Comments Add Comment

कोरोनाको मारमा विश्व खेलकुद, ओलम्पिक नसार्ने योजनामा जापान

तस्वीर : www.rappler.com

२ चैत, काठमाडौं । गत डिसेम्बरमा छिमेकी देश चीनबाट शुरु भएको कोरोना भाइरस संक्रमण अहिले युरोप हुँदै अमेरिकासम्म पुगिसकेको छ । कोरोना संक्रमणका कारण विश्वको राजनीतिक, आर्थिक, सामाजिकलगायत सबैजसो क्षेत्र प्रभावित भएको छ । खेलकुद क्षेत्र पनि यसबाट टाढा छैन ।

यही वर्ष २०२० मा विश्वमा दुई वटा खेलकुद मेला हुँदैछन् । आउँदो जुलाइमा जापानमा ओलम्पिक खेलकुद र युरोपका विभिन्न देशमा युरोकप १२ जुन देखि १२ जुलाईसम्म हुँदैछ ।

यसका साथै अन्य साना ठूला वार्षिक खेलकुद प्रतियोगिताहरु पनि भइरहेका थिए । तर कोरोना संक्रमणको त्रासका कारण अहिले विश्व खेलकुदमा ब्रेक लागेको छ । कुनै पनि देशले निर्वाध रुपमा खेल गतिविधि सञ्चालन गर्ने अवस्था छैन ।

धेरै दर्शक जम्मा हुने भएकोले भिडभाड नहोस् भनेर र खेल गतिविधि रोकिएका हुन् । केही खेलहरु दर्शकबिनै खेलाउने प्रयास पनि भएको थियो । तर खेलाडीमै कोरोना संक्रमण देखिन थालेकाले अहिले त्यो प्रयास पनि रोकिएको छ ।

युरोपको सर्वोच्च फुटबल निकाय युईएफको बैठक मंगलबार आफ्ना ५५ वटै सदस्य राष्ट्रसंग छलफल गर्दैछ । सायद यो बैठकले युरो कप यो वर्ष हुने वा नहुने तय गर्नेछ ।

संक्रमणको आशंकामा स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो केही दिनदेखि क्वारेन्टाइनमा छन् । अर्का स्टार लिओनल मेसी पनि घरमै क्वारेन्टाइनमा बसेका छन् ।

इंग्ल्याण्ड, स्पेन, जर्मनी, इटली र फ्रान्सको लिग विश्वमै उत्कृष्ट लिग हो । यसलाई युरोपको टप फाइभ लिगमा राखिन्छ । इंग्ल्याण्डको प्रिमियर लिगसंगै एफए कप ईएफएल सबै स्थगित भएको छ । यस्तै स्पेनको ला लिगा, फ्रान्सको लिग वान र लिग टु, जर्मनीको बुण्डेसलिगा पनि रोकिएका छन् ।

यी पाँचवटै लिगमा विश्वका उत्कृष्ट क्लब र स्टार खेलाडी छन् ।

कोरोनाको कारण सबैभन्दा पहिले लिग स्थगित गर्ने भने इटली हो । उसले सबै खेलकुद गतिविधि अप्रिल ३ सम्मको लागि स्थगित गरेको छ ।

यसैगरी युरोपको प्रतिष्ठित क्लब फुटबल प्रतियोगिता युरोपियन च्याम्पियन्स लिग, युरोपको दोस्रो ठूलो प्रतियोगिता युरोपा लिगका अर्को साताका खेलहरु पनि स्थगित गरिएको छ ।

हरेक चार वर्षमा आयोजना हुने युरोकप यस पटक युरोपको १२ देशमा आयोजना गर्ने तय छ । तर कोरोना संक्रमणको त्रासका कारण युरो कप एक वर्ष पछि सर्ने सम्भावना छ । युरोपको सर्वोच्च फुटबल निकाय युईएफको बैठक मंगलबार आफ्ना ५५ वटै सदस्य राष्ट्रसंग छलफल गर्दैछ । सायद यो बैठकले युरो कप यो वर्ष हुने वा नहुने तय गर्नेछ ।

क्रिकेटमा पनि असर

विश्वकै चर्चित क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) पनि कोरोना त्रासको मारमा परेको छ । मार्च २९ देखि हुने तय भएको आईपीएलको १३ औं संस्करण दुई साता पछि सरेको छ । कोरोनाको कारण भारत सरकारले अप्रिल १५ सम्म विदेशीलाई भिसामा रोक लगाएको छ । आईपीएलमा विश्वभरका स्टार खेलाडी भेला हुन्छन् । त्यसैले भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले पनि आईपीएलसंग छलफल गरेर अब अप्रिल १५ देखि शुरु गर्नेगरी मिति सारेको छ । तर त्यो समयमा पनि कसरी गर्ने भन्ने अन्योल छ । दर्शकको सुरक्षा र स्वास्थ्यलाई ध्यानमा राख्दै टिभीमा मात्रै लाइभ गर्नेबारे समेत छलफल भएको छ ।

यही मार्च १४ देखि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा हुने तय भएको नेपालकै ठूलो खेलकुद प्रतियोगिता एभरेष्ट प्रिमियर लिग (ईपीएल) अनिश्चितकालका लागि स्थगित भएको छ । क्रिस गेलसहित विश्व क्रिकेटका हस्तीसमेत आउने पक्का भइसकेको ईपीएलमा अब तोकिएको अर्को मितिमा विदेशी खेलाडी आउने समय नमिल्न सक्‍छ ।

ठूला प्रतियोगिता मात्र होइन विभिन्न क्रिकेट सिरिजसमेत स्थगित भइसकेको छ । आगामी अप्रिलमा अमेरिकामा हुने तय भएको विश्वकप लिग २ अन्तर्गतको ट्राई सिरिज पनि अन्तर्राष्ट्रिय क्रिकेट काउन्‍सिल (आईसीसी) ले स्थगित गरेको छ । यस्तै इंग्ल्याण्ड र श्रीलंकाबीचको टेष्ट सिरिज पनि स्थगित भएको छ ।

भारत र दक्षिण अप्रिकाबीच खाली स्टेडियममा खेलाउने भनिएको एकदिवसीय अन्तर्राष्ट्रिय श्रृङ्खला (ओडिआई सिरिज) को बाँकी दुई खेल रद्ध भएको छ । पहिलो खेल वर्षाका कारण रद्ध भएको थियो । यस्तै अष्ट्रेलिया र न्यूजिल्याण्डबीचको चापेल हाड्ली सिरिजका बाँकी दुई खेल पनि रद्ध भएको छ । सिरिजको पहिलो खेल अष्ट्रेलियाले जितेको थियो । यसै महिनाको अन्तिममा यी दुई राष्ट्रबीच हुने भनिएको टी२० सिरिज पनि नहुने भएको छ ।

जापानी प्रधानमन्त्री आबेले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिले ओलम्पिक आयोजनाको अन्तिम निर्णय गर्नेसमेत बताएका छन् । ‘हामी संक्रमणको असरलाई टाढा राख्दै बिना समस्या योजनाअनुसार नै ओलम्पिकको आयोजना गर्नेछौं’ उनले भनेका छन् ।

उता पाकिस्तानमा भइरहेको पाकिस्तान सुपर लिग (पीएसएल) पनि कोरोना त्रासले प्रभावित बनेको छ । अन्तिमतिर रहेको पीएसएलका बाँकी खेल बन्द रंगशालमा खेलाउन थालिएको छ । तर विदेशी खेलाडीहरु भने लिग छाडेर आफ्नो देश फर्किएका छन् ।

पाकिस्तान क्रिकेट बोर्डले पनि लिगको तालिका हेरफेर गरेर प्लेअफको सट्टा सेमिफाइनल र फाइनल खेलाउँदै चाँडै सक्ने योजना बनाएको छ । पीएसएल फाइनल आगामी बुधबार हुनेछ ।

जापान भन्छ टोकियो ओलम्पिक योजना अनुसार नै हुन्छ

यस वर्ष हुन लागेको ठूलो खेलकुद मेला टोकियो ओलम्पिक हो । विश्व खेलकुदकै कुम्भ मेला मानिन्छ ओलम्पिकलाई । जहाँ एक होइन धेरै खेलहरु एकसाथ खेलाइन्छ । अब ओलम्पिक आउन १३१ दिन बाँकी छ अर्थात जुलाई २४ देखि ९ अगष्टसम्म ओलम्पिकको मिति छ ।

विश्वभर फैलिरहेको कोरोनाको संक्रमण अनि ओलम्पिक छनोट खेलसमेत स्थगित भइरहेको बेला ओलम्पिक हुन्छ कि हुँदैन भन्ने ठूलो बहसको विषय बनेको छ । ओलम्पिकको मुख्य आयोजक अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी र स्थानीय आयोजक जापानले अहिलेसम्म ओलम्पिक स्थगित गर्ने, सार्ने वा रद्ध गर्नेबारे केही बोलेका छैनन् । तर अन्य क्षेत्रबाट भने ओलम्पिक स्थगित गर्नुपर्ने  र सार्नुपर्ने धारणा आइरहेको छ । यसै बेला जापानका प्रधानमन्त्री सिन्जो आबेले टोकियो ओलम्पिक २०२० का खेल पूर्वनिर्धारित योजनाअनुसार हुने बताएका छन् ।

जापानी प्रधानमन्त्री आबेले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिले ओलम्पिक आयोजनाको अन्तिम निर्णय गर्नेसमेत बताएका छन् । ‘हामी संक्रमणको असरलाई टाढा राख्दै बिना समस्या योजनाअनुसार नै ओलम्पिकको आयोजना गर्नेछौं’ उनले भनेका छन् ।

कोरोनाकै कारण ओलम्पिक टर्च रिलेसमेत रद्ध भएको छ । मार्च १२ मा टर्च ग्रिसमा बालिएको थियो ।  तर टर्चको रिले रद्ध भएको हो । अब मार्च २६ मा टर्च रिले जापानको फुकुसिमाबाट शुरु हुने कार्यक्रम छ ।

ओलम्पिक आयोजक जापानमा सात सय भन्दा बढीमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

…..

फुटबल र क्रिकेट बाहेक विश्वमा अन्य खेलकुद गतिविधि पनि कोरोनाले प्रभावित बनेका छन् । भलिबल देखि फर्मुला वानसम्मको खेल कोरोना त्रासका कारण कतै स्थगित भएको छ भने कतै रद्ध भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment