Comments Add Comment

गण्डकी प्रदेशले बनाउने भयो सरुवा रोग अस्पताल

१ अर्ब ३४ करोड रुपैयाँ लागत

२० फागुन, पोखरा । कोरोना भाइरस नेपालमा फैलियो भने के हुन्छ ? यो अहिले सबैभन्दा चिन्ता र सन्त्रासको विषय छ । किनकि विकसित देशहरुले समेत कोरोनाको संक्रमण रोक्न महाभारत परिरहेको छ भने नेपालमा न त जनचेतना छ, न उपचारका लागि हुनुपर्ने जति तयारी छ ।

काठमाडौंको टेकुमा रहेको शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल एकमात्र नेपालमा भएको सरुवा रोग उपचार केन्द्र हो । तत्कालीन अञ्चल अस्पतालहरुलाई प्रादेशिक बनाए पनि पर्याप्त स्रोतसाधन छैन ।

गण्डकी प्रदेशले भने प्रदेशमै सरुवा रोग अस्पताल बनाउन काम थालेको छ । सामाजिक विकास मन्त्रालयले कोरोनाजस्ता सरुवा रोगको उपचार र रोकथामका लागि ३ सय बेडको अस्पताल बनाउने योजना बनाएको हो । मन्त्रालयले विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) समेत तयार पारिसकेको छ । डीपीआर तयार पारी मन्त्रालयलाई बुझाइसकेको र मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँग छलफलसमेत भइसकेको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

डीपीआरअनुसार नयाँ बन्ने सरुवा रोग अस्पतालमा २ सय बेडको क्वारेन्टाइन र १ सय बेडको आइसोलेसन वार्ड हुनेछ । अस्पताल निर्माणका लागि १ अर्ब ३४ करोड रुपैयाँ लाग्ने अनुमान छ । ‘बेलाबेलामा सरुवा रोगको संक्रमण फैलिइरहेको छ । यतिबेला कोरोना भाइरसले आतंक मच्याइरहेको छ,’ प्रदेश स्वास्थ्य निर्देशक डा. शर्माले भने, ‘यस्तै बेलामा दुरदर्शी योजना बनाउने र भोलि फैलिने यस्ता सरुवा रोगको संक्रमण बच्ने र उपचारको प्रबन्ध मिलाउनुपर्छ भनेर सरकारले प्रस्ताव अगाडि ल्याएको हो ।’

अस्पताल निर्माणका निम्ति प्रदेश सरकारको मन्त्रिपरिषदले निर्णय गरेर जग्गाको पहिचान र अन्य प्रक्रिया अगाडि बढाउने सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ । प्रदेश सरकारको नेतृत्वमा संघीय सरकारकोसमेत आर्थिक सहयोग हुन सक्यो भने एक वर्षभित्रै पनि द्रूत गतिमा अस्पताल निर्माण गर्न सकिने प्रस्ताव गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment