Comments Add Comment

स्मार्टफोन बजारमा कोरोनाको गम्भीर असर

चीनमा ४० प्रतिशतको गिरावट

विश्वको सबैभन्दा ठूलो स्मार्टफोन बजारको रूपमा रहेको चीनमा स्मार्टफोनको बिक्री ह्वात्तै घटेको छ । नोवेल कोरोना भाइरसको महामारीका कारण चिनियाँ स्मार्टफोन बजारमा गम्भीर असर परेको हो ।

सन् २०२० को प्रथम त्रैमासिक अवधिमा चिनियाँ बजारमा स्मार्टफोनको बिक्री अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४० प्रतिशतसम्मले कम हुनसक्ने अनुमान गरिएको छ ।

रिसर्च फर्म आइडिसीको एक रिपोर्ट अनुसार वर्षको सुरुका तीन महिनामा चिनियाँ उपभोक्ताहरूले गत वर्षको तुलनामा ३ करोड ३० लाख कम स्मार्टफोन खरीद गर्नेछन् ।

आईडिसीका अनुसार यसअघि प्रथम त्रैमासिकमा स्मार्टफोन बिक्रीदरमा ५ प्रतिशत मात्र गिरावट आउने अपेक्षा गरिएकोमा कोरोना भाइरसका कारण गिरावटदर अति उच्च हुने भएको हो ।

रिपोर्ट अनुसार, स्मार्टफोन बिक्रीमा मार्च महिनामा केही सुधारको अपेक्षा गरिएको भए पनि गत वर्षको हाराहारीमा पुग्न असम्भव देखिएको छ ।

कोरोना भाइरसको असर केवल चिनियाँ स्मार्टफोन बजारमा मात्र नभई विश्व बजारमै देखिएको छ । यो अंग्रेजी वर्षको पहिलो ३ महिनामा विश्वमा स्मार्टफोनको बिक्री गत वर्षको सोही अवधिको तुलनामा १०.६ प्रतिशतले कम हुने रिपोर्टमा उल्लेख छ ।

गत महिनादेखि सुरु कोरोना भाइरसको महामारीका कारण चीनको आर्थिक गतिविधि ठप्प छ । करोडौं मानिसहरू यात्रा गर्न तथा किनमेल गर्नबाट वञ्चित छन् ।

धेरै स्मार्टफोन कम्पनीका उत्पादन प्लान्टहरू चीनमै छन् । चीनमा भएका धेरै उद्योगहरू कोरोनाका कारण बन्द हुनुका साथै पाटपुर्जाको अभाव, कठोर क्वारेन्टाइन पद्धति, बन्दोबस्ती र यात्रा प्रतिबन्धहरूका कारण स्मार्टफोन निर्माता कम्पनीका लागि नयाँ स्मार्टफोनको उत्पादनमा कठिनाइ उत्पन्न भएको छ ।

स्मरणरहोस् अमेरिकी कम्पनी एप्पलले हालै आफ्ना लगानीकर्ताहरूलाई सूचित गर्दै कोरोना भाइरसको फैलावटले कम्पनीको व्यवसायमा सोचेभन्दा धेरै प्रभाव पारेको बताएको थियो । एप्पलका अनुसार सन् २०२० को पहिलो त्रैमासिकका लागि यसअघि प्रक्षेपित आम्दानीको अनुमान पूरा नहुने निश्चित छ ।

एप्पलमात्र नभई चिनियाँ बजारमा ३८ प्रतिशत हिस्सासहित पहिलो स्थानमा रहेको हुवावेको स्मार्टफोन व्यापारलाई पनि कोरोना महामारीले ठूलो प्रभाव पारेको बताइएको छ ।
एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment