Comments Add Comment

किशोरीलाई दुर्व्यवहार गर्नेलाई कारबाही नगरी छोडेको गुनासो

१८ फागुन, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका-१ मा युवतीलाई दुर्व्यवहार गर्नेलाई कानुनी कारबाही नगरी छोडिएको गुनासो आएको छ । युवतीलाई लछारपछार गर्दै  दुर्व्यवहार गर्नेहरुलाई कानुनी कारबाही गर्नुको साटो प्रहरीले समाजको जिम्मा लगाएको हो ।

वडाध्यक्ष मनोज गुप्ताको रोहबरमा सन्दीप साह कानु, नागा दास, सुभास दासलगायत ५ जना बुधबार प्रहरी कार्यालयबाट तारिखमा छुटेका छन् ।

गत शनिबार फागुन १० गते साँझपख गहुँ बारीमा २२ वर्षीया युवतीलाई पाँच जना केटाहरुले दुर्व्यवहार गरेका थिए । उनीहरुले कपडामा समातेर तानेको भिडियोसमेत फेला परेको छ ।

स्थानीय केही अगुवाको साथमा अभिभावकसहित युवती जिल्ला प्रहरी कार्यालय पर्सामा पनि पुगेकी थिइन् । त्यसपछि प्रहरीले आरोपी युवकहरुलाई नियन्त्रणमा लिएको हो । तर समाज नै किशोरीको विपक्षमा देखिएको भन्दै केटाहरुलाई तारेखमा रिहा गरेको छ ।

शनिबार गाउँमा पञ्चायत बसेर ती केटाहरुलाई पाँच दिन मन्दिर सफा गर्न लगाउने सजाय सुनाइएको स्रोतले बताएको छ । पीडित युवतीका बुबा र पाँचै जना केटाहरुका बुबासहित बसेको पञ्चायतले गाउँमै भएको घटनालाई गाउँमै मिलाउने, प्रहरी कार्यालय वा अन्त कतै कुनै खालको उजुरी नगर्ने निर्णय गरेको स्रोतको दाबी छ ।

आरोपित पक्षले भने अरु केटासँग बसेको देखेपछि चिनजानका केटाहरुले यसो किन गरेको भन्दै हप्काएको बताएका छन् ।

किशोरी माथि यौन दुर्व्यवहारको प्रयास भए/ नभएको अनुसन्धान भइरहेको एसपी गंगा पन्तले बताइन् । ‘घटनाबारे जानकारी आएको थियो, मैले नै किशोरी र उनका अभिभावकसँग कुराकानी पनि गरेको हुँ । तर उनीहरुले यौन दुव्र्यबहार नभएको जस्तो कुरा गरे, अनि उजुरी पनि दिएनन् । त्यसैले आरोपी केटाहरुलाई तारेखमा रिहा गरेकाछौं,’ उनले भनिन्, ‘तर भिडियो क्लिप्सहरु पनि छन भन्ने कुरा आएको छ, त्यसलाई संकलन गरेर अध्ययनको काम भइरहेको छ ।’

यौन दुर्व्यवहारका सन्दर्भमा पीडित भनिएकी किशोरी स्वयंलेले होइन भनेको र उजुरीसमेत नआएकोले मुद्दाअघि नबढाइएको उनको भनाइ छ । ‘अन्य प्रायोजन जे भए पनि महिलामाथि हात हाल्नु नै गलत देखिएको छ । वास्तविकता के रहेछ बुझ्छौं,’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment