Comments Add Comment

‘बहराइनमा नेपालीहरू सुरक्षित’

१९ फागुन, काठमाडौं । बहराइनस्थित नेपाली दूतावासले बहराइनमा अहिलेसम्म कुनै नेपालीमा पनि कोरोना संक्रमण नदेखिएको जानकारी दिएको छ । १५ गतेसम्ममा बहराइनमा ३८ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भइसकेको छ भने २० भन्दा बढी शंकास्पदहरुलाई क्वारेन्टाइनमा राखिएको छ ।

बहराइनमा ३५ हजार नेपाली श्रमिक कार्यरत छन् । तर, हालसम्म कुनै नेपालीलाई कोरोना संक्रमण नभएको राजदूत पदम सुन्दासले विज्ञप्ती मार्फत जानकारी दिएका छन् ।

बहराइन भूगोलको हिसाबले सानो भएकाले पूरै देश कोरोना संक्रमणको उच्च जोखिममा छ ।

दूतावासको सहयोगमा बहराइनको स्वास्थ्य मन्त्रालयले नेपाली भाषामै कोरोना सम्बन्धी विभिन्न निर्देशनहरु जारी गरेको छ । दूतावासले बहराइनमा क्रियाशिल नेपाली संघसंस्थाहरुलाई पनि इमेल मार्फत सूचना प्रवाह गरिरहेको राजदूत सुन्दासले जानकारी दिए ।

श्रम महिला मन्त्रालयका एसिस्टेण्ट अण्डर सेक्रेटरी एच इ अहमेड ज अल हाइकीसँग दूतावासले भेट गरी कोरोनाबारे नेपालीलाई सहयोग गर्न आग्रह गरेको पनि सुन्दासले जानकारी दिए ।

भेटमा बजारमा सर्जिकल मास्कसमेत उपलब्ध नभएको जानकारी दिएपछि मन्त्रालयले नेपाली कामदारलाई मास्क उपलब्ध गराउने प्रयास जारी राखेको जानकारी दिएका थिए । राजदूतावासले फेसबुक र दूतावासको वेभसाइटमार्फत विभिन्न जानकारीहरु दिइरहेको भन्दै राजदूत सुन्दासले कामदारलाई नआत्तिन आग्रह गरेका छन् ।

बहराइन प्रवेशमा रोक

सलमानियास्थित सलमानिया मेडिकल कम्ल्पेक्स अन्तरगत इब्राहिम खाइल नो कम्युनिटी मेडिकल केयरमा संक्रमितहरुको उपचार भइरहेको छ ।

देशभरी छ दर्जन बढी व्यक्तिमा कोरोना भाइरस संक्रमणको आशंका गरिए पनि परीक्षण गर्दा सबैमा पुष्टि नभएको बहराइनको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरानाको आंशका गरिएकाहरुलाई विमानस्थल नजिकैको मुहाराक पगेरिबार्टिक अस्पतालमा क्वारेन्टाइनका लागि राखिएको छ भने जेष्ठ नागरिकहरुलाई अन्य अस्पतालमा भर्ना गरिएको छ ।

संक्रमण फैलिन नदिन युनाइटेड अरव इमिरेट्सको आबुधावी, इराक र लेवनानबाट हुने हवाइ आवत जावतलाई अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरेको छ । ती मुलुकमा रहेका बहराइनका नागरिक तथा बहराइनीलाई भने डेडिकेटेड हटलाइनमा सम्पर्क गर्न सुझाव दिएको छ ।

कोरोना भाइरस संक्रमित पश्चात चीन भ्रमण सकेसम्म नगर्न बहराइनको विदेश मन्त्रालयले सूचना जारी गरेको छ । त्यस्तै, इरानको यात्रामा प्रतिबन्ध नै लगाएको छ । थाइल्याण्ड, सिंगापुर, मलेसिया तथा दक्षिण कोरिया भ्रमण गरेर आउने अन्य मुलुकका नागरिकलाई १४ दिनसम्म बहराइन प्रवेशमा प्रतिबन्ध लगाइएको छ ।

फेब्रुअरी महिनाभर इरानबाट बहराइन फर्केका सम्पूर्णलाई स्वघोषणामार्फत स्वास्थ्य जाँच गराई रोग फैलनबाट रोक्ने राष्ट्रिय प्रयासमा सहयोग गर्न बहराइनले अपिल समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment