तपाईंलाई नोकरीबाट हटाउनु नपर्ने कुनै मनासिव कारण भए सन्तोषजनक स्पष्टिकरण जवाफ लिइ पेश गर्न आउनु होला ।’

नभए प्रहरी नियमावली, २०७१ बमोजिम भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाइने भनिएको छ । अस्पतालमा कार्यरत् एक उच्च अधिकृतका अनुसार एमबीबीएस गरेका आलम प्रहरी अस्पतालमा प्रवेश गरेको डेढ वर्ष मात्र भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment