Comments Add Comment

२८४ बिघा जग्गा सरकारको नाममा फिर्ता ल्याएँ : अर्याल

१६ फागुन, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले २८४ बिघा ५ कठ्ठा १५ धुर जग्गा नेपाल सरकारको नाममा कायम गरेको बताएकी छन् । १८ भदौ २०७५ मा मन्त्री बने यता विभिन्न कारणले व्यक्तिको नाममा पुगेको जग्गा फिर्ता गरेको उनले जानकारी दिइन् ।

मन्त्री अर्यालले शुक्रबार आफ्नो कार्यकालमा भएका उपलब्धी सार्वजनिक गर्दै हदबन्दी भन्दा बढी रहेको १० हजार १९२ बिघा जग्गा रोक्का राखेको जानकारी दिइन् । उनका अनुसार सरकारी जग्गा संरक्षणका लागि छानबिन गर्न गठित सरकारी, सार्वजनिक, गुठी जग्गाको संरक्षणसम्बन्धी जाँचबुझ आयोले बुझाएको प्रतिवेदन कार्यान्वयनको चरणमा छ ।

‘गुठीयारहरू खुशी छन्’

मन्त्रालयले गुठी विधेयक लगायतलाई समेटेर एकीकृत भूमि ऐन ल्याउने तयारी गरेको छ । गुठी विधेयकको सम्बन्धमा सरोकारवालासँग पटकपटक छलफल भइसकेको मन्त्रीको भनाइ छ ।

‘गुठीयारहरू सबै खुशी छन् । मन्त्रालयले तयार गरेको विधेयकको मस्यौदा हेरेर गुठीयारहरूले अब भावना मिल्यो भनेका छन्’ मन्त्री अर्यालले भनिन् । मन्त्रालयले जनप्रतिनिधि, गुठीयार, पुजारी लगायतसँग चार पटक छलफल गरेको छ ।

संसदमा दर्ता भएको गुठी विधेयकमा व्यापक जनविरोधपछि गत असारमा सरकारले फिर्ता लिएको थियो । त्यही विधेयक पुनः ल्याउने तयारीमा मन्त्रालय लागेको हो ।

आफ्नै स्रोत र जनशक्ति प्रयोग गरेर सरकारले सगरमाथाको उचाई मापन गरेको छ । उचाई मापन सम्बन्धी ९० प्रतिशत काम सम्पन्न भइसकेको मन्त्री अर्यालले जानकारी दिइन ।

नेपालको मिचिएको भूमि सहितको नक्सा सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा पुगेको, नाप नक्सामा लाइडर नापी प्रविधि अपनाइएको, आनलाइन निगरानी प्रणाली लागु गरिएको मन्त्रालयद्वारा सार्वजनिक पुस्तिकामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment