Comments Add Comment

ब्याजदर शून्यमा झार्ने अमेरिकी घोषणा

अर्बौंको आर्थिक सहायता कोष स्थापना

फेडका प्रमुख जेरोम पावेल ।

काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड-१९)सँग लड्न अमेरिकी केन्द्रीय बैंक फेडेरल रिजर्भ (फेड)ले आपतकालीन रुपमा ब्याजदर घटाउँदै करिब शून्यमा झारेको छ ।

साथै अर्थतन्त्रमा परेको असर न्यूनीकरणका लागि ७ खर्ब डलरको आर्थिक सहायता कोषको पनि घोषणा गरिएको छ ।
अमेरिकाको यो कदम बेलायत, जापान, यूरोक्षेत्र, क्यानडा र स्वीट्जरल्याण्डसँग गरिएको सहकार्यको एक भाग हो ।

फेडका प्रमुख जेरोम पावेलले महामारीले अमेरिकाको अर्थतन्त्रमा नकारात्मक असर कम गर्न यो योजना ल्याइएको बताए । उनकाअनुसार ब्याजदर शून्यदेखि ०.२५ को बीचमा राख्ने निर्णय भएको छ ।

यसअघि गत मार्च ३ मा पनि फेडले आपतकालीनरुपमा ब्याजदर शून्य दशमलव ५ प्रतिशत अंकले घटाउने निर्णय गरेको थियो । यो सन् २००८ वित्तीय संकटयता गरिएको पहिलो आपतकालीन ब्याजदर कटौतीको निर्णय थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेडको यो निर्णयले आफूलाई निकै खुसी बनाएको बताएका छन् ।

पछिल्लो समय कोरोना भाइरसको महामारी फैलिएसँगै शेयर बजार पनि उल्लेख्य मात्रामा घटेका छन् ।

आइतबारको घोषणासँगै फेडले अन्य मुलुकका केन्द्रीय बैंकसँग वाणिज्य बैंकहरुलाई डलरको उपलब्धता बढाउन सहकार्य गर्नेछ । विश्लेषकहरुले अमेरिकाको यो निर्णयले आर्थिक स्थायित्वको लागि सहयोग पुग्न सक्ने बताएका छन् ।

यसअघि पनि अमेरिकी संसद् र राष्ट्रपति कार्यालयले पनि आवश्यक मात्रामा कर कटौती नगरेको भन्दै फेडको आलोचना गर्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment