Comments Add Comment

कोरोना भाइरसको महामारी : चीनमा कम हुँदै, विश्वभर फैलिँदै

२९ फागुन, काठमाडौं । चीनमा कोरोना भाइरस (कोभिड–१९) को प्रकोप बिस्तारै घट्दै गएको छ । नयाँ संक्रमितको संख्या बुधबार पहिलोपटक एक अंकमा झरेको छ । बुधबार हुबेई प्रान्तमा केवल ८ जनामा यो भाइरसको नयाँ संक्रमित भेटिएका छन् । यो भाइरसको महामारी शुरु भएयता चीनमा पहिलोपटक चीनमा यसबाट संक्रमित हुनेको संख्या सबैभन्दा कम देखिएको हो ।

चीनमा भाइरसको प्रकोप कम भएसँगै धेरै व्यवसायहरु पनि खुलिसकेका छन् । त्यसका साथै स्थानीय निकायहरुले पनि यो भाइरस रोक्न केही महत्वपूर्ण योजना पनि अघि सारेका छन् । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले दिएको जानकारी अनुसार बुधबार चीनमा पाइएका अधिकांश संक्रमित भाइरसको उद्गमस्थल वुहान सहरका छन् ।

चिनियाँ कम्युनिस्ट पार्टीको मुखपत्र पिपुल्स डेलीले आफ्नो सम्पादकीयमा चीनमा नयाँ संक्रमितको संख्या घटे पनि अझै पनि अवस्था जटिल रहेको बताएको छ

पछिल्लो एक सातामा चीनमा यो भाइरस बिस्तारै नियन्त्रणको दिशामा अघि बढेको छ । चीनले मानिसहरु तथा सवारीसाधनमा बढाएको निगरानीको कारण कोरोना भाइरस केही नियन्त्रणको दिशामा देखिएको हो । वुहानमा भने अत्यावश्यक बाहेक सबै क्षेत्र बन्द गरिएको थियो । हुबेईभन्दा बाहिर पनि पाइएको सात नयाँ संक्रमितमध्ये छ जना बाहिरबाट आएका मानिसमा संक्रमण देखिएको हो । बाहिरबाट आएका मानिसमा पाइएको समेत गरेर समग्रमा नयाँ संक्रमितको संख्या १५ पुगेको छ । मंगलबार चीनमा २४ जनामा भाइरसको नयाँ संक्रमण भेटिएको थियो ।

‘अझै पनि अवस्था जटिल’

अहिलेसम्म चीनमा कोभिड–१९ बाट संक्रमित हुनेको संख्या ८० हजार ७९६ पुगेको छ । संक्रमितमध्ये ६२ हजार ८०२ जना निको भएर घर फर्किसकेका छन् । समग्र संक्रमितमध्ये यो संख्या करिब ८० प्रतिशत हो । चीनमा यो भाइरसबाट मृत्यु हुनेको संख्या मंगलबार ११ ले बढेको थियो । यससँगै समग्र मृत्यु हुनेको संख्या ३१६९ पुगेको छ । जसमध्ये हुबेईमा मात्र १० जनाको ज्यान गएको थियो ।

चिनियाँ कम्युनिष्ट पार्टीको मुखपत्र पिपुल्स डेलीले आफ्नो सम्पादकीयमा चीनमा नयाँ संक्रमितको संख्या घटेपनि अझै पनि अवस्था जटिल रहेको बताएको छ । चीनमा भाइरसको महामारी केही कम भएसँगै चीनले मुलुकभरका कारखाना पुनः सञ्चालन गर्नेतर्फ आफ्नो ध्यान केन्द्रित गरेको छ । तर, त्यसका लागि कडा किसिमको नियम ल्याइएको छ । भाइरसको कारण गत फेब्रुअरीमा चीनको कारखाना गतिविधि अहिलेसम्मकै कमजोर अवस्थामा पुगेको थियो । विश्लेषकहरुले चीनको कारखाना गतिविधि अप्रिलसम्म सामान्य अवस्थामा फर्किने सम्भावना निकै कम रहेको बताएका छन् ।

चीनमा भाइरसको कारण विशेषगरी एयरलाइन्स कम्पनीहरु प्रभावित बनेका छन् । फेब्रुअरीमा मात्र चिनियाँ एयरलाइन्सले २० अर्ब ९६ करोड चिनियाँ युआन अर्थात् करिब ३ अर्ब डलर बराबरको नोक्सानी व्यहोरेका थिए । अघिल्लो वर्षको सोही अवधिको तुलनामा फेब्रुअरीमा हवाई यात्रुको संख्या पनि ८४ दशमलव ५ प्रतिशत घटेको थियो ।

चीनका स्थानीय सरकारले मानिसहरुलाई जतिसक्दो छिटो काममा फर्काउन सहयोग गर्नुपर्ने चाइना डेल्लीले उल्लेख गरेको छ । अहिले धेरै व्यवसायहरुले कामदार अभावको समस्याको सामना गरिरहेको उक्त समाचारमा उल्लेख छ । अझै व्यवसाय खुल्न ढिलाइ भए यसले आर्थिक रुपमा मात्र नभई सामाजिक स्थायित्वमा पनि असर पार्नसक्ने बताइएको छ ।

चीनमा भाइरसको प्रकोप अहिले बिस्तारै कम हुँदै गए पनि विश्वभर भने यसको महामारी बढ्दो क्रममा छ ।

यो भाइरसबाट चीनपछि सबैभन्दा बढी प्रभावित बनेको मुलुक इटालीमा अहिलेसम्म ८२७ जनाको ज्यान गइसकेको छ । इटालीमा संक्रमितको संख्या पनि १२ हजार ४६२ पुगेको छ । त्यस्तै इरानमा पनि मर्नेको संख्या ३५४ पुगिसकेको छ । इरानमा पनि यो भाइरसका ९ हजार संक्रमित छन् ।

त्यस्तै दक्षिण कोरियामा पनि भाइरसबाट संक्रमित हुनेको संख्या करिब ८ हजार पुगिसकेको छ । फ्रान्स, स्पेन, जर्मनी, अमेरिका लगायत मुलुकमा पनि यो भाइरस तीव्र गतिमा फैलिरहेको छ ।

यसैलाई मध्यनजर गर्दै विश्व स्वास्थ्य संगठन (डब्ल्यूटीओ)ले यो कोभिड–१९ लाई महामारी घोषणा गरेको छ । अहिलेसम्म यो भाइरसको प्रकोप विश्वका १२४ मुलुक तथा क्षेत्रमा फैलिइसकेको छ । समग्रमा मृत्यु हुनेको संख्या पनि ४६३४ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment