Comments Add Comment

बन्दका कारण पश्चिम तराईको जनजीवन प्रभावित

२० फागुन, कैलाली । थरुहट–थारुवान राष्ट्रिय मोर्चाले आह्वान गरेको बन्दका कारण पश्चिम तराईको जनजीवन प्रभावित भएको छ ।

मोर्चाले सरकारसँग १४ बुँदे माग राख्दै सरकारलाई दबाव दिन कैलाली, कञ्चनपुर, बर्दिया, बाँके र दाङ बन्दको घोषणा गरेका थिए ।

बन्दका कारण धनगढीबाट लामो तथा छोटो दुरीमा चल्ने सवारी साधन चल्न सकेका छैनन् । सरकारी कार्यालय, शैक्षिक संस्था, बजार तथा उद्योग कलकारखानामा समेत बन्दको प्रभाव परेको छ ।

यातायातका साधन नचल्दा भारत लगायत विभिन्न ठाउँबाट आएका यात्रुहरु धनगढी बसपार्कमा अलपत्र परेका छन् ।

पूर्व पश्चिम राजमार्गमा स्कटिङबाट गाडी चलाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक प्रकाश सिंह कार्कीले बताए । प्रहरी निरीक्षक कार्किले बन्दको आंशिक प्रभाव परेको बताए ।

बन्दको पूर्व सन्ध्यामा सोमबार साँझ मोर्चाले गरेको मसाल जुलुसबाट प्रहरीले कञ्चनपुरबाट १ जनालाई नियन्त्रणमा लिएको छ । प्रदर्शनको क्रममा सञ्जय रानालाई प्रहरीले नियन्त्रणमा लिएको मोर्चाका कैलाली संयोजक माधव थारुले जानकारी दिए ।

रेशम चौधरीसहित ११ जना जेलबन्दीको रिहाइ गर्नुपर्ने, टीकापुर घटनाबारे सत्यतथ्य छानबिन गर्न गठित छानबिन समितिको प्रतिवेदन र सर्वदलीय संसदीय समितिको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने लगायतका माग राख्दै मोर्चा फागुन १ देखि आन्दोलनमा छ ।

आफूहरुको माग सम्बोधनमा सरकार गम्भीर नबनेकोले बन्दको आव्हान गरिएको मोर्चाका कैलाली संयोजक थारुले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment