Comments Add Comment

१० महिनालाई पुग्ने नुन स्टक छ : साल्ट ट्रेडिङ

२५ फागुन, काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले करिब १० महिनासम्म देशको माग धान्न सक्ने गरी नुन लगायतका अत्यावश्यकीय वस्तुको भण्डारण रहेको जनाएको छ । कोरोना भाइरसको त्राससँगै उपभोग्य वस्तुको अभाव हुन सक्ने चिन्ता बढिरहेका बेला साल्ट ट्रेडिङले विज्ञप्तिमार्फत उपभोक्तालाई निश्चिन्त रहन आग्रह गरेको हो ।

बजारमा नुन, चिनीलगायत दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव सिर्जना गरेर कालोबजारी हुन थालेको विषयमा ध्यानाकर्षण भएको कर्पोरेसनकी सीईओ उर्मिला श्रेष्ठले बताइन् । उनका अनुसार कर्पोरेशनसँग एक लाख ५८ हजार ५ सय मेट्रिक टन नुन मौज्दात छ ।

‘नेपालको १० महिनाको माग धान्ने नुन कर्पोरेशनसँग मौज्दात छ,’ उनले भनिन्, ‘अहिले नुनको कुनै अभाव छैन ।’

नेपाली बजारमा मासिक १६ हजार मेट्रिक टन नुन खपत हुँदै आएको छ । नुनको आयातमा कुनै व्यवधान नभएको पनि सिईओ श्रेष्ठले जानकारी दिएकी छिन् ।

यसैगरी कर्पोरेशनका विभागिय प्रबन्धक ब्रजेश कुमार झाले चिनीको पनि पर्याप्त मौज्दात रहेको जानकारी दिएका छन् । हाल २ हजार ५ सय मेट्रिक टन चिनी गोदाममा रहेको र ७ हजार ५ सय मेट्रिक टन चिनी आयातका क्रममा स्थलमार्गमा रहेको झाले बताए । कर्पोरेशन लगायतसँग करिब पाँच महिनालाई पुग्ने चिनी मौज्दात रहेको उनको भनाइ छ ।

चिनीको हाहाकार छ वा हुन्छ भनेर चिन्तित हुनुपर्ने अवस्था नरहेको स्पस्ट पार्दै झाले अनावश्यक भण्डारण नगर्न उपभोक्तालाई आग्रह गरे । कर्पोरेशनले नुन, चिनी, एल पी ग्यास, चामल, तेल, आटा, मैदा, दाल लगायतका उपभोग्य वस्तुको बिक्री वितरण गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment