Comments Add Comment

कोरोनाको कारण बदलिएको फुटबलर सुजलको दैनिकी

विश्व कोरोनाको मारमा परेसँगै जापान २०२० का लागि तोकिएको ओलम्पिक सार्ने वा नसार्ने भन्ने अन्योलमा छ । युरोकप स्थगित गर्न इटलीले प्रस्ताव पेश गरिसकेको छ । इंग्ल्याण्ड र श्रीलंकाबीचको टेष्ट क्रिकेट स्थगित भइसकेको छ । कोरोनाकै कारण विदेशी खेलाडीले पाकिस्तानी सुपर लिग छाडेर हिँडेका छन् ।

कोरोनाको कारण क्रिकेट खेलाडी संघ (सिप्यान) क्रिकेट अवार्ड पनि स्थगित भएको छ । म्यानचेष्टर सिटी र आर्सनलबीचको खेल स्थगित भएको छ ।समग्रमा भन्दा विश्व खेलकुद यतिबेला फुसर्दिलो बनेको छ । सामूहिक अभ्यासको कार्यक्रमहरु स्थगितभएसँगै समग्रमा खेलाडीहरु समेत फुर्सदिला बनेका छन् ।

रंगशालाको व्यस्त दैनिकी बदलिएर अहिले पर्याप्त समय परिवारसँग समय दिन पाउँदा एकातर्फ खेलाडीहरु खुशी छन् भने अर्काे तर्फ आफ्नो बानी बिग्रनसक्ने चिन्ताले पनि उस्तै सताउने गरेको खेलाडीहरु बताउँछन् । यसै सन्दर्भमा कोरोना प्रकोपका कारण बदलिएको दैनिकी कसरी बित्ने गरेको छ ? भन्ने विषयमा फुटबल खेलाडी सुजल श्रेष्ठलाई अनलाइनखबरका लागि ८ प्रश्न सोधिएको थियो ।

कोरोनाका कारण धेरै खेलहरु स्थगित भएपछिको कसरी बित्दैछ दैनिकी ?

अहिले समग्र खेलकुद क्षेत्र आफैंमा सुनसान बनेको छ । नियमित अभ्यासमा भेटिने साथीहरु हिजोआज भेटिन छाडेका छन् । सबै घरतिर छन् । ट्रेनिङ गर्न जाने गरेको छैन । घर नजिकै आफ्नै व्यक्तिगत व्यायामशाला छ । त्यसैमा जाने गरेको छु । त्यो व्यक्तिगत भएकोले धेरै मान्छेको भीड हुँदैनन् ।

फुटबल खेलाडी भएर फुटबल खेल्न नपाउँदा कस्तो महसुस हुँदो रहेछ ?

छटपटी त हुँदो रहेछ । तर, यो कसैको लागि नभएर आफ्नै लागि नखेलेको हो भनेर चित्त बुझाउने गरेको छु । ‘अरुले खेल्न नदिएको त होइन नि’, भन्ने मनमा आउँछ । सोचाईं आएको भएपनि यताउती गइहालौं जस्तो पनि लाग्दैन । यो आफ्नो सुरक्षाको लागि राम्रै हुन्छ भन्ने लाग्छ ।

देश बाहिरको खेलकुद लिगहरु पनि रोकिएको छ । खेल हेर्न समेत नपाउँदा कस्तो लागिरहेको छ ?

आफूले खेल्न नपाएको भन्दा पनि खेल हेर्न नपाउँदा चाहिँ एकदमै छटपटी हुन्छ । हामी सधैंभरी खेलकुद नै हेर्ने हो । तर, त्यही पनि देख्न नपाउँदा हाइलाईट हेरेर बस्नु परेको छ । यसमा चाहिँ अलिक गाह्रो भइरहेको छ ।

खेलाडीको लागि फिटनेस ट्रेनिङ महत्वपूर्ण हुन्छ । अहिले त फिटनेस पनि बन्द छ । कसरी व्यवस्थापन गर्दै हुनुहुन्छ आफ्नो शरीरलाई ?

आफ्नै घरमा जिम छ । त्यही जिम जाने बाहेक अरु अभ्यास त गरेको छैन । फुटबलरलाई चाहिने सबै अभ्यास त्यसैमा हुन्छ । मात्रै बल हान्न चाहिँ पाएको छैन । बल हान्नको लागि त धेरै ठाउँ नै चाहिने भयो । घरमै जतापायो उतै बल हानौं भने कहाँ गएर सिसा फुट्ने हो पत्तो हुँदैन ।

विश्वकप क्वालिफायर रोकिएको छ । खेल कहिले हुन्छ थाहा छैन । यसले कत्तिको असर गर्छ जस्तो लाग्छ ?

यो चाहिँ चिन्ताको विषय हो । कोरोनाको त्रास कहिलेसम्म हुने हो थाहा छैन । त्यो बेलासम्म हामीहरुको अभ्यास पनि कम भइसकेको हुन्छ । एएफसीले अर्काे सेडयुल निकाल्दा कम्तिमा डेढ वा दुई महिना पछिको लागि सेड्युल निकालिदिए राम्रो हुन्छ जस्तो लाग्छ ।

कति समयसम्म हामीले यसरी बस्नु पर्ने हो थाहा छैन । यस्तो अवस्थामा हामीलाई पनि केही समय तयारी गर्नको लागि समय मिल्थ्यो । त्यसैले पनि नयाँ तालिका निकाल्दा केही समय अभ्यास गर्ने समय सहित निकालिदिए हुन्थ्यो जस्तो लाग्छ ।

बिहानदेखि बेलुकासम्मको दैनिकी कसरी बित्ने गरेको छ अहिले ?

पहिले साढे ६ बजे उठिन्थ्यो । ब्रेकफास्ट लिएर अभ्यासको लागि जाने गरिन्थ्यो । तर, अहिले दैनिकी बदलिएको छ । अहिले त ९ बजेसम्म पनि उठ्दिन कहिले त । ९ बजे उठ्यो ब्रेकफस्ट खायो । ट्रेनिङ गयो, फर्किएर खाना खायो, दिनभरी टिभी हेरेर बस्ने बनेको छ दैनिकी ।

फेरि साँझ परिवारसँग केहीबेर बाहिर कतै टहलिएर साँझ बित्ने गर्छ । रातको खाना पनि छिट्टै खाएर सुत्ने गरेका छौं । समग्रमा भन्दा त खेलहरु नभएपछि धेरै अल्छी भइएको छ ।

परिवारसँग कसरी बिताइरहनु भएको छ ?

अहिले परिवारसँग धेरै समय बिताउने मौका मिलेको छ । पहिले बिहान साढे ६ बजे उठेदेखि साँझसम्म सधैं अभ्यास र खेलको लागि भनेर बाहिर जाँदा परिवारलाई धेरै समय दिन पाइएको थिएन । तर, अहिले धेरैभन्दा धेरै समय परिवारको लागि दिन सकिएको छ ।

कोरोनाबाट बच्नको लागि कस्तो सजगता अपनाउँदै हुनुहुन्छ ?

कोरोना यो विश्वभरी नै त्रसित बनाइरहेको समस्यालाई हामीले पनि कमजोर सम्झिने कुरा त भएन . नेपालमा नभित्रिएको भएपनि यसबारेमा चिन्ता धेरै लाग्छ । मनमा हल्का डर पनि छ । त्यसैले धेरै सचेत भएर हिँड्ने गरेको छु ।

अनावश्यक बाहिर निस्कन बन्द गरेको छु । साथीहरुसँगको भेटघाटलाई कम गरेको छु । बाहिरबाट आएपछि राम्रोसँग हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने गरेको छु । जे होस् कोरोनाको सम्भावित जोखिमबाट बच्नको लागि सक्दो उपायहरु अपनाउँदै गएको छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment