Comments Add Comment

कोरोनाको प्रभावले नेपालसहित विश्वभरकै सेयर बजार ओरालो

२७ फागुन, काठमाडौं । मंगलबार नेपाली सेयर बजारमा ‘पहिरो’ नै खस्यो । बजार अत्यधिक घट्दा दैनिक ४ घण्टा हुने कारोबार आधा समय पनि हुन नपाउँदै रोकियो । मंगलबार सेयर बजारमा तेस्रो पटक नेगेटिभ सर्किट ब्रेक लागेको छ । कारोबार शुरु भएको एक घण्टा बित्न नपाउदै ४ प्रतिशतले ओरालो लागेर नेप्सेमा पहिलो पटक ११ बजेर ५९ मिनेटमा ब्रेक लागेको थियो ।

पहिलोपटक ब्रेक लागेर १२ः२० मा खुलेको कारोबार दोस्रो पटक १२ः३० मा ५.०२ प्रतिशतले बजार घटेर पुनः ब्रेक लाग्यो । ६ प्रतिशतले घटेपछि तेस्रो पटक ब्रेक लागेको छ । योसँगै नेपाल स्टक एक्सचेञ्जले आजका कारोबार पूर्ण रुपमा बन्द गरेको छ ।

शुक्रबार र शनिबार त नियमित बिदा नै भइहाल्यो आइतबार र सोमबार पनि सार्वजनिक बिदा भएका कारण ४ दिनपछि खुलेको बजारमा सर्किट ब्रेक नै लागेपछि नेपाली सेयर बजारका लगानीकर्ताहरु आत्तिएका छन् । तर, सेयर बजारको हालत खराब नेपालमा मात्रै भने होइन ।

केहीदिन यता विश्व सेयर बजार नै लगातार ओरालो लागिरहेको छ । विश्व सेयर बजार ओरालो लाग्नुको मूख्य कारण कोरोना नै भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

सोमबार बेलायतको प्रमुख शेयर बजारमा सन् २००८ मा देखिएको वित्तीय संकटयताकै ठूलो गिरावट आएको छ । सोमबारको शुरुवाती करोबारमा बेलायती शेयर परिसूचक फुट्सी १०० आठ प्रतिशतले घटेको हो । बेलायती शेयर परिसूचकको लागि यो वित्तीय संकटयता एकै दिनमा देखिएको सबैभन्दा ठूलो गिरावट हो । सोमबार शेयरमा आएको कमीसँगै धेरै कम्पनीले अर्बौं डलर गुमाएका छन् ।

कोरोना भाइरस कोभिड-१९ को प्रकोपको कारण यसअघि नै समस्यामा रहेको शेयर बजारलाई रुस र साउदी अरेबियाबीचको तेलको उत्पादनको विवादले थप कमजोर बन्न सहयोग पुर्‍याएको हो ।

सोमबार बेलायतबाहेक अन्य मुलुकको प्रमुख शेयर बजार पनि घटेका छन् । चीनको निर्यातमा देखिएको उल्लेख्य कमी र जापानी अर्थतन्त्र कमजोर बन्ने आशंकासँगै सोमबार अधिकांश एसियाली शेयर बजार घटे । सोमबार बजार बन्द हुँदा चिनियाँ शेयर परिसूचक सांघाई कम्पोजिट इन्डेक्स ३ दशमलव ०१ प्रतिशत घटेर २९४३ दशमलव २९ अंकमा आइपुगेको थियो ।

जापानी शेयर सूचक निक्कैई २२५५ दशमलव ०७ प्रतिशत घट्दा दक्षिण कोरियाको कोस्पी शेयर परिसूचकमा पनि ४ दशमलव १९ प्रतिशतको कमी देखिएको थियो । त्यस्तै हङकङको हेङसेङ, इन्डोनेशियाको जकार्ता कम्पोजिट, थाइल्याण्डको सेट कम्पोजिटमा पनि सोमबार ४ प्रतिशतभन्दा धेरै गिरावट देखिएको छ ।

कोरोनाको प्रभाव नै हो त ?

पुँजी बजारलाई अर्थतन्त्रको ऐनाको रुपमा लिइन्छ । कुनै नयाँ देशमा अर्को लगानीकर्ता लगानी गर्न जान खोजछ भने उसले त्यस देशको पुँजी बजारको अवस्थाबारे पनि अध्ययन गर्नु पर्ने अर्थविदहरुले बताउदै आएका छन् । सेयर बजार घटबढ हुनुु सामान्य प्रक्रिया नै हो । तर, पछिल्लो समय अप्रत्यासित तरिकाले बजार घट्नुलाई भने सामान्य तरिकारले लिन नसकिने पूर्ब बैंकर अनलाराज भट्टराई बताउँछन् । कोरोनाका त्रासले विश्व सेयर बजारलाई असर परेको उनले बताए ।

नेपालको सेयर बजार विश्वसँग प्रत्यक्ष नजोडिएको भए पनि कोरोनाको मनौवैज्ञानिक असर नेपाली सेयर बजारमा पनि देखिएको उनले बताए । ‘सेयर बजार नजोडिए पनि हाम्रो व्यापार/व्यवसाय विश्वमा जोडिएको छ’ उनले भने, ‘अहिले देखिएको प्रमुख कारण कोरोना नै त होइन, तर केहिहदसम्म मनोवैज्ञानिक असर परेको छ ।’

उनले लगानीकर्ताहरुले नगद होल्ड गरेको असर पनि बजारमा परेको बताए । कोरोनाकै कारण व्यापार व्यवसाय डुबेको भन्दै पूर्ब बैंकर भट्टराईले यसकै कारण बैंकिङ क्षेत्रमा तरलता घट्न सक्ने सम्भावना समेत रहेको बताए ।

नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउद पछिल्लो समय बजारलाई कोरोना भाइरसको असर देखिएको बताउँछन् । तर यो नेपालमामात्रै नभएर विश्वभर नै देखिएको सीईओ साउदले बताए ।

‘अहिले नेपालमामात्रै होइन, विश्वभरकै हालत खराब छ’ उनले भने, ‘भारतमा हिजो २३ सय अंकले झरेको छ, विश्वमा परेको असर यहाँ पनि पर्ने भइहाल्यो ।’

लगानी गर्ने उत्तम समय !

सेयर बजारमा लगानी गर्नेहरु धेरै डुबेका छन् । तर, जो डुबेका छन् उनीहरुले बुद्धि नपुर्‍याएका कारण डुबेका छन् । जसले कमाएका छन् उनीहरुले बजारलाई राम्रोसँग बुझेका छन् । सामन्यतया बजारमा लगानी गर्ने भनेको उत्तम समय घटेको बेला नै हो ।

बजार घटेको बेला थोरै मूल्यमा किन्ने र बढेको बेला बिक्री गर्न सके बजारबाट राम्रै कमाउन सकिन्छ । पूर्ब बैंकर अनलराज भट्टराई बजारलाई राम्रोसँग बुझेर र कम्पनी छनोटमा विशेष ध्यान दिए सेयर बजारमा डुबिन्छ कि भन्ने चिन्ता नहुने बताउँछन् । अहिले भने बजार पर्ख र हेरको अवस्थामा रहेको उनले बताए ।

घटेको बेला सेयर बिक्री गर्छ उसले घाटा खाने हो । होल्ड गर्न सक्ने क्षमता राख्ने हो भने सेयर बजारमा लगानी गरेर घाटा खानु पर्ने अवस्था नआउने सेयर बजारका जानकार बताउँछन् ।

नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छाटेलाल रौनियार पनि लगानीकर्ताहरु नआत्तिने हो भने बजारबाट घाटा नखाने बताउछन् ।

खासगरी नयाँ लगानीकर्ताहरु बढेको बेला सेयर किन्ने र घटेका बेला बेच्ने गरेकाले घाटा खानु परेको उनले बताए । अहिले बजार घटिरहेको भए पनि आत्तिहाल्नु पर्ने अवस्था भने नरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment