Comments Add Comment

आन्तरिक उडानमा घट्यो अक्कुपेन्सी आधा, हेलिकोप्टरको बुकिङ रद्द

३० फागुन, काठमाडौं । मूख्य पर्यटकीय सिजनमा पर्यटक आवागमन बन्द भएसँगै त्यसले आन्तरिक उडानमा प्रत्यक्ष असर गरेको छ । वायुसेवा सञ्चालक संघका अनुसार आन्तरिक उडानमा अहिले ५० देखि ६० प्रतिशतसम्म यात्रु घटेका छन् ।

कोरोना भाइरसको जोखिमका कारण विश्वभर पर्यटक आवागमन अवरुद्ध भएको हो । त्यसले आन्तरिकतर्फ पर्यटकीय गन्तब्यमा यात्रु घटेको संघले उल्लेख गरेको छ ।

संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापाका अनुसार हेलिकोप्टरहरुमा प्रि-बुकिङ ७० प्रतिशतसम्म कमी आएको छ । खासगरी यस सिजनमा पर्वतारोहण नहुने भएपछि लुक्लातर्फको वायुसेवा कम्पनीको व्यापार करीव ९० प्रतिशतसम्म कटौती हुनेछ ।

यहाँ सिजनमा सबैजसो हेलिकोप्टरले विजनेस पाउने गरेका थिए । यसबाहेक आकस्मिक उद्दारमा समेत हेलिकोप्टरको प्रयोग हुने गर्छ । कोरोनाका कारण हवाई उद्योग धरासायी हुने अवस्थामा पुगेको भन्दै वायुसेवा कम्पनीका सञ्चालकहरुले सरकारलाई गुहारेका छन् ।

उद्योग मन्त्रालय पुगे हवाई व्यवसायी
कोरोना भाइरसले उद्योग धरासायी भएको भन्दै व्यवसायीहरु उद्योग मन्त्रालयको ढोका ढक्ढक्याउन पुगेका छन् । उद्योगमन्त्रीलाई पत्र लेख्दै व्यवसायीले हवाई इन्धनको मूल्यमा व्यापक कटौती गरी सरकारले वायुसेवा कम्पनीलाई सहुलियत दिन सक्ने माग गरेका छन् ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा करीव ४५ प्रतिशतको गिरावट आएको र वायुसेवा कम्पनीको खर्चको ४० प्रतिशतसम्म हिस्सा हवाई इन्धनमा जाने भन्दै मूल्य समायोजनको माग व्यवसायीले गरेका छन् ।

मूल्य समायोजन गर्दा व्यवसाय पनि बच्ने र नेपाली यात्रुले समेत त्यसको लाभ लिन सक्ने संघले उल्लेख गरेको छ । मूल्य समायोजन गर्दा हवाई भाडा घट्ने र यसले हवाई भाडा सस्तो भई नेपाली यात्रु बढ्ने अपेक्षा कम्पनीहरुको रहेको छ ।

हवाई इन्धनमा प्रतिलिटर १० रुपैयाँभन्दा कम मुनाफा राखेर मूल्य घटाउन हवाई कम्पनीले उद्योगमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment