Comments Add Comment

कोरोनाविरुद्ध लड्न कुन देशले ल्याए कस्तो आर्थिक प्याकेज ?

३० फागुन, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को त्रासदी अहिले विश्वभर फैलिरहेको छ । यसले विश्व अर्थतन्त्रमै ठूलो धक्का दिने अर्थशास्त्रीहरुले बताइरहेका छन् ।

कोरोना भाइरसका कारण विश्व अर्थतन्त्र एक दशकअघिको वित्तीय संकटयताकै कमजोर बन्नसक्ने आशंका पनि कतिपयको छ । यस्तो आफ्नो अर्थतन्त्र जोगाउन विभिन्न मुलुकहरुले विभिन्न आर्थिक प्याकेज अघि सारेका छन् । कतिपय शक्तिशाली देशले चाहिँ अन्य मुलुकहरुलाई पनि सहायता गर्ने घोषणा गरेका छन् ।

कुन देशले कस्ता कार्यक्रम अघि सारे त ?

१. अमेरिका

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसविरुद्ध लड्न ८ अर्ब ३० करोड डलरको आपतकालीन खर्च विधेयकमा हस्ताक्षर गरेका छन् । उनले कोरोना भाइरस नियन्त्रण र यसको खोप पत्ता लगाउनका लागि सो रकम खर्च गर्न दिने निर्णय गरेका हुन् ।

अमेरिकाको केन्द्रीय बैंक फेडेरल रिजर्भ बैंकले पनि अर्थतन्त्रलाई टेवा दिन ब्याजदर शून्य दशमलव ५ प्रतिशत अंकले घटाउने निर्णय गरेको थियो । फेडेरल रिजर्भले सन् २००८ को वित्तीय संकटपछि पहिलोपटक आपतकालीन रुपमा ब्याजदर घटाउने निर्णय लिएको हो । साथै अमेरिकाले साना व्यवसायमा परेको असर कम गर्न ५० अर्ब डलरको ऋण दिने निर्णय गरेको छ ।

२. चीन

कोरोना भाइरसको उद्गमस्थल चीनले कोरोना भाइरससँग लड्न १५ अर्ब १९ करोड डलर बराबरको रकम खर्च गर्ने बताएको छ । चीनले अर्थतन्त्रमा यसको असर कम गर्न अझै सहयोग बढाइरहेको छ ।

चीनको केन्द्रीय बैंकले पनि अर्थतन्त्रमा सहयोग पुर्‍याउन ब्याजदरमा केही कटौती गरेको थियो । यसमा ऋणको ब्याजदर, प्रमुख ब्याजदरका योजना पनि सामेल छन् । साथै केन्द्रीय बैंकले बैंकहरुलाई सस्तो ऋण र भुक्तानीमा भाइरस प्रभावित कम्पनीलाई केही राहत दिन आग्रह गरेको छ ।

चीनले कम्पनीहरुलाई उत्पादन शुरु गर्न सहज होस् भनेर वातावरणीय निगरानीको नियममा पनि परिवर्तन गर्न सकिने बताएको छ । यसले चीनमा काम गर्ने कम्पनीले वातावरणीय हिसाबमा केही छुट पाउनेछन् ।

३. जापान

जापानले पनि अर्थतन्त्रमा नकारात्मक असर पर्न सक्ने भयको कारण ४ अर्ब डलरको दोस्रो योजना ल्याएको छ ।

उसले देशभित्रका साना तथा मझौला कम्पनीलाई सहयोग पुग्ने गरी यो योजना ल्याएको हो । त्यस्तै जापानको केन्द्रीय बैंकका गभर्नर हारुहिको कुरोडाले बजारमा थप तरलता आप्रवाह गर्न र सम्पत्ति खरिदमा जोड दिन आग्रह गरेका छन् ।

४. ईयू

यूरोपेली संघ (ईयू) ले पनि कोरोना भाइरसका विरुद्धमा २८ अर्ब डलरको आर्थिक सहायता कोष ल्याउने तयारी गरिरहेको छ । अहिलेसम्म उसले कुनै प्याकेज घोषणा गरिसकेको भने छैन ।

यूरोक्षेत्रको केन्द्रीय बैंक यूरोपेली केन्द्रीय बैंकले पनि अहिलेसम्म कुनै पनि योजना ल्याएको छैन । तर, उसले कोरोनाविरुद्ध लड्नका लागि उचित कदम चाल्ने विषयमा छलफल भने चलाइरहेको छ । उसले युरोक्षेत्रका बैंकहरुलाई कोरोना भाइरसको असर न्यूनीकरणको लागि आवश्यक कदम चाल्न तयार भएर बस्न सुझाएको छ ।

५. जर्मनी

कोभिड–१९ विरुद्ध लड्न जर्मनीले पनि सार्वजनिक क्षेत्रको लगानी सन् २०२४ सम्ममा १२ अर्ब ४० करोड यूरो बढाउने निर्णय गरेको छ । उसले कम्पनीहरुलाई काम गर्ने समय घटाउँदै कोरोना भाइरसको नियन्त्रणका लागि सहुलियत प्रदान गर्ने भएको छ ।

केही विज्ञहरुले भने भाइरस नियन्त्रणका लागि आवश्यक परे जर्मनीले ५० अर्ब युरोसम्मको आर्थिक सहायता कोष ल्याउनसक्ने बताएका छन् ।

६. बेलायत

बैंक अफ इंगल्याण्डले कोरोना भाइरसको प्रभाव न्यूनीकरणका लागि ब्याजदर शून्य दशमलव ५ प्रतिशत अंकले घटाउने निर्णय गरेको छ । साथै अर्थमन्त्री ऋषि सुनाकले भाइरस नियन्त्रणको लागि ३० अर्ब पाउण्ड खर्च गरिने बताएका छन् ।

७. भारत

भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इण्डिया (आरबीआई)ले पर्याप्त मौद्रिक तरलता प्रवाह गर्ने योजना अघि सारेको छ । कोरोना भाइरसका कारण देशको आर्थिक वृद्धि सुस्त रहने अनुमान भइरहेको अवस्थामा भारतले यस्तो योजना अघि सारेको हो ।

भारतीय अधिकारीका अनुसार अप्रिलसम्म आरबीआई ५ देखि ६ खर्ब भारु रकम कोरोना भाइरस नियन्त्रणको लागि खर्च गर्ने योजनामा छ ।

८. इटाली

कोरोना भाइरसबाट चीनपछि सबैभन्दा प्रभावित बनेको मुलुक इटालीले भाइरसविरुद्ध लड्न ७ अर्ब ५० करोड यूरो खर्च गर्ने योजना बनाएको छ । उसले मुलुकको बजेट घाटा पनि २ दशमलव २ प्रतिशतको अहिलेको लक्ष्यभन्दा बढी २ दशमलव ५ प्रतिशत पुग्ने बताएको छ ।

९. क्यानडा

क्यानडाका अर्थमन्त्री बिल मोर्नोले कोरोनासँग लड्नका लागि आवश्यक आर्थिक सहायता उपलब्ध गराउन आफूहरु तयार रहेको बताएका छन् । कोभिड–१९ नियन्त्रणको लागि क्यानडाको केन्द्रीय बैंकले पनि ब्याजदर शून्य दशमलव ५ प्रतिशत अंक घटाउने निर्णय गरिसकेको छ ।

यसअघि क्यानडाले सन् २००९ मा वित्तीय संकटको अवस्थामा ब्याजदर शून्य दशमलव ५ प्रतिशत अंक घटाउने निर्णय गरेको थियो ।

१०. दक्षिण कोरिया

दक्षिण कोरियाले भाइरससँग लड्न ९ अर्ब ८० करोड डलरबराबरको आर्थिक सहायता प्याकेज अघि सारेको छ ।

११. अष्ट्रेलिया

अष्ट्रेलियाले कोरोनाविरुद्ध लड्न ११ अर्ब ४० करोड डलर बराबरको आर्थिक सहायता कोष सार्वजनिक गरेको छ । बिहीबार अष्ट्रेलियाका प्रधानमन्त्री स्टक मोरिसनले उक्त सहायता कोषको घोषणा गरेका हुन् । सन् २००८ पछि पहिलोपटक अष्ट्रेलियाले आर्थिक सहायता कोषको योजना अघि सारेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment