Comments Add Comment

बालुवाटारमा फिल्म हेर्न प्रधानमन्त्रीले बोलाउनुभयो : सरिताकुमारी

सामाजिक कुरीतिबारे संसदमा छलफल, मुलुकी संहिता संशोधनको माग

१८ फागुन, काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा बेलाबखत चलचित्र पनि देखाइन्छ भन्ने कुरा आइतबार प्रतिनिधिसभामा एकजना नेकपा सांसदले खुलासा गरिन् ।

‘केही दिनअगाडि हामी बालुवाटारमा फिल्म हेर्न गएका थियौं, सम्माननीय प्रधानमन्त्रीजीले बोलाउनुभएको थियो’ नेकपा सांसद सरिताकुमारी गिरीले आइतबार प्रतिनिधिसभामा भनिन्, ‘अग्निदाह, त्यो फिल्म हेर्दाखेरि प्रष्ट भएको छ कि यो धामी–झाँक्री, बोक्सा–बोक्सी कसरी हुन्छ र लाञ्छना कसरी लगाइन्छ ।’

आइतबार संसदमा कांग्रेस सभापति शेरबहादुर देउवाले बोलिसकेपछि र समाजवादी पार्टीकी सांसद सरिता गिरीले पेट्रोलमाथि बढाइएको कर नहटाए संसद अवरोध गर्ने चेतावनी दिइसकेपछि सांसद विन्दा पाण्डेको बोल्ने पालो आयो ।

‘बोक्सा–बोक्सी दाइजोलगायत कुरीति तथा एसिड प्रहारजस्ता आपराधिक कार्य देशमा विद्यमान रहेको अवस्थामा यस्ता अमानवीय, असंवेदनशील एवं अमर्यादित प्रथा प्रचलन कुरीति र विकृति विसंगतिको अन्त्यका लागि कानुनी कारबाही गर्न तथा यस सम्बन्धमा विशेष अभियान सञ्चालन गर्न आवश्यक भएकोले भन्ने सम्बन्धमा सार्वजनिक महत्वको प्रस्ताव’ माथि संक्षिप्त वक्तव्यसहित छलफल प्रारम्भ गर्न पाण्डे संसदको रोष्टममा पुगिन् ।

पाण्डले सामाजिक कुरीति र अन्धविश्वासको विरुद्धमा सबै जनप्रतिनिधिहरु एकतावद्ध भई अभियानमा लाग्न प्रस्ताव गरिन् । एसिड प्रहार गर्ने अपराधीलाई आजन्म कैदको सजायँ हुनुपर्ने र उपचारको सम्पूर्ण खर्च तत्काल राज्य कोषबाट व्यहोर्नुपर्ने सांसद पाण्डेले बताइन् । एसिडको बिक्री वितरणलाई कडाइका साथ नियमन गर्नुपर्ने र एसिड बेच्नेलाई पनि कानुनी सजायँको दायरामा ल्याइनुपर्ने पाण्डले प्रस्ताव गरिन् ।

सामाजिक कुरीति र हिंसामा संलग्नमाथि कडा सजायँ हुनुपर्ने माग गर्दै पाण्डेले मुलुकी अपराध संहिता दफा १९३ मा गरिएको व्यवस्था अपर्याप्त भएकाले यसलाई संशोधन गर्न माग गरिन् । ‘सबै प्रकारको हिंसाको अन्त्यले मात्र समृद्ध नेपाल र सुखी नेपालीको नारा सम्भव हुन्छ भन्दै उनले सबै तहको संलग्नता हुने गरी सामाजिक चेतनाको अभियानमा संलग्न हुन आग्रहसहित यसबारे छलफल अगाडि बढाउन सभामुखसमक्ष आग्रह गरिन् ।

सांसद पाण्डेको प्रस्तावलाई समर्थन गर्दै सांसद नवराज सिलवालले समाजमा अपराधका घटनाहरु रोक्न नसकिएको बताए । पूर्वप्रहरी अधिकारी समेत रहेका सांसद सिलवालले भने, ‘हामीले यस्ता गतिविधिहरुलाई रोक्न सक्यौं त ? त्यस्ता आक्रमण गर्ने प्रवृत्तिहरुलाई हामीले निराकरण गर्न सक्यौं त ? वास्तवमा त्यो गर्न सकेजस्तो देखिँदैन ।’

सांसद सिलवालले भने, ‘संसदले बनाएका कानूनहरुलाई राज्यले सहीरुपमा प्रयोग गरेको छ कि छैन, त्यो हेर्नुपर्छ । संसदीय समितिमा सरकारले रिपोटिङ गर्ने मेकानिज्म बनाउनुपर्छ ।’

सांसद सिलवालपछि नेकपा कै सांसद सरिताकुमारी गिरीको बोल्ने पालो आयो । गिरीले दहेज प्रथा समाजको कलंक भएको बताउँदै यस्ता कुरीतिहरुविरुद्ध कडा कानून बनाउनुपर्ने बताउँदै सांसद पाण्डेले अघि सारेको प्रस्तावमा समर्थन जनाइन् । उनले बालुवाटारमा फिल्म हेरिसकेपछि यस्ता कुरीतिहरुबारे प्रष्ट भएको बताइन् ।

सामाजिक कुरीतिहरुबारे छलफल भइरहँदा प्रतिनिधिसभामा केही सांसदहरु निदाइरहेको दृश्य देखिन्थ्यो ।

बोक्साबोक्सी एसिड आक्रमण, दाइजो प्रधान लगायतका कुरीतिमाथि संसदमा छलफल हुँदै गर्दा संसद हलमा केही छात्राहरुले पनि उपस्थित भएर चाखपूर्वक सुनेका थिए ।

आइतबार बसेको प्रतिनिसभा बैठकमा सांसदहरुकबो पातलो उपस्थिति थियो । आइतबारको बैठकले फागुन १५ गते गणपूरक संख्याको अभावमा निर्णय हुन नसकेको संघ प्रदेश र स्थानीय तहको व्यवस्थापनसम्बन्धी विधेयकलाई ध्वनी मतका आधारमा पारित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment