
बलिउडमा अहिले रिमेकको लहर नै चलेको छ । धेरै चलचित्रहरु रिमेक भएर तयार भइरहेका छन् । अन्य भाषामा निर्माण भएको राम्रो चलचित्रलाई हिन्दी भाषामा रिमेक गर्ने चलन बढिरहेको छ ।
यस्तैमा, दक्षिण भारतिय चलचित्र ‘थडम’को हिन्दी रिमेक बन्ने भएको छ । यस चलचित्रलाई भुषण कुमार र मुराद खेतनीले निर्माण गर्न लागेका हुन् । चलचित्रलाई वरदान केटकरले निर्देशन गर्नेछन् ।
यस चलचित्रको लागि निर्माण पक्षले सिद्धार्थ मल्होत्रालाई मुख्य भूमिकामा अनुबन्धित गरेको छ । सिद्धार्थ र निर्माण पक्ष बीच लिखित सम्झौता पनि भइसकेको छ । सिद्धार्थले इन्स्टामा फोटो पोष्ट गर्दै आफू यस चलचित्रलाई लिएर निकै उत्साहित रहेको लेखेका छन् ।
चलचित्रमा सिद्धर्थले डबल रोल निर्वाह गर्नेछन् । तामिलमा अर्जुन विजयले गरेको भूमिकामा सिद्धार्थलाई देखिने छ । चलचित्रका लागि अन्य कलाकार भने पक्का भएका छैनन् ।
एक्सन थ्रिलर जनरामा निर्माण हुने चलचित्रको छायांकन मेबाट सुरु हुने बताइएको छ । चलचित्रले २०२० को नोभेम्बर २० लाई रिलिज लक्ष्य बनाएको छ ।
प्रतिक्रिया 4