Comments Add Comment

कोरोनाले डरायो निजी क्षेत्र, सहुलियत दिन सरकारसँग माग

२ चैत, काठमाडौं । कोरोना भाइरस महामारी बन्दै जादा विश्व अर्थतन्त्रमा ठूलो असर परिसकेको छ । त्यसको प्रभाव नेपालमा पनि परेको भन्दै उद्योगी-व्यवसायीहरु त्रसित भएका छन् ।

उद्योगी-व्यवसायीहरुले अर्थमन्त्री डा. युवराज खतिवडालाई कोरोनाका कारण उद्योग-व्यवसाय नै धराशासी हुन लागेको भन्दै ध्यानकर्षण गराएका छन् ।

आइतबार अर्थमन्त्री खतिवडालाई भेट्न सिंहदरबार पुगेका उद्योगी-व्यवसायीहरुले भाइरसका कारण अर्थतन्त्र खतरामा पर्ने देखिएको भन्दै निजी क्षेत्रलाई आवश्यक सुहिलयत दिनु पर्ने बताएका हुन् ।

बैठकमा नेपाल उद्योग वाणिज्य महासंघका तर्फबाट वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, नेपाल उद्योग परिसंघका अध्यक्ष सतिश मोर र नेपाल चेम्बर अफ कमर्शका तर्फबाट वरिष्ठ राजेन्द्र मल्ललगायतको सहभागिता थियो ।

बैठकमा सहभागी सबै उद्योगी-व्यवसायीहरुले कोरोना भाइरस नियन्त्रणमा नआउन्जेलसम्म सरकारले केही सहुलियत दिनु पर्ने धारणा रोखका थिए । ‘हामीले वहाँहरुको कुरा सुन्नका लागि बोलाएका हौं, वहाँहरुले आफ्ना समस्याहरु सुनाएर जानु भएको हो,’ अर्थमन्त्रालयका प्रवक्ता उत्तकुमार खत्रीले अनलाइनखबरसँग भने, ‘अब अहिले नै केही निर्णय गरिहाल्न सक्ने अवस्था छैन, हामी अझै छलफलकै क्रममा छौं ।’

उद्योगी-व्यवसायीहरुको समस्या समाधानका लागि अहिले नै सरकारले कुनै एक्सन लिइहाल्ने अवस्था भने नरहेको प्रवक्ता खत्रीले बताए । अहिले विशेष गरेर कसरी सतर्कता अपनाउने र अर्थतन्त्रमा यसको असर पर्न नदिने भन्ने विषयमा छलफल भएको उनले बताए ।

‘कोरोना भाइरसको कारण अर्थतन्त्रमा सकेसम्म कम असर होस् भन्ने हामीले चाहेका छौं, तर यो अवस्था कहिलेसम्म जान्छ भन्ने केही भन्न सकिने अवस्था छैन,’ उनले भने, ‘वहाँहरु (व्यवसायी) ले उठाएको विषयमा पनि हामी छलफल गर्नेछौं ।’

यहि अवस्था रहे वा थप समस्था थपिए बैंकको किस्ता पनि समयमा तिर्न नसकिने उद्योगी-व्यवसायीहरुले बताएका थिए । वरिष्ठ उपाध्यक्ष गोल्छाले बैंकको ब्याज र करमा सरकारले केही सोचिदिनु पर्ने अवस्था आएको बताएका थिए ।

चेम्बरका उपाध्यक्षले मल्ले नाका असहज हुँदा बस्तुहरु आयात नभएको र उपभोक्तामा झन त्रास भएको भन्दै नाका सहज बनाउन सरकारसँग आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment