Comments Add Comment

भारतीय राजदूतले भेटे ऊर्जामन्त्री, विद्युत् ब्यापारबारे छलफल

२३ फागुन, काठमाडौं ।छिमेकी भारतले केपी शर्मा ओली नेतृत्वमा नेकपाको सरकार बनेपछि द्विपक्षीय साझेदारीमा सबैभन्दा उल्लेख्य काम उर्जा क्षेत्रमा भएको बताएको छ ।

नेपालका लागि नवनियुक्त भारतीय राजदूत विनयमोहन क्वात्राले ऊजा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तलाई शुक्रबार भेटेर वर्तमान सरकार गठन भएपछि ऊर्जा क्षेत्रमा राम्रो काम भएको भारतीय निष्कर्ष सुनाए ।

त्यसको वातावरण निर्माणमा सक्रिय र नेतृत्वदायी भूमिका निर्वाह गरेकोमा राजदूत क्वात्राले मन्त्री पुनको प्रशंसा गरे ।

विशेष गरी लामो समय अलपत्र अवस्थामा रहेको अरुण तेश्रो जलविद्यु्त आयोजना निर्माणको कामले गति लिएकामा राजदूत क्वात्राले खुसी व्यक्त गरे ।

अरुण तेश्रोको ३० प्रतिशत काम सम्पन्न भइसकेको चर्चा गर्दै उनले निर्धारित समयमै आयोजनाको काम सम्पन्न हुने विश्वास व्यक्त गरे । राजदूत क्वात्राले पहुँच मार्गको स्तरोन्नती, विस्फोटक पदार्थ आयात र सुरक्षामा ख्याल गरिदिन आग्रह गरे ।

यस्तै बुटवल-गोरखपुर प्रसारण लाइन निर्माणका लागि भएको सहकार्यको सहमतिले उक्त काम सफलतापूर्वक सम्पन्न हुने आशा जागेको राजदूत क्वात्राको भनाइ थियो । उक्त प्रसारण लाइन निर्माणका लागि नेपाल-भारत संयुक्त कम्पनी नै निर्माण भइसकेको छ ।

मन्त्री पुन मन्त्रालयको नेतृत्वमा आएपछि नेपाल-भारतबीच इनर्जी बैंकिङको सैद्धान्तिक सहमतिमा हस्ताक्षर भएको छ । यस्तै भारतले छिमेकी मुलुकसँग विद्युत आयात निर्यातका लागि ल्याएको निर्देशिका परिमार्जन भयो ।

जसले दुई देशबीच इनर्जी बैंकिङका साथै अन्तरदेशीय विद्युत व्यापारका लागि बाटो खुलेको थियो । सोही आधारमा नेपालले बंगलादेशँग विद्युत व्यापारको सम्झौता गरेको छ ।

यस्तै सोही अवधिमा नेपाल-भारतबीच विद्युत आदान प्रदानका लागि निर्माण हुने बुटवल-गोरखपुर दोश्रो अन्तरदेशीय प्रसारण लाइनको लगानी तथा कार्यान्वयनको प्रारुपमा सहमति भएको छ ।

भेटमा मन्त्री पुनले नेपालले जलविद्युतको सीमापार व्यापारलाई उच्च प्राथमिकतामा राखेको चर्चा गर्दै त्यसको सहजीकरणका लागि भारतीय पक्षबाट गरिएका प्रतिबद्धताको प्रशंसा गरे ।

मन्त्री पुनले भारतीय लगानीमा निर्माण भइरहेका अरुण तेश्रो जलविद्युत आयोजना र बुटवल-गोरखपुर ४ सय केभी प्रसारण लाइन नेपालको प्राथमिकतामा रहेको उल्लेख गरे ।

भारतीय सरकारले पश्चिम राप्ती, बाणगंगा र खाँडो नदी नियन्त्रणमा सहयोग गरेकामा उनले धन्यवाद दिए ।

यसअघि समेत काठमाण्डौंस्थित सार्क सचिवालयमा रहेर लामो समय काम गरिसकेको र नेपाली समाज बुझेका कारण राजदूत क्वात्राको कार्यकालमा नेपाल-भारत सम्बन्ध थप उचाइमा पुग्ने विश्वास मन्त्री पुनले व्यक्त गरे ।

क्वात्रासँग ३० वर्ष भारतीय विदेश सेवामा काम गरेको अनुभव छ । गत पुस २८ मा  राजदूत नियुक्त भएका क्वात्राले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका थिए ।

१९८८ मा सेवा प्रवेश गरेका क्वात्राले सन् २००६ देखि २०१० सम्म काठमाडौंस्थित दक्षिण एसियाली सहयोग संगठन (सार्क) सचिवालयको व्यापार, अर्थ तथा वित्त व्युरो प्रमुखका रुपमा काम गरेका थिए । क्वात्राले विजनेस एडमिनिस्ट्रेनसमा स्नातकोत्तर र अर्थशास्त्रमा एम फिल गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment