Comments Add Comment

लैंगिक समानताका लागि स्थानीय सरकार जिम्मेवार बन्नुपर्ने

३० फागुन, वीरगञ्ज । लैंगिक समानताको सवालमा स्थानीय तहले प्राथमिकताका साथ काम गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

दिगो विकास लक्ष्यमा लैंगिक समानतालाई पनि एउटा लक्ष्य मानिएको छ । संविधान, नीति, नियम र कानूनमा सबै समान भने पनि व्यवहारमा त्यस्तो नदेखिएको उनीहरुको भनाइ छ ।

वीरगञ्जमा शुक्रबार लैंगिक समानता प्रवर्द्धनका निम्ति पैरवी रणनीति निर्माण गरिएको छ । कार्यक्रममा सहभागीले बाल विवाह, दाइजो प्रथा, साँघुरो मानसिकता, रुढीवादी परम्परा, राजनीतिमा कमजोर उपस्थिति, सामाजिक कुरीति, सम्पत्तिमा पहुँचको अभाव, जस्ता कारणले लैंगिक समानता हुन नसकेको तर्क गरे ।

दाइजो प्रथाका कारण अभिभावकले कमै उमेरमा छोरीको विवाह गर्नुपर्ने बाध्यता तराई मधेसमा देखिएको र यसले धेरै असमानता जन्माएको तर्क उनीहरुले गरे । बाल विवाह नियन्त्रणका लागि समुदायले सहयोग नगर्ने गरेको जनप्रतिनधिको भनाइ छ ।

वडानम्बर १६ का वडा अध्यक्ष श्यामबाबु चौरसियाले दाइजो र बाल विवाह जस्ता सामाजिक कुप्रथा हटाउन प्रयास भइरहेको बताए ।

कानूनमा विद्यमान दण्ड सजायको व्यवस्था कार्यान्वयन गर्न सके धेरै किसिमका असमानताको अन्त्य हुने वडा नं ८ का अध्यक्ष राजकिशोर गुप्ताको भनाइ छ ।

वडानम्बर १५ का वडाध्यक्ष गजेन्द्र कुर्मीले महिलालाई शिक्षित बनाउँदा सामाजिक समस्याको समाधान हुने बताए ।

महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रकी हवल्दार राजकुमारी थापाले बाल विवाह र दाइजो प्रथा अन्त्यका लागि रणनीति नै बनाएर काम गर्नुपर्ने बताइन् ।

वीरगञ्ज महानगरपालिका गैरसरकारी संस्था माहाशाखाका मुकेश गुप्ताले वीरगञ्ज महानगरपालिकाले बाल संरक्षणका लागि नीति ल्याएर काम गरिरहेको जानकारी दिए । उनले बाल विवाह र दाइजो प्रथा अन्त्यका लागि रणनीति बनाउनुपर्नेमा जोड दिए ।

भीएसओको सहयोगमा नेपाल युवा संस्था सञ्जाल -आयोन)ल आयोजना गरेको कार्यक्रममा वीरगञ्ज- ८, १५ र १६ नम्बर वडाका सरोकारवाला सहभागी भएका थिए ।

सेवा प्रदायक र सेवाग्राहीबाटै स्थानीय तहमा विद्यमान समस्या र समाधानको उपाय खोजीका लागि छलफल गरिएको आयोनका निर्देशक अनिल उपाध्यायले बताए ।

‘दिगो विकास लक्ष्य अन्र्तगत लैगिक समानतको लक्ष्य छ, जसअन्तर्गत महिला र किशोरीविरुद्ध हुने सबै प्रकारको भेदभाव अन्त्य गर्ने, समान कामको समान ज्याला हुनुपर्ने, यौन शोषण, मानव बेचबिखनलगायत सबै प्रकारको हिंसा अन्त्य हुनुपर्छ भन्ने छ,’ उनले भने, ‘स्थानीय स्तरमा त्यसको अवस्था के छ ? अवस्था त्यस्तो हुनुको कारण र समाधानको उपाय पनि उनीहरुसँगै लिएका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment