Comments Add Comment

यी हुन् सरकारले घोषणा गरेका रुपान्तरणकारी १८ आयोजना

१९ फागुन, काठमाडौं । राष्ट्रिय योजना आयोगले समृद्धि र सुखको आधार निर्माण गर्ने रणनीतिक र बृहत प्रभाव पार्ने खालका आयोजनाहरुलाई रुपान्तरणकारी आयोजनाका रुपमा अगाडि बढाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको राष्ट्रिय योजना आयोगको सोमबारको बैठकले गेम चेन्जरका रुपमा लिइएको १८ वटा रुपमान्तरणकारी आयोजनालाई पन्ध्रौं योजनामा समावेश गरी कार्यान्वयनमा लैजाने निर्णय गरेको हो ।

यस्ता आयोजना खासगरी आर्थिक वृद्धिको पथ परिवर्तन गर्ने आयोजनाहरु भएको आयोगले जनाएको छ । यस्ता आयोजनामा लगानी प्रवद्र्धन, उच्च रोजगारी सिर्जना, व्यापार सन्तुलन र गरिबी तथा असमानता न्युनीकरण गर्ने परियोजनाहरु समावेश गरिएको छ ।

आयोगका उपाध्यक्ष पुष्पराज कँडेलले राष्ट्रिय गौरवमा नपरेका तर कतिपय राष्ट्रिय गौरवका योजना भन्दा महत्वपूर्ण आयोजनाहरुलाई रुपमान्तरणकारी आयोजनामा समावेश गरिएको बताए । उनले पूर्वाधार विकास मात्र नभएर सामाजिक विकासका कार्यक्रमहरु पनि उत्तिकै महत्वका भएकाले समाज रुपमान्तरणका लागि रुपान्तरणकारी आयोजनाको पहिचान गरी कार्यान्वयनमा जानुपर्ने आवश्यकता रहेको बताए ।

उपाध्यक्ष कँडेलले सरकारले कतिपय राष्ट्रिय गौरवका आयोजनाको कार्यान्वयन गर्न नसकेको भए पनि समाजको विकास, समृद्धि र सुखको आधार निर्माण गर्न रुपान्तरणकारी आयोजनाहरु महत्वपूर्ण हुने बताए । उनले रुपान्तरणकारी आयोजनामा रहेका १८ वटा कार्यक्रमको कुल लागत २५ खर्ब रुपैयाँ रहेको बताए ।

यी हुन् रुपान्तरणकारी आयोजना

१. प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना
२. सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना
३. समृद्धिका लागि वन कार्यक्रम
४. जग्गा प्रशासन सुदृढीकरण तथा अनौपचारिक भूसम्बन्ध व्यवस्थापन कार्यक्रम
५. औद्योगिक पूर्वाधार विकास आयोजना
६. स्वास्थ्य संस्था तथा स्वास्थ्य सेवा विस्तार आयोजना
७. सार्वजनिक विद्यालय सबलीकरण आयोजना
८. प्राविधिक तथा व्यवसायिक शिक्ष एवम् तालिम आयोजना
९. राष्ट्रपति महिला सशक्तीकरण परियोजना
१० माथिल्लो अरुण जलविद्युत आयोजना
११. राष्ट्रिय तथा अन्तरदेशीय प्रसारण लाइन आयोजना
१२. पूर्व पश्चिम राजमार्ग स्तरोन्नति आयोजना
१३. गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबेशी–रसुवागढी सडक आयोजना
१४. प्रादेशिक तथा स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रम
१५. नयाँ शहर विकास आयोजना
१६. शहरी करिडोर आयोजना
१७. डिजिटल नेपाल
१८. राष्ट्रिय परिचय पत्र तथा घटना दर्ता कार्यक्रम

आयोगले कुल गार्हस्थ उत्पादनमा कम्तीमा शून्य दशमलव ५ प्रतिशत योगदान दिने, विषय क्षेत्रगत प्रमुख लक्ष्यमा कम्तीमा २० प्रतिशत योगदान दिन सक्ने, कम्तीमा ४० हजारलाई प्रत्यक्ष्य तथा अप्रत्यक्ष रोजगारी सिर्जना गर्ने, कार्यान्वयन चरणमा कम्तीमा १० लाख र परियोजना सम्पन्न भएपछि २० लाख जनसंख्या लाभान्वित हुने र विषय क्षेत्रगत र प्रादेशिक सन्तुलन कायम भएका परियोजनालाई रुपान्तरणकारी आयोजनामा समावेश गरेको हो ।

आयोगले राष्ट्रिय गौरवका आयोजनामा २२ वटा आयोजना र उच्च प्राथमिकता आयोजनामा १ सय १७ अयोजनालाई १५ औं योजनामा समावेश गरेको छ । समृद्धिको आधार निर्माण गर्ने, नागरिकलाई परिष्कृत र मर्यादित जीवनयापनको अनुभूति गराउने र देशको स्वाभिमान, स्वतन्त्रता र राष्ट्रिय हितको संरक्षण गर्ने लक्ष्य १५ औं योजनाको छ ।

त्यसका लागि सरकारले तोकेका राष्ट्रिय गौरव, रुपान्तरणकारी आयोजना र उच्च प्राथमिकतामा राखेर आयोजनाहरुलाई कार्यान्वयन गर्न लागेको हो । यी सबै परियोजनाका लागि करिब ९२ खर्ब २९ अर्ब २९ करोड रुपैयाँ लगानी लाग्ने छ । लगानीको व्यवस्थापन सार्वजनिक, निजी तथा सहकारी क्षेत्रबाट गर्ने योजना समेत आयोगको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment