Comments Add Comment

उत्तरी इटालीका १ करोड ६० लाख मानिस क्वारेन्टाइनमा

२५ फागुन, काठमाडौं । इटालीका प्रधानमन्त्री गिउसेपे कोन्टेले मुलुकको लोम्बार्डी क्षेत्र र अन्य १४ प्रान्तमा कम्तीमा १ करोड ६० लाख मानिसलाई क्वारेन्टाइनमा राखिएको बताएका छन् ।

कोरोना भाइरस कोभिड–१९को महामारी फैलिएसँगै इटालीले उनीहरुलाई क्वारेन्टाइनमा राख्ने निर्णय गरेको हो । उनीहरुलाई अप्रिलसम्म क्वारेन्टाइनमा राखिने छ ।

कोरोना भाइरसको महामारी रोक्न इटालीले जिमखाना, स्वीङ पुल, म्युजियम र स्काई रिसोर्टहरु बन्द गर्ने निर्णय गरेको छ । इटालीमा युरोपमा कोरोना भाइरस सबैभन्दा बढी फैलिएको मुलुक हो । उल्लेख्य संख्यामा यो भाइरसबाट संक्रमितको संख्या बढ्दो क्रममा छ ।

अहिले घोषणा गरिएअनुसा क्वारेन्टाइन अप्रिल ३ सम्म जारी रहने छ ।

इटालीमा कोरोना भाइरसबाट मर्नेको संख्या २३३ पुगिसकेको छ । पछिल्लो २४ घण्टामा मात्र इटालीमा ५० जनाभन्दा बढीको ज्यान गएको थियो । यो भाइरसबाट संक्रमितको संख्या पनि ५८०० नाघिसकेको छ ।

इटालीको लोम्बार्डीको पुरै उत्तरी क्षेत्र र इटालीको वित्तीय केन्द्र मानिएको मिलानमा आपतकालीन सेवा बाहेक सबै पहुँच बन्द गरिएको छ । त्यहाँ मात्र एक करोड मानिसको बसोवास छ । त्यसका साथै भेनिस, पर्मा र मोडेनामा पनि यसमा समावेश गरिएको छ । जसको कारण यसबाट समग्रमा १ करोड ६० लाख मानिस प्रभावित हुनेछन् । अहिलेसम्म उत्तरी इटालीमा ५० हजार मानिस क्वारेन्टाइनबाट प्रभावित बनेका छन् ।

यो व्यवस्था लागु भएसँगै इटालीमा रेस्टुरेन्ट र क्याफे पनि खुला त रहनेछन् तर ग्राहकहरु कम्तीमा एक मिटरको दूरीमा बस्नुपर्नेछ । सरकारले मानिसहरुलाई आफ्नै घरमा मात्र बस्न सुझाएको छ ।

क्वारेन्टाइनलाई नमान्ने मानिसलाई कम्तीमा ३ महिनाको जेल सजायको व्यवस्था गरिएको छ ।

विश्व स्वास्थ्य संगठनले पनि कोरोना भाइरसलाई नियन्त्रण गर्न इटालीलाई आफ्नो पूरा ध्यान यसमा केन्द्रित गर्न सुझाव दिएको छ ।

अहिलेसम्म विश्वभर कोरोना भाइरसबाट संक्रमितको संख्या १ लाख कटिसकेको छभने ३६०० बढीले ज्यान गुमाएका छन् । भाइरसको कारण अधिकांश मानिसको ज्यान चीनमा गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment