Comments Add Comment

भीआईपीमा कोरोना : डाक्टर र मन्त्रीदेखि उपराष्ट्रपतिसम्म

यी हुन् कोरोना संक्रमित 'हाई प्रोफाइल'

३० फागुन, काठमाडौं । रोगले ठूलो-सानो, धनी-गरीब, बलियो-निर्धाे भन्दैन । फरक यत्ति हो कि हुने खानेले बढीभन्दा बढी पूर्वसतर्कता अपनाउन सक्छन् । कमजोर वर्गले चाहिँ भगवानको पुकार गर्नुको विकल्प हुन्न ।

कोरोनाको त्रास अहिले ‘राजादेखि रङ्क’सम्म फैलिएको छ । प्रकोप सुरु भएयता संसारभरका करिब ५ हजार जनाको मृत्यु भएको छ भने लाखौं व्यक्तिहरु यसबाट प्रभावित बनेका छन् । उनीहरुमध्ये केही ‘हाई प्रोफाइल’ हरु पनि छन् ।

केही भीआईपीलाई संक्रमण पुष्टि भएको छ भने केही चाहिँ आफैं डराएर क्वारेन्टाइनमा बसेका छन् ।

हामी यहाँ कोरोनाबाट प्रभावित केही चर्चित पात्रहरुको चर्चा गर्दैछौं :

चिनियाँ डाक्टरको मृत्यु

कोरोना रोगका बारेमा सबैभन्दा पहिले सन्देश जारी गर्ने चिनियाँ डाक्टर ली वेनलियाङको यही रोगले मरण भयो । उनी मात्र ३४ वर्षका थिए ।

वुहानको एक अस्पतालमा आपतकालीन उपचारलगत्तै उनको मृत्यु भएको थियो । डा. वेनलियाङले पहिलोपटक कोरोनाको विषयमा सामाजिक सञ्जालमा लेख्दा निकै जोखिम मोलेका थिए । किनकि, नियन्त्रणकारी चिनियाँ शासनमा सरकारले उनलाई ‘दुष्प्रचार गरेको’ आरोपमा दण्डित गर्ने खतरा थियो ।

डिसेम्बरको अन्त्यतिर चिनियाँ प्रहरीले उनलाई अफवाह फैलाएको भन्दै आफ्नो निशाना बनायो । सामाजिक सञ्जालमा लेखेको चार दिनपछि स्थानीय जनसुरक्षा ब्युरोले उनलाई बोलाएर गलत सन्देश जारी गरेको र सामाजिक दायित्व भंग गरेको आरोप लगायो । यदि लगातार यो रोगबारे बोलिरहे उनलाई कठघरामा उभ्याइने चेतावनी दिइएको थियो ।

जनवरीमा लीले एक महिलाको शल्यक्रिया गरे तर, उनलाई थाहा भएन कि ती महिला कोरोनाबाट समेत संक्रमित रहिछन् । तिनै महिलाको शल्यक्रिया गर्दा डाक्टरलाई पनि कोरोना सर्‍यो ।

जनवरी १० बाट उनलाई खोकी लाग्न र जरो आउन सुरु भयो । उनी अस्पताल भर्ना भए । त्यसका दुई दिनपछि उनका बाबुआमा पनि बिरामी परे । अस्पतालकै बेडबाट लीले आफू संक्रमित भएको सार्वजनिक गरे । अस्पतालमा उनको अवस्था सुधार हुनुको साटो बिगि्रँदै गयो र अन्ततः उनको मृत्यु भयो ।

पत्नीलाई संक्रमण, प्रधानमन्त्री आइसोलेसनमा

क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोकी पत्नी सोफी ट्रुडोलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमणपछि पत्नीसँगै प्रधानमन्त्री स्वयम् आइसोलेसनमा रहने भएका छन् ।

क्यानाडेली प्रधानमन्त्रीका सञ्चार निर्देशकले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री पत्नीलाई कोरोना भएको जानकारी दिएका हुन् । प्रधानमन्त्रीलाई भने अहिलेसम्म संक्रमण देखिएको छैन । तर, उनी पनि १४ दिनसम्म आइसोलेसनमा बस्नुपर्ने भएको छ ।

‘सोफियामा कोरोना संक्रमण देखिए पनि उहाँले असजिलो महसुस गर्नुभएको छैन,’ प्रधानमन्त्रीका सञ्चार निर्देशकले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

सेल्फ आइसोलेसनमा रहे पनि प्रधानमन्त्री ट्रुडोले पूर्ववत आफ्नो नियमित कार्यसम्पादन गर्ने उनको कार्यालयले जनाएको छ । उनले शुक्रबारै आफ्ना देशवासीलाई सम्वोधन गर्ने कार्यक्रम छ । कोरोनाले क्यानडामा एक जनाको मृत्यु भएको छ भने दिनदिनै नयाँ संक्रमित थपिइरहेका छन् ।

अष्ट्रेलियाका गृहमन्त्रीलाई संक्रमण

अष्ट्रेलियाका गृहमन्त्री पिटर डटन कोराना प्रभावित भएका पछिल्ला हाई प्रोफाइल व्यक्ति हुन् । शुक्रबार बिहान उठ्दा उनलाई ज्वरो आएको र घाँटी दुखेको थियो । त्यसपछि तुरुन्तै क्वीन्सल्यान्ड स्वास्थ्य विभागमा सम्पर्क गरेर परीक्षण गराएका उनको पोजिटिभ रिपोर्ट आएको हो ।

गृहमन्त्री डटन अहिले अस्पताल भर्ना भएका छन् । अस्पतालबाटै एक विज्ञप्ति जारी गरी उनले आफ्नो स्वास्थ्य अवस्था ठीक रहेको बताएका छन् ।

मंगलबार मन्त्रिपरिषद बैठकका लागि गृहमन्त्री डटन राजधानी सिड्नी पुगेका थिए । प्रधानमन्त्री स्कट मोरिसन र मन्त्रिपरिषदका अन्य सदस्यसँग उनी बैठकमा बसेका थिए । मार्च महिनाको सुरुमा अमेरिका गएका उनी अघिल्लो हप्ता फर्केका थिए । उनले व्यवसायिक उडानबाट ब्रिसबेन र सिड्नी आउजाउ गरेका थिए ।

बेलायतका स्वास्थ्यमन्त्री

बेलायतकी सांसद एवं स्वास्थ्यमन्त्री नादिन डोरिसलाई कोरोना भाइरसको संक्रमण भएको छ । उनी अहिले आफ्नै घरभित्र ‘सेल्फ आइसोलेसन’ मा छिन् ।

बेलायतको स्वास्थ्य विभागका अनुसार डोरिसलाई अघिल्लो बिहीबारबाट लक्ष्यण देखिन थालेको थियो । त्यही दिन उनले प्रधानमन्त्रीद्वारा आयोजित एक कार्यक्रम होस्ट गरेकी थिइन् ।

बेलायतमा अहिलेसम्म कोरोनाबाट ६ जनाको मृत्यू भएको छ । बेलायतको सरकारले कोरोनाबाट देशको अर्थतन्त्रलाई जोगाउन प्याकेज कार्यक्रम अघि सार्ने तयारी गरेको छ ।

इरानका उपराष्ट्रपति र दुई मन्त्री

इरानका उपराष्ट्रपतिसहित दुई मन्त्रीहरुलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्ला केही दिन उच्चस्तरीय वैठकहरुमा सहभागी नभएपछि उपराष्ट्रपति इशाक जहानगिरीको स्वास्थ्यका बारेमा चासो बढेको थियो । गत बुधबार उनलाई कोरोना भएको समाचार अर्द्धसरकारी मिडिया फार्स न्युजी नेटवर्कले सार्वजनिक गरेको हो । 

कोरोना भएका दुई मन्त्रीहरुमा सांस्कृतिक सम्पदा मन्त्री अली अस्गर मोउनेसन र उद्योग, खानी तथा व्यापार मन्त्री रेजा रहमानी रहेका छन् । इरानको सरकारी मिडियाले भने यो खबरलाई अझै पुष्टि गरेको छैन । साथै तीनैजनाको स्वास्थ्य अवस्थाबारे विस्तृत रिपोर्ट पनि सार्वजनिक भएको छैन ।

कोरोनाबाट अत्यधिक प्रभावित देशमा इरान पनि पर्छ । अहिलेसम्म इरानमा ३ सय ५४ जनाको कोरोनाबाट मृत्यु भइसकेको छ । इरानको स्वास्थ्य मन्त्रालयले ९ हजारभन्दा बढि यो भाइरसबाट प्रभावित बनेको जनाएको छ ।

अस्पतालका निर्देशकको मृत्यु

कोरोनाबाट मृत्यु हुने हाई प्रोफाइलमा चीनको एक अस्पतालका निर्देशक पनि छन् । कोरोनाको इपिसेन्टर मानिएको वुहानस्थित वुचाङ अस्पतालको निर्देशक लिउ झिमिङको गत फेब्रुअरी १७ मा मृत्यु भएको हो ।

लिउ एक न्यूरोसर्जन थिए । ५१ वर्षीय लिउ यो रोगबाट मृत्यु हुने सबैभन्दा वरिष्ठ स्वास्थ्यकर्मी हुन् । चीनले कोरोनाको प्रकोपविरुद्ध लडिरहेका डाक्टर तथा नर्सको मृत्यु भएमा उनीहरुलाई ‘शहिद’ को मान्यता दिने निर्णय गरेको थियो ।

वुहान म्युनिसिपल हेल्थ कमिसनले कोभिड १९ को नियन्त्रणमा लिउले अविस्मरणीय योगदान दिएको उल्लेख गरेको छ । कमिसनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सबै प्रयासका बाबजुद दुर्भाग्यवस उहाँलाई बचाउन सकिएन ।’

अहिले चीनमा कोरोनाको प्रकोप धेरै हदसम्म नियन्त्रणमा आइसकेको छ ।

सेल्फ क्वारेन्टाइनमा रोनाल्डो

विश्वविख्यात फुटबलर रोनाल्डो अहिले कोरोनाको डरले क्वारेन्टाइनमा बसिरहेका छन् । आफ्नो टिमका एक साथीलाई कोभिड १९ पुष्टि भएपछि उनी पनि डराएर क्वारेन्टाइनमा बसेका हुन् ।

रोनाल्डोले आइतबार जुभेन्टसका लागि खेलेका थिए । कोरोना भाइरसले इटली आक्रान्त बनिरहँदा खाली रंगशालामा सो म्याच भएको थियो ।

बुधबार जुभेन्टसका खेलाडी डेनिल रोगानीलाई कोरोना सक्रमण पुष्टि भयो । त्यसअघि उनले टिमका साथीहरुसँग सामुहिक फोटो खिचाएका थिए, जसमा रोनाल्डो सर्टलेस देखिएका छन् ।

डेनिललाई संक्रमण भएको सार्वजनिक हुँदा रोनाल्डो आफ्नी बिरामी आमालाई भेट्न पोर्चुगल पुगेका थिए । त्यहाँ उक्त खबर सुनेपछि रोनाल्डोले आफूलाई सेल्फ क्वारेन्टाइनमा राखेका हुन् । आफू पूर्णरुपमा खतरामुक्त भएपछि मात्रै इटली फर्किने उनले बताएका छन् ।

जुभेन्टसले आफ्नो वेवसाइटमा रोगानीलाई संक्रमण भएको बुधबार जानकारी दिएको छ । उसको विज्ञप्तिमा भनिएको छ, ‘जुभेन्टस क्लवले कानून बमोजिम आवश्यक सबै प्रक्रियाहरु अबलम्बन गरेर उनलाई आइसोलेसनमा राखिरहेको छ,’ विज्ञप्तिमा भनिएको छ ।

जुभेन्टसले नियमित ट्रेनिङ जारी राखे पनि पछिल्ला दुई दिन रोगानी त्यसमा सहभागी छैनन् । इटलीमा अहिले कोरोनाको प्रकोपले गर्दा सिंगै देशलाई ‘लकडाउन’ गरिएको छ । सबै फुटबल प्रतियोगिताहरु स्थगित गरिएका छन् । (एजेन्सी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment