Comments Add Comment

विद्यार्थी बढाउन अभिभावकलाई खेती गर्न जमिन

२६ फागुन, रामेछाप । विद्यालयमा विद्यार्थी नआउने, आएपनि बीचैमा विद्यालय छाड्ने समस्याको समाधान गर्न रामेछापको खाँडादेवी गाउँपालिकामा रहेको एक सामुदायिक विद्यालयले नयाँ विधिको प्रयोग सुरु गरेको छ ।

आदिवासी जनजाति माझी समुदायका विद्यार्थीहरुले पढ्ने सो विद्यालयमा विद्यार्थीको निरन्तरता र अभिभावकको संलग्नताको लागि विद्यालयले भाडामा जग्गा लिएर समुदाय र विद्यालयलाई जोड्ने काम गरेको छ ।

जखनीस्थान आधाभूत विद्यालयले यो नयाँ विधि प्रयोग गरेपछि विद्यालयमा विद्यार्थीहको संख्या बढेको छ । माझी समुदायको मात्र बसोबास रहेको सित्खाको माझी बस्तीबाट अहिलेसम्म एक जनाले पनि एसएलसी पास गरेका छैनन् । यसैलाई ध्यानमा राखेर विद्यालयमा विद्यार्थीको निरन्तरता र अभिभावकको विद्यालयसँगको आवद्धता जोड्नको लागि नयाँ प्रयोग सुरु गरिएको खाँडादेवी गाउँपालिका–३ का वडाध्यक्ष पुष्करकुमार कार्कीले बताए ।

कार्कीका अनुसार सो विद्यालय आसपासको २२ रोपनी भन्दाबढी जग्गा विद्यालयले भाडामा लिएको छ । वडा कार्यालयको आर्थिक सहयोगमा विद्यालयले सो जग्गा भाडामा लिएको हो । सो जग्गामा वडा कार्यालय कै सहयोगमा माछा पोखरी निर्माण गरिएको छ । साथै सो विद्यालयका अभिभावकले अन्य जग्गामा तरकारी, धान, गहुँ लगायतको खेती समेत लगाउन लागेका छन् ।

आर्थिक रुपमा विपन्न माझी समुदायका अभिभावकहरुले विद्यालयको जमिनमा खेती लगाए वापत केही अंश विद्यालयलाई दिन्छन् । त्यस्तै माछा पोखरीको उत्पादनको पनि ४० प्रतिशत विद्यालय र ६० प्रतिशत समुदायले लिने गर्दछन् । समुदायले विद्यालयलाई बुझाउने तरकारी, अन्न लगायतका उत्पादन सोही विद्यालयमा पढ्ने बालबालिकाहरुलाई खाना खुवाउन प्रयोग गरिने अध्यक्ष कार्कीले बताए ।

अहिले विद्यालयले विद्यार्थीहरुलाई बिहानको खाना र दिउँको खाजा विद्यालयमा नै व्यवस्था गरेको छ । यसले गर्दा विद्यार्थीहरु समयमा नै विद्यालय आउने र पूरा समय विद्यालय बसेर पठन पाठन गर्न लागेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण माझी बताउँछन् ।

यो कार्यक्रम सुरु भएसँगै ६० जनाभन्दा बढी विद्यार्थीहरु नियमित विद्यालय जाने गरेको स्थानीय अभिभावक धर्मबहादुर माझी बताउँछन् । कक्षा ५ सम्म अध्ययन हुने यस विद्यालयलाई कक्षा १० सम्म अपग्रेड गर्ने तयारीमा स्थानीय अभिभावकहरु लागेका छन् ।

खाँडादेवी गाउँपालिकाले एक विद्यालय एक उत्पादन कार्यक्रम सुरु गरेको र सोहीअनुसार सो विद्यालयले माछा तथा तरकारी र अन्य खेती सुरु गरेको गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तामाङ बताउँछन् ।

यस्तो खालको कार्यक्रमले विद्यालयको आम्दानीको श्रोत बढ्नुका साथै कृषि पेशाप्रति विद्यार्थीहरु समेत आकर्षित हुने विश्वास गाउँपालिकाले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment