Comments Add Comment

नेपालको फेरि खराब ब्याटिङ, हङकङसँग ४३ रनले पराजित

१८ फागुन, काठमाडौं । एसीसी इस्टर्न रिजन टी–२० क्रिकेटमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ ।

नेपालको ब्याटिङ कमजोर हुँदा हङकङले ४३ रनको पराकिलो जित हात पारेको हो । १५५ रनको लक्ष्य पछ्याएको नेपाल १८.१ ओभरमा १११ रनमै अलआउट भयो ।

पहिलो खेलमा पनि मलेसियाविरुद्ध १५५ रनको लक्ष्य पछ्याउँदा नेपालको ब्याटिङ कमजोर थियो र २२ रनले पराजित भयो । लगातार दोस्रो हारसँगै शीर्ष दुईमा रहेर एसिया कप छनोट पुग्ने नेपालको सम्भावना कमजोर बनेको छ ।

बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा नेपालको सुरुवात राम्रै थियो । कप्तान ज्ञानेन्द्र मल्ल र कुशल मल्लले पहिलो विकेटका लागि ४२ रनको साझेदारी गरेका थिए । तर पाँचौं ओभरको चौथो बलमा कुशल व्यक्तिगत १९ रनमा आउट भए ।

पावर प्ले सकिँदा नेपालले १ विकेट गुमाएर ४९ रन बनाएको थियो । तर त्यसपछि नेपालले ६२ रन जोड्दा ९ विकेट गुमायो । पारस खड्का ४, उपकप्तान दीपेन्द्र सिंह ऐरी ५, पवन सर्राफ १ र विनोद भण्डारी ५ रन बनाएर आउट भए ।

१५औं ओभरको तेस्रो बलमा कप्तान ज्ञानेन्द्र मल्ल आउट भएपछि नेपालको सम्भावना क्षिण बनेको थियो । ज्ञानेन्द्र ४६ रनमा आउट हुँदा नेपाल ९०.६ को अवस्थामा पुग्यो । करण केसी ७ रन बनाएर आउट भए भने सन्दीप लामिछानेले नै खाता खोल्न सकेनन् । आरिफ शेख १० रन बनाएर आउट भए ।

नेपाललाई सस्तैमा समेट्ने क्रममा हङकङका लागि हारुन अर्सदले ३.१ ओभरमा १६ रन खर्चेर ५ विकेट लिए । अफताव हुसेनले ४ ओभरमा १४ रन खर्चेर ३ विकेट लिए । एहसान खानले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५४ रन बनाएको थियो । हङकङका लागि ओपनर निजाकात खानले सर्वाधिक ४८ रन बनाए । कप्तान अइजज खानले २८, हारुन अर्सदले २७, ओपनर साहिद वासिफले २६ र जेमी एटकिनसनले १७ रन जोडे ।

पहिलो विकेटका लागि निजाकात खान र शाहिद साविसफले ५८ रनको साझेदारी गर्दै हङकङलाई राम्रो सुरुवात दिलाएका थिए । तर आठौं ओभरको पाँचौं बलमा सुशन भारीले साझेदारी तोडे । उनले वासिफलाई आरिफ शेखबाट क्याचआउट गराए ।

सुशनले नै १० औं ओभरमा अर्का ओपनर निजाकातलाई कुशल मल्लबाट क्याचआउट गराए । अर्को ओभरमा सन्दीप लामिछानेले किन्चित शाहलाई शून्यमै पभेलियन फर्काएपछि नेपाल खेलमा फर्किएको थियो । त्यसपछि नेपालले नियमित विकेट लिँदा हङकङले ठूलो स्कोर बनाउन पाएन । १४ औं ओभरको अन्तिम बलमा कुशल मल्लले हारुन अर्सदलाई अभिनाश बोहराबाट क्याचआउट गराए ।

सन्दीपले १७ औं ओभरमा जेमी एटकिनसनलाई विकेटकिपर विनोद भण्डारीबाट स्टम्पिङ गराएपछि हङकङले १२६ रन हुँदा पाँचौं विकेट विकेट गुमायो । १९ औं ओभरमा हङकङका कप्तान अइजज खान रनआउट भएका थिए । नेपालका लागि सन्दीप लामिछाने र सुशन भारीले २/२ तथा कुशल मल्लले एक विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment