+
+
Shares

उदयपुरमा विप्लवविरुद्ध प्रहरी अपरेशन : १२ वर्षका बालकलाई छाड्ने तयारी

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन ३० गते १५:४४

३० फागुन, काठमाडौं । अपहरणको अभियोगमा विप्लव समूहसँगै पक्राउ परेका १४ जनामध्ये एक जनालाई प्रहरीले छाड्ने तयारी गरेको छ ।

कम उमेर भएका कारण सिन्धुली जुवाडेका ईश्वर पुन मगरलाई छाड्न लागिएको हो । जिल्ला प्रहरी कार्यालय, धनुषाका एक अधिकृतका अनुसार मगर १२ वर्षका छन् ।

उनलाई अभिभावकको जिम्मा लगाउनेबारे छलफल भइरहेको ती अधिकृतले बताए । अन्यविरुद्ध भने अपहरण तथा शरीर बन्धक, हातहतियार तथा खरखजाना र राज्यविरुद्धको अपराधको कसूरमा कारबाही प्रक्रिया अघि बढ्न सक्ने जनाइएको छ ।

पक्राउ पर्ने अन्यमा उदयपुर ताबिलका १८ वर्षका अविनाश तामाङ, गाईघाटका २० वर्षका आशिष लामा, ताप्लेजुङकी १६ वर्षकी रञ्जना राई, धनकुटा पाख्रिबासकी १९ वर्षकी अनिता राई, कैलालीकी १९ वर्षकी अनुष्का राउत रहेका छन् ।

त्यस्तै, मोरङ आइतबारेकी १७ वर्षकी सपना राई, मोरङका १५ वर्षका आशिष श्रेष्ठ र इलाम फाकफोककी २० वर्षकी मुस्कान राई छन् । त्यस्तै, सर्लाही लालबन्दीकी १६ वर्षकी रीता कार्की, ताप्लेजुङ खोक्सिङका २० वर्षका विकास राई, इलाम बतासेका १७ वर्षका आयुस मगर पनि पक्राउ परेका छन् ।

विप्लव समूहले उनीहरुलाई प्रलोभनमा पारेर सैन्य तालिम दिन खोजेको आधार भेटिएको प्रहरीले जनाएको छ । समूहका संलग्न सैन्यतर्फका भोजपुरका ४५ वर्षका मनोराम राई र इटहरीका २८ वर्षका विवेक खड्का पनि पक्राउ परेका छन् ।

उदयपुरतर्फ हिँड्दै गर्दा पक्राउ परेका उनीहरुको साथबाट साथबाट ११ वटा सकेट बम, ३ थान पेस्तोल र त्यसमा लाग्ने ९ राउण्ड गोली, एउटा प्रेसर कुकर, २ वटा खुकुरी, २ मिटर डेटोनेटर तार र २ थान मोवाइल सेट पनि बरामद भएको प्रदेश नं. २ का प्रहरी प्रमुख डीआईजी प्रद्युम्न कार्की बताउँछन् ।

उनीहरुका साथबाट तालिमसम्बन्धी निर्देशिका र अन्य केही महत्वपूर्ण दस्तावेज पनि बरामद भएको थियो । प्रहरीले पक्राउ परेका सबैलाई गएराति नै जिल्ला प्रहरी कार्यालय, धनुषा ल्याइसकेको छ भने बयान र विस्तृत अनुसन्धान गर्ने काम भइरहेको छ ।

यसअघि गणेशनाथ चारधाम नगरपालिका–५, गौरीखोलामा रहेको गोठाबाट बुधबार १४ वर्षीया करिना तामाङलाई विप्लव समूहले अपहरित गरेको सूचना प्रहरीले पाएको थियो । त्यही आधारमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले चलाएको संयुक्त अपरेशनमा उनीहरु पक्राउ परेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?