Comments Add Comment

एउटा ‘स्टार’को शरणार्थी शिविरमा कारुणिक जीवन

१८ वर्षसम्म चलचित्रमा स्थापित हुन संघर्ष गर्दाका दिनहरुमा तालिबसाह होशिनीलाई कहिलै लागेको थिएन, कुनै दिन शरणार्थी शिविरमा कहालीलाग्दो संघर्षको कथा कोरिने छ भन्ने । फिल्मी रसरंगको त्यो जीवन बिताएका होशिनीको लागि एउटा नारकीय दु:खको रिहर्सल हुँदैछ ग्रिसको लेसबोस टापुमा । लामै समय चलचित्रमा विभिन्न रोलमा रहेपनि उनलाई यो चलचित्र होइन भन्ने थाहा छ । तर, दु:ख कुनै चलचित्रको भन्दा कम छैन ।

सायदै अहिले यही अवस्था आउनु थियो होला । त्यसैले त अफगानिस्तानमा फिल्म खेल्दा पनि सिनेमामा उनलाई कहिलै सहज भूमिका दिइएन । त्यसैको वास्तविक भोगाईले कहिलेकाहीँ फिल्मी जीवनलाई सम्झिएर भक्कानो फुट्छ होशिनीको ।

अफगानिस्तानको फरयाब प्रान्तका थिएटरहरु यतिबेला होशिनीको अभाव महसुस गर्दैछन् । होशिनीलाई पनि त्यही थिएटरको अभाव छ । उमेरले ३५ वर्ष नाघिसक्यो । सरकारले तोकेको औषत् आयुको आधा उमेर त ढल्किइसकेको छ । तर, त्यतिबेलाका ती चर्चित अभिनेता अहिले काठ र फलामले बनाइएको शरणार्थी क्याम्पमा आफ्नो कहालीलाग्दो संघर्षलाई अघि बढाइरहेका छन् । परिवारलाई सुरक्षित राख्ने प्रयासमा आफ्नो पसिना बगाइरहेका छन् ।

‘मैले सिनेमा क्षेत्रमा प्रवेश गरेयता १८ वर्षसम्म धेरै कठिन ‘रोल’ निभाएँ । तर, अहिलेको वास्तविक जीवनको ‘रोल’ मेरालागि सबैभन्दा कठिन छन्,’ उनी भन्छन् ।

होशिनीको थिएटरले आफ्नो ध्यान कट्टरपन्थी तालिवानको गतिविधिमा केन्द्रित गर्‍यो । त्यससँगै उनलाई तालिवानको धम्की आउन थाल्यो । त्यसपछि उनले आफ्नो करियर र मुलुक छाडेर परिवारसँग पलायनवादी सोच बनाए । यात्रा आरम्भ भयो । अफगानिस्तान छाड्ने यात्रासँगै उनको संघर्षमयी यात्राको उपोद्घात भयो । अफगानिस्तानबाट भागेर इरान पुगेका उनको परिवार टर्की हुँदैे ग्रीस पुग्यो । ग्रिस पुगेपछि उनी आधिकारिक मोरिया क्याम्पनजिकै ओलिभ ग्रोभमा बस्न थाले । ग्रोभ शहर यतिबेला आफैंमा पनि टेन्टको सहरको रुपमा विकसित भइरहेको छ ।

दैनिकी नै संघर्षमयी

होशिनी र उनकी पत्नी यासामिनलाई सूर्योदयसम्म ओछ्यानमा बस्ने छुट छैन आजभोलि । उनीहरु उज्यालो हुनुभन्दा पहिला नै उठ्छन् । मोरिया क्याम्पमा जान्छन् र खानाको लागि ३ घण्टा लाइन बस्छन् । उनीहरुले पाउने खाना पाँच जनाको परिवारलाई पर्याप्त हुँदैन । त्यसैले उनीहरु आफ्नै चुलोमा दाउरा राखेर बाँकी खाना बनाउँछन् ।

त्यही क्याम्पमा लुटिने डर पनि उत्तिकै छ । त्यसैले उनीहरु अधिकांश समय आफ्नो शिविरमा बिताउँछन् । ‘हामीहरु यहाँ यस्ता धेरै कुरा देख्छौं, जुन नभन्नु नै राम्रो हुन्छ । म आफैं पनि राति कोही मेरो टेन्टमा आएर मलाई र मेरी पत्नीलाई केही गर्ला कि भन्ने चिन्ताले रातभर निदाउन सक्दिनँ’, होशिनीले भने ‘म कसैलाई पनि विश्वास गर्दिनँ, यहाँसम्मकी आफ्नो छिमेकीलाई समेत । किनकी उनीहरु सधैं परिवर्तन भइरहेका हुन्छन् ।’

होशिनी दम्पत्तिका ३ छोरीहरु छन् । उनीहरु आफ्ना छोरीहरुलाई कहिल्यै पनि एक्लै शिविरमा छाड्दैनन् । उनीहरुलाई एक्लै भएको समयमा उनीहरुमाथि दुव्र्यवहार वा अपहरण हुनसक्छ भन्ने डर उनीमाथि छ । उनीहरुका छोरीहरु ९, ६ र ३ वर्षका छन् ।

होशिनीका अनुसार अहिले उनका छोरीहरु डिप्रेशनको शिकार भएका छन् । ‘उनीहरुको व्यवहार बदलिएको छ । भावनाहरु परिवर्तन भएका छन् र उनीहरुको सोचाईमा समेत आकाश जमिनको भिन्नता छाएको छ ।’ उनले भने ।

पछिल्लो साढे एक वर्षदेखि शरणार्थीको सूचीमा उनीहरुको नाम छैन । उनले दिएको आवेदन स्वीकृत नभए के हुन्छ ? भन्ने प्रश्नमा उनका आँखा आँसुले भरिए । आँसु झार्दै उनी भन्छन्, ‘यस्तै हुन्छ भन्नु कठिन छ, निकै नै कठिन छ । किनकी हाम्रो आवेदन स्वीकृत भएन र हामी अफगानिस्तान फर्किनुपर्‍यो भने त्यहाँ गएर के गर्ने ? हामी फर्कियौं भने मेरा बच्चाहरुको भविष्य बर्बाद हुन्छ ।’

उनीहरुले ग्रीसमा शरणार्थीको लागि आवेदन दिएका छन् । उनीहरु यसरी आवेदन दिएका दशौं हजारमध्येका एक हुन् । मोरिया क्याम्पमा अहिले १९ हजारभन्दा धेरै शरणार्थी बस्दै आएका छन् । यो क्याम्प ३ हजार शरणार्थीका लागि निर्माण गरिएको हो ।

त्यहाँ आत्महत्याको प्रयास, लडाइँ झगडा र आफैंलाई चोट पुर्‍याउने उल्लेख्य गतिविधि हुन्छन् । आक्रमण र दुर्घटनामा परी मर्नेको संख्या पनि कम छैन । क्याम्प फोहोरले भरिएको छ भने अस्थायी शौचालय पनि दयनीय अवस्थामा छ ।

‘अब गर्न सक्ने केही कुरा छैन’, होशिनीले भने । उनले आफूलाई स्वस्थ राख्न कोङ फुको अभ्यास गर्छन् । उनलाई लेसबोस छाडेपछि आफू पुन: अभिनयमा फर्केर काम गर्न सक्छु भन्ने आशा अझै बाँकी छ ।

उनकी पत्नी भने सामान्य जीवन बिताउन चाहन्छिन् । उनलाई सबैभन्दा ठूलो चाहना के हो भनेर सोधिएको प्रश्न उनले भनिन्, ‘शान्ति, एउटा शान्त क्षेत्र, जहाँ हामी मानवता पनि भेट्टाउन सकौं । हामीलाई अहिले कुनै शान्ति छैन । न त दिनमा न त रातमा । मात्र यति’

रोयटर्सबाट साभार 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment