Comments Add Comment

त्रिविले अब सेक्युरिटी फिचरसहितको ट्रान्सक्रिप्ट दिने

२९ फागुन, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अब विद्यार्थीलाई ‘सेक्युरिटी फिचर’ सहितको ट्रान्सक्रिप्ट उपलब्ध गराउने भएको छ ।

नक्कली रोक्न र सबैलाई एउटै किसिमको उपलब्ध गराउनका लागि सेक्युरिटी फिचरसहितको ट्रान्सक्रिप्ट त्रिविले उपलब्ध गराउने भएको हो । त्रिवि परीक्षा नियन्त्रण कार्यालय (पनिका) का परीक्षा नियन्त्रक पुष्पराज जोशीले त्रिवि प्राज्ञिक परिषदबाट निर्णय गरी सोसम्बन्धी प्रक्रिया सुरु गरिएको जानकारी दिए ।

उनका अनुसार, उक्त ट्रान्सक्रिप्ट सक्कली हो वा होइन भनेर जाँच गर्न पनि सकिने छ । त्यसको बीचमा छापसहितको सात प्रकारका विभिन्न फिचरको ढाँचा रहनेछ । त्यसैको आधारमा नै ट्रान्सक्रिप्ट सक्कली हो वा होइन भनेर पत्ता लगाइन्छ । ‘अहिले बजारमा त्रिविकै नक्कली ट्रान्सक्रिप्ट बनाउने गरिएको छ,’ परीक्षा नियन्त्रक जोशीले भने, ‘त्यसलाई रोक्न सेक्युरिटी फिचर भएको ल्याउन लागिएको हो ।’ त्यो पानीमा पानीमा नभिज्ने र नच्यातिने हुनेछ ।

सबैलाई एउटै किसिमको दिइने ति ट्रान्सक्रिप्टको बाहिरी गाता भने पाँच किसिमका हुनेछन् । अहिले वितरण हुने ट्रान्सक्रिप्ट समान छैनन् । अन्य सङ्कायभन्दा चिकित्सा र इञ्जिनीयरिङ विषयका भने फरक–फरक ट्रान्सक्रिप्ट छन् । सबैलाई समान खालको दिन सेक्युरिटी फिचरसहितको ट्रान्सक्रिप्ट दिन लागिएको हो ।

परीक्षा नियन्त्रक जोशीले विसं २०७७ बाट परीक्षा दिने विद्यार्थीलाई उक्त ट्रान्सक्रिप्ट वितरण गरिने जानकारी दिए ।

०१६ मा स्थापित त्रिविले ०५४ बाट मात्र छापेर ट्रान्सक्रिप्ट दिन थालेको हो । नयाँ ट्रान्सक्रिप्टलाई हालको भन्दा बढी शुल्क तिर्नुपर्ने हुन्छ । वाक्लो गाता (फोल्डर) मा प्रोभिजनल सटिर्फिकेटसहित दिइने उक्त ट्रान्सक्रिप्ट अहिलेको भन्दा पाँच गुणा बढी शुल्क लाग्ने परीक्षा नियन्त्रक जोशीले बताए ।

पनिकाले तह अनुसारका रातो, हरियो, निलो, खैरो र बैजनी रङ्गका पाँच प्रकारका फोल्डरभित्र ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट राखेर दिनेछ । उहाँका अनुसार प्रविणता प्रमाणपत्र तहको लागि रु दुई हजार, स्नातकको रु दुई हजार २००, स्नातकोत्तर तह र एमफिललाई रु दुई हजार ५०० र विद्यावारिधीका लागि रु तीन हजार तोकिएको छ । अहिले त्रिविले स्नातक तहलाई रु ४५० र स्नातकोत्तर तहलाई रु ५०० शुल्क लिँदै आएको छ ।

यसैगरी त्रिविले चैत १५ गतेदेखि अब सबै सङ्कायका ट्रान्सक्रिप्ट २४ घण्टाभित्र उपलब्ध गराउने भएको छ । परीक्षा नियन्त्रण कार्यालयले अब सबै सङ्कायको फाराम भरेको २४ घण्टाभित्र विद्यार्थीलाई ट्रान्सक्रिप्ट उपलब्ध गराउने भएको परीक्षा नियन्त्रक जोशीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment