Comments Add Comment

काठमाडौं महानगरले कोरोना सम्बन्धी सचेतना अभियान चलाउने

२३ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) सम्बन्धी सचेतना अभियान सञ्चालन गर्ने भएको छ । काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले ३२ वटै वडामा जनचेतना मुलुक कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए ।

शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित कोरोना र डेंगे रोगको महामारी सम्बन्धी छलफललाई सम्वोधन गर्दै मेयर शाक्यले अभियानकै रुपमा सचेतना कार्यक्रम अघि बढाइने बताएका हुन् ।

‘कोरोना रोगको महामारीबाट डराउने भन्दा पनि त्यसको व्यवस्थापन कसरी गर्ने भन्नेतिर बढी ध्यान दिन आवश्यक छ,’ उनले भने, ‘सामाजिक सञ्जाल र केही मिडियामा आएका अनावश्यक हल्लाले बढी संन्त्रास फैलिएको छ । सहि सूचना प्रवाह हुन नसक्दा आम नगरिकमा डर पैदा भएको छ ।’

मेयर शाक्यले सबै मिलेर यस्ता महामारीबाट कसरी बच्ने र व्यवस्थापन गर्ने भन्नेमा लाग्नु पर्ने बताए । ‘बनको बाघ होइन अहिले कागजको बाघले खाला भन्ने डरले बढी समस्या भएको छ, कोरोनाकै संन्त्रास बढाएर अहिले कालोबजारी समेत बढ्न थालेको छ’ मेयर शाक्यले भने ।

बजारमा देखिएका कालोबजारी नियन्त्रण गर्न महानगरले समेत भूमिका खेल्ने उनले बताए । मेयर शाक्यले ३२ वटै वडाका जनप्रतिनिधि र स्वयसेविकालाई घर–घरमा पुगेर जनचेतनामुलुक कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएको भन्दै सबै नागरिकलाई डरले होइन आरामले बस्न र त्यस्ता महामारीबाट बच्ने उपायबारे जानकार रहनु आग्रह गरे ।

काठमाडौँ महानगरपालिका सहरी स्वास्थ्य महाशाखाले यस्तो जनचेतना मुलुक कार्यक्रमको थालनी वडा १५ बाट सुरुवात गरिसकेको जानकारी दिएको छ ।

काठमाडौँ महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले पनि सहरी स्वास्थ्य क्लीनिकले दिने सेवालाई थप विस्तार गर्दै थप सेवा दिने कुरामा महानगरपालिका लागि पर्ने बताए ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले सरकारले उच्च सतर्कता देखाएको भन्दै अहिले नै आत्तिहाल्नु पर्ने अवस्था नरहेको बताए ।

‘तर, केही छैन भनेर ढुक्क बस्ने होइन, सकेसम्म त्यो महामारीलाई आउनै नदिने गरी आम नागरिकले सतर्कता अपनाउन आवश्यक छ,’ उनले भने, ‘हामीले पहिला पनि नाकावन्दी भोगेका छौँ । अब कोरोनाका कारण नाकाबन्दी भयो भने हामी जस्तो परनिर्भर मुलुकका लागि त्यो भयावह हुनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment