Comments Add Comment

‘भुतले खाजा खाने’बेलामा सांसदको टोली खाडीतिर

ओमान । विदेश घुम्न पाएपछि साइत, कुसाइत नहेर्ने नेपालका नेता एवं सरकारी अधिकारीहरुको पुरानै चलन हो । कोरोनाको त्रासका सरकारले विदेश आवत-जावत नगर्न भने पनि प्रतिनिधिसभा सदस्यहरुको एउटा जम्बो टोली खाडी मुलुकको १० दिने भ्रमणमा निस्किएको छ ।

कोरोनाको सन्त्रासका कारण हिँडडुल स्थगन गर्नुपर्ने साइत पारेर घरेलु कामदारको अवस्थाबारे बुझ्न भन्दै प्रतिनिधिसभा अन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका पदाधिकारी एवं राष्ट्रिय मानव अधिकार आयोगका अधिकारी सम्मिलित १० जनाको टोली सरकारी बजेटमा अरबतिर निस्किएको हो ।

नेपाली टोलीले घरेलु कामदारका रूपमा खाडी मुलुक ओमान, साउदी अरब र यूएईमा कार्यरत घरेलु कामदारहरूको अवस्थाबारे स्थलगत अवलोकन गर्ने बताइएको छ । यो टोलीले फागुन १७ देखि २८ गतेसम्म विभिन्न देशको भ्रमण गर्नेछ ।

टोलीले फागुन १७, १८ र १९ गते तीन दिन सानो मुलुक ओमानमा बिताएको छ । ओमानमा रहँदा टोलीले ओमानको शुरा काउन्सिल (प्रतिनिधिसभा) का अध्यक्ष खालिद विन हिलाल अल मावली र स्टेट काउन्सिल (राष्ट्रियसभा) का अध्यक्ष माननीय याहृया विन महफौद अल मन्थरीसँग बेग्ला-बेग्लै द्वीपक्षीय भेटघाट गरेको मस्कटस्थित नेपाली दूताबासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

भ्रमण टोलीमा प्रतिनिधिसभा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तव र सदस्यहरु सांसद भीमसेनदास प्रधान, गोपालबहादुर बम, दूर्गाकुमारी विश्वकर्मा, प्रमोद साह, सूर्यनारायण यादव छन् । संसद सचिवालयका कर्मचारीहरु उपसचिवद्वय शिवदत्त बराल र केशवराज सुवेदी पनि भ्रमण टोलीमा छन् ।

त्यसैगरी राष्ट्रिय मानवअधिकार आयोगका सदस्य सुदिप पाठक र शाखा अधिकृत रविलाल नेपाली पनि सांसदहरुसँग मिसिएर अरबतिर निस्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment