Comments Add Comment
साहित्यका कुरा :

संस्कृति बुझ्न खोज्दा साहित्यमा रुचि बढ्यो

मैले विद्यालय जीवन चितवनमा बिताएको हुँ । त्यतिबेला कोर्सबाहिरका किताबको अभाव हुन्थ्यो । कोर्सबाहिरको कुरा पनि पढ्नुपर्छ भनेर धारणा आइसकेको थिएन । मेरो घरमा आमाले रामायण, महाभारतदेखि, मुनामदनजस्ता कृति पढ्नुहुन्थ्यो । बुवाको रुचि इतिहास र संस्कृतिमा बढी थियो ।

त्यतिबेला साहित्यमा मेरो साँच्चै रुचि थियो भन्ने आधार मसँग छैन । तर पनि म साहित्यसँग टाढा हुन सकिनँ । इतिहासका किताब हुन्थे घरमा, त्यो पनि मैले चाख दिएरै पढेँ । बुबाले ल्याउने ‘धर्मयुग’, ‘दिनमान’ जस्ता पत्रिकामा पनि साहित्य थियो । त्यो पनि म पढ्थेँ ।

अहिले आएर म के भन्न सक्छु भने त्यसबेलाका अधिकांश विद्यार्थीभन्दा मेरो बुझ्नसक्ने क्षमता बढी थियो । बाहिरी अध्ययनको बलले त्यसो भएको होला ।

पछि म बीए पढ्न इण्डिया गएँ । दिल्लीमा गएपछि मलाई सबै कुरा पढ्नुपर्छ भन्ने लाग्यो । भारतीय संस्कृति र समाज बुझ्नुपर्छ भन्ने लाग्यो । त्यही क्रममा हिन्दी साहित्य पढ्न थालेँ । साहित्यबाट समाज र संस्कृतिको भित्री कुरा बुझ्न खोज्दा थाहै नपाई निकै धेरै हिन्दी साहित्य पढिएछ । तर, साहित्यमा रुचि भएर पढेँ वा हिन्दी साहित्यबारे आधारभूत जानकारी लिनैपर्छ भनेर पढ्न थालेँ, म भन्न सक्दिनँ ।

पछि पत्रकारिताका लागि लण्डन गएँ । त्यहाँ अंग्रेजी भाषाको जग बनाउन अंग्रेजी साहित्य पढ्न थालेँ ।

पत्रकारिताका क्रममा हिन्दी साहित्यकारहरूसँग भेट भयो । कतिपय अवस्थामा उनीहरूसँग एउटै मञ्च पनि बाँड्न पाइयो । त्यस क्रममा साहित्यकारहरूले आफ्नो अभिव्यक्त गर्ने शैली मलाई मन पथ्र्यो । ०५६ सालमा कान्तिपुरसँग जोडिएपछि कोसेलीमा केही नयाँ गर्न सकिन्छ कि भनेर छलफल भयो । त्यही क्रममा नेपाली साहित्यकारहरूले पनि कान्तिपुरमा रचनाहरु छाप्न थाले । साहित्यकारहरू आफैं सक्रिय भएर पत्रिकासँग जोडिन थाले । खगेन्द्र सङ्ग्रौलालगायतका नेपाली साहित्यकारसँग पनि संगत गर्न पाएँ ।

अहिले मलाई मनपर्ने लेखकको नाम झट्ट सम्झिँदा अमेरिकन लेखक आर्भिङ स्टोन मन पर्छ । उनको माइकल एन्जेलोको जीवनमाथि लखेको किताब ‘डेप्थ अफ ग्लोरी’ मन पर्छ । उनैले डार्बिनबारे लेखेको किताब पनि याद आइरन्छ ।

‘क्लाइन्डेस्टाइन इन चिली’ भन्ने किताब पनि पटक–पटक सम्झनामा आइरहन्छ । यो पुस्तकले चिलीको राजनीतिक घटनाक्रम बताउँछ ।

हिन्दीमा दुष्यन्तकुमारदेखि प्रेमचन्दका किताब मन पर्छन् ।

नेपाली साहित्यमा चाहिँ लक्ष्मीप्रसाद देवकोटाका सबै कृति मन पर्छन् । उनले साहित्यमा मानवतालाई केन्द्रमा राखे । माधवप्रसाद घिमिरेका गीत, कविता र गीतिनाटक पनि उत्तिकै मन पर्छ । बालकृष्ण समका नाटक र क्षेत्रप्रताप अधिकारीको कविता मन पर्छ ।

‘नाथुराम गोडसेले रामकै नाम लिएर गान्धीलाई मारे, गान्धी गोली खाएर ढल्दा पनि रामकै नाम लिएर मरे ।’ एकजना भारतीय लेखकले भनेको यो भनाइ म आज सम्झिरहन्छु । त्यो दुईटा ‘राम’ले फरक–फरक मान्यतालाई प्रतिनिधित्व गर्छन् भन्ने सन्दर्भमा उनले त्यसो भने होलान्जस्तो लाग्छ ।

नाथुराम गोडसेकै किताब पनि मसँग छ । म जीवनी र आत्मसंस्मरण पढ्न बढी मन पराउँछु । यसबाट म उक्त मानिसको जीवन र उसको देश, परिवेश र अन्तरराष्ट्रिय घटनाक्रम थाहा पाउँछु ।

नेपालको सन्दर्भमा प्रथम राष्ट्रपति रामवरण यादवको ‘टाकुरामा एक्लो मान्छे’ भन्ने किताब आयो । सेनापति छत्रमानसिंह गुरुङ, विवेकप्रताप शाह, सुन्तरप्रताप राना, प्रधानन्यायाधीश सुशीला कार्की, उद्योगी विनोद चौधरीको आत्म संस्मराणात्मक पुस्तक आए । तर, नेपालमा सत्यको जगमा टेकर आत्म संस्मरण लेखिएका छैनन् ।

यदि उनीहरू सबैले असल काम गरेका भए, आ–आफ्नो ठाउँमा सही भएको भए हाम्रो आजको अवस्था यति खराब हुँदनथ्यो होला नि । यो मुलुकमा यति धेरै हिरोहरू एकै समयमा जन्मेका रहेछन् नि त । तर, प्रभाव खै ?

भारतीय सम्पादक विनोद मेहताले पनि संस्मरण लेखेका छन् । त्यो पढेपछि मलाई संस्मरणचाहिँ सत्यको जगमै टेकेर लख्नुपर्ने रहेछ भन्ने बोध भयो ।

केही वर्षदेखि म ‘शुन्य समय’ नामक स्तम्भ लेखिरहेको छु । यो लेख्दा पनि मैले पढेका साहित्य र असल पुस्तकले जग दिएको छ ।

आज किताबमा करको कुरा उठिरहेको छ । मसँग विश्वका महंगा र प्रसिद्ध किताब छन् घरमा । त्यसैले सरकारले मलाई पनि किन कर तिरिनस् भन्न सक्ला । दिल्ली र लण्डन बस्दा सस्तोमा किनेका ती किताबले मलाई अमूल्य ज्ञान दिएको छ । आत्मविश्वास दिएको छ ।

( वरिष्ठ पत्रकार घिमिरेसँग अनलाइनखबरकर्मी निर्भिकजंग रायमाझीले गरेको कुराकानीमा आधारित ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment