
मलाई अचेल मास्क भन्छन् । तर, तिनीहरुलाई थाहा नहोला, मेरो पुरानो नेपाली नाम मुखावरण हो । अहो ! अचेल मेरो भाउ कम्ता बढेको छैन ! समाचारभरि मेरै चर्चा छ । एक जमाना गोलभेडाले लिएको मार्केट पछि प्याजले लियो । अहिले मेरो पालो छ ।
अचेल त म सुनभन्दा मूल्यवान छु जस्तो लाग्छ । सुन नलगाए केही हुन्न, तर मबिना मान्छेलाई गाह्रो छ हजुर । चीनमा कोरोना भाइरसको माहामारी हुँदा मेरा एक लाख साथीहरु त प्लेन चढेर जान पनि पाए ।
अहिले कोरोनाले संसारभरि पीडा दिँदैछ । नेपाली दाजुभाइ दिदीबहिनीको मुहारमा पनि दुःख र त्रास देख्छु । यो देख्दा म पनि उत्तिकै दुःखी हुन्छु । कोरोनाले ८० देशमा संक्रमण गरिसक्यो भन्छन्, ३२ सय भन्दा धेरै मान्छे मरिसके अरे । अहो ! कस्तो दुखद खबर ?
हिजो मेरो मितज्यू ट्वाइलेट पेपर मलाई भेट्न आउनुभएको थियो । मितज्यू, तपाईं त कति राम्रो–राम्रो मान्छेको मुखमा, नाकमा बस्न पाउनु हुन्छ रे भन्नुहुन्थ्यो ।
विचरा, ट्वाइलेट पेपरको पीडा म बुझ्छु । तर, उहाँलाई के थाहा मेरो दर्द ? मान्छेको मुख, नाकमा बसे पनि सिगान र र्यालले फोहोरी बनेर अन्तिममा दुर्गन्धित ठाउँमा जीवन सक्नुपर्छ मैले । अझ लिपिस्टिक वाला र दारुवालाको मुखमा बसेर भाइरसको सुरक्षा गर्न कति गाह्रो छ, भनीसाध्यै छैन ।

हिजो त केही कालाबजारियाले मलाई बोरामा कोचेर शान्तिसँग बस्न पनि दिएनन् । म त अहिले तिनीहरुको कमाइखाने भाँडो भएको छु । पहिले मेरो भाउ ५ रुपैयाँ थियो, अहिले ५० रुपैयाँ पुर्याएका छन् बिचौलिया र कालाबजारियाले ।
पसलको र्याकमा सजिने मलाई अचेल कुना कन्तरामा लुकाउँछन् ।
मान्छेहरु पनि हल्लाकै भरमा मलाई नै खोज्छन् । अरु सामान्य मास्कको त विश्वासै गर्दैनन् । रुघाखोकी लाग्दा, भीडभाडमा जाँदा, कोरोनाको शंका लागेमा म छँदैछु । सफा, शान्त, स्वच्छ ठाउँमा म नै किन चाहियो बुझ्न सकेको छैन ।
सुन्दै छु, हाम्रो उत्पादन भन्दा खपत धेरै भएर अब बजारमा पाइनै छाड्यो रे ।
मलाई त स्वास्थ्यकर्मीहरुको पो माया लाग्छ । कोही बिरामी पर्यो भने आफ्नो दिलो ज्यान दिएर बिरामीको सेवा गर्ने स्वास्थ्यकर्मीले चाहिएको बेला मलाई लाउन पाओस् । भीडभाडमा काम गर्ने कर्मचारीले पनि पाउन् । जनताले सस्तो सुलभ मूल्यमा मलाई प्रयोग गर्न सकुन् ।
कोरोनादेखि नडराउनुस् । सचेत हुनुस् । सरसफाइ नियमित गर्नुस् । आवश्यक नपरी भीडमा नजानुस् । म अनपढले यो भन्दा धेरै त के भन्न सक्छु र ?
सरकारले स्कुलका नानीबाबुलाई बिदा दिए हुन्थ्यो जस्तो लाग्छ । तर, हामीले भनेको कसले सुन्ला र खै ? स्वास्थ्यकर्मीलाई विशेष तालिम, सुरक्षित उपकरण र प्रोत्साहन भत्तासहित काममा लगाए हुन्थ्यो ।
कसैलाई त्रास फैलाउने समाचार लेखेर भाइरल हुन हतार छ, कसैलाई औषधी, रासन पानी लुकाएर धनी बन्न हतार छ । सांसदलाई संसद बन्द गरौं भन्न हतार छ । बरु सरकारले कोरोनाको महामारी भयो भने कसरी जनाताको रक्षा गर्ने भन्ने योजना चाँडै बनाओस् ।
मेरो त आयु कति न होला र ? कुन ग्राहकले मलाई किन्छ, त्यो पनि महँगोमा । व्यापारी मोटाउने हो । मेरो मिल्ने साथीले हिजो कल गरेर भन्दै थियो, ’मेरो साउजी त सोझो छ, सस्तोमै बेच्यो । तिम्रो साहुजीजस्तो कालो मनको छैन ।’
सबै व्यापारी उसकै साहुजीजस्तो भए किन रुनुपथ्र्यो र जनताले ?
जेहोस, मेरो देशमा कोरोनाको माहामारी नछिरोस् । म र मेरा साथीहरु हजुरहरुलाई बचाउने सक्दो कोशिस गर्नेछौं । बरु सरकारलाई विशेष सतर्कता अपनाउन अनुरोध छ । जनता सबै सतर्क रहनुहोला । तपाईंहरु धेरै जिउनुहोला । सबैलाई शुभ कामना छ ।
मेरो त दुईदिने चोला, भोलि के होला ? रक्सी, चुरोट नखाने मान्छेको मुख र नाकमा सजिएर मर्न सकुँ, यही छ अन्तिम चाहना ।
प्रतिक्रिया 4