Comments Add Comment

अब भ्रमण वर्ष होइन, भ्रमण दशक

२ चैत, काठमाडौं । कोरोना भाइरसको संक्रमण विश्वभर फैलिएपछि भ्रमण वर्ष २०२० लाई स्थगित गरेको सरकारले अब भ्रमण दशकको अवधारणा अघि सारेको छ ।

भ्रमण दशक २०२०–२०३० घोषणा गरी पर्यटन प्रवर्द्धनका कार्यक्रम अगाडि बढाइने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले जानकारी दिए । आइतबार मन्त्रालयमा सातै प्रदेशका पर्यटन मन्त्रीका साथै महानगरपालिकाका प्रमुखहरु भएको छलफलमा मन्त्री भट्टराईले भने, ‘भ्रमण वर्ष २०२० स्थगित भएका छन् । अब एक दशककै योजना बनाएर अगाडि बढ्छौं ।’

१ जनवरीमा धुमधामसहित उद्घाटन भएको नेपाल भ्रमण वर्षमार्फत वार्षिक २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य थियो । तर ३१ डिसेम्बरबाट चीनमा देखापरेको कोरोना भाइरसले विश्वव्यापी प्रभाव पारेपछि भ्रमण वर्ष प्रभावित भयो । सुरुमा प्रवर्द्धनात्मक कार्यक्रम स्थगित गरेको सरकारले अब भ्रमण वर्ष नै रोकेको छ ।

मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायका अनुसार कोरोनाको संक्रमण क्रमशः कम हुँदै जाँदा पुनः पर्यटनले गति लिने अपेक्षा गरिएको छ । त्यसबेला राष्ट्रिय गौरवका आयोजना सम्पन्न गर्ने, वार्षिक ३५ लाख पर्यटक भित्र्याउने र नेपालको कूल गार्हस्थ उत्पादनमा पर्यटनको योगदान १० प्रतिशत पुर्‍याउने १५ औं योजनालाई अगाडि बढाइनेछ ।

अब विधा र स्थलगत भ्रमण वर्ष सरकारले अब भ्रमण दशक २०२०–२०३० घोषणा गरी पर्यटन प्रवर्द्धनका कार्यक्रम अगाडि बढाउने भएको छ ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबाट यो अभियान औपचारिक रुपमा अगाडि बढाउने पर्यटन मन्त्रालयको तयारी छ । प्रदेश तथा स्थानीय तहका प्रतिनिधिसँग भएको छलफलमा दिइएको जानकारीअनुसार भ्रमण दशकमा विधागत तथा स्थान विशेषलाई लक्षित गरी भ्रमण वर्ष मनाइने छ । ‘अब लुम्बिनी भ्रमण वर्ष, खप्तड भ्रमण वर्ष हुनसक्छ,’ सहसचिव उपाध्यायले भने, ‘तर सरकारले एउटा वर्षलाई भ्रमण वर्ष घोषणा गर्दैन ।’

भ्रमण वर्ष सचिवालय र संयोजकको जिम्मेवारी के हुन्छ ?

भम्रण वर्ष अभियान रोकिए पनि भ्रमण वर्ष सचिवालय र संयोजकको जिम्मेवारीबारे नयाँ निर्णय भएको छैन । मन्त्रालयका अधिकारीहरुहरुकाअनुसार यो विषयमा मन्त्रिपरिषदबाटै निर्णय हुनेछ । भम्रण वर्ष सचिवालय सक्रिय बनाउने र संयोजक तोक्ने काम मन्त्रिपरिषद्ले गरेको हुँदा माथिल्लो तहबाटै यसले निकास पाउने मन्त्रालयका एक अधिकारीले बताए ।

सरकारले व्यवसायी सुरज वैद्यलाई भ्रमण वर्ष संयोजक तोकेको छ । र, सचिवालये चालु आवमा कूल ६३ करोड रुपैयाँ बजेट राखेर भ्रमण वर्षका गतिविधि अगाडि बढाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment