Comments Add Comment

कसरी अमेरिका–चीनको रणभूमि बन्दैछ कोरोना भाइरस ?

३ चैत, काठमाडौं । अहिले प्राणघातक कोरोना भाइरस कोभिड–१९ को महामारी विश्वभर फैलिँदै गएको छ । अहिलेसम्म छ हजारभन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन् भने विश्व यही स्वास्थ्य संकटसँग जुधिरहेको छ ।

तर अमेरिका र चीनले भने यहाँ पनि शक्ति संघर्षलाई छाडेका छैनन् । यसअघि व्यापार र वित्तीय प्रणाली, जलवायु परिवर्तनलाई शक्ति संघर्षको विषय बनाएका दुई देशले कोरोना भाइरसको विषयलाई लिएर एकअर्कालाई होच्याउने र आक्रमण गर्ने क्रम चलिरहेको छ ।

दुबै देशले एक अर्काविरुद्ध हल्ला फैलाउने र नकारात्मक सन्देश प्रवाह गर्ने काम पनि गरिरहेका छन् ।

२०१९ डिसेम्बरको अन्तिममा कोरोना भाइरस देखा पर्नुपूर्व चीन र अमेरिकाबीच व्यापार युद्ध चलिरहेको थियो । दक्षिण चीन सागर, ताइवान, सिन्चियाङ, हङकङ र हुवाईजस्ता विषयमा पनि विवाद छँदै थियो । त्यस्तो बेला कोरोना भाइरस सम्बन्ध सुधार गर्ने एउटा अवसर थियो । तर सम्बन्ध सुधारको दुर्लभ अवसरलाई स्वीकार गर्ने पक्षमा दुवै मुलुक इच्छुक नदेखिएको अमेरिकी मामिलाका पूर्वचिनियाँ कूटनीतिक अधिकारी एन गाङ बताउँछन् ।

उनका अनुसार यो अवसर खेर फालेमा अमेरिका–चीनको सम्बन्ध थप जोखिमपूर्ण असमझदारीमा प्रवेश गर्नेछ र दुबै मुलुकको भ्रमण र सांस्कृतिक सम्बन्धमा पनि प्रतिबन्ध लाग्न सक्छ ।

गाङकाअनुसार अमेरिका र चीनले सधैं सबैभन्दा खराब विकल्प छान्ने गरेका छन् । त्यसैले अहिलेको निर्णय पनि कुनै अनौठो होइन ।

कोरोना भाइरस प्रकरणमा पनि चीनले वुहान सहरलाई लक डाउन गरेसँगै दुई मुलुकको अविश्वास पैदा भएको थियो । वुहान लकडाउन गरेको एक साताभित्र अमेरिकासहित ६० मुलुकले चीन भ्रमणमा प्रतिबन्ध लगाए भने दुई दर्जनभन्दा बढी मुलुकले आफ्ना नागरिकलाई त्यहाँबाट उद्धार गरे । तर अमेरिकाले बढी नौटंकी देखाएको भन्दै चीनले आलोचना ग¥यो । यो दुवै मुलुकका लागि खराब उदाहरण रहेको गाङ बताउँछन् ।

चिनियाँ विदेश मन्त्रालय र कूटनीतिज्ञले अमेरिकालाई होच्याउने र आलोचना गर्ने कुनै मौका छाड्दैनन् ।

चिनियाँ विदेशमन्त्री वाङ यीले त्यसलाई दोहोर्‍याए । उनले अमेरिकी कदमले अनावश्यक त्रास फैलिएको बताए । चिनियाँ कूटनीतिज्ञका अनुसार अन्य मुलुकले भाइरसको प्रकोपपछि चीनलाई सहयोग गर्न तत्परता देखाए तर अमेरिकाले भने चीनमाथि दबाव दिइरह्यो ।

जबकी अहिलेसम्म अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि प्रत्यक्ष रुपमा कुनै औंला उठाएका छैनन् । बरु उनले डेटा शेयरिङमा चीनको प्रशंसा गरेका छन् । तर अन्य शीर्ष अधिकारीले चीनमाथि यो भाइरसको महामारी फैलाएको आरोप लगाउँदै आएका छन् ।

पछिल्लो साता अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले कोभिड–१९ लाई ‘वुहान भाइरस’ भनेर व्याख्या गरे । त्यसको जवाफमा चिनियाँ विदेश मन्त्रालयका एक शीर्ष अधिकारीले सामाजिक सञ्जालमार्फत यो भाइरस अमेरिकी सेनाको माध्यमबाट वुहानमा आएको बताएका थिए ।

यसले दुई मुलुकको सम्बन्ध थप चिसो बन्न पुग्यो ।

अमेरिकी विदेश मन्त्रालयले चिनियाँ दूत कुई टियानकाइलाई बोलाएर ध्यानाकर्षण गराएको छ ।

यस्तो घटनाले दुई मुलुकबीच कस्तो सम्बन्ध छ भन्ने देखाउँछ ।

अक्सफोर्ड यूनिभर्सिटीका जर्ज माग्नुस कोरोना भाइरसको कारण अमेरिका र चीनको सम्बन्धमा केही सुधार आउनु राम्रो हुने भए पनि यो व्यवहारमा देखिन नसक्ने बताउँछन् । केही चिनियाँ अधिकारी भने अझै पनि खोप विकास र अन्य विषयमा अमेरिकासँग सहकार्य हुन सक्ने बताउँछन् ।

किनकी दुबै मुलुकमा यो भाइरसले ठूलो क्षति पुर्‍याएको छ । साथै विश्वव्यापी सहकार्य विना कुनै पनि विश्वव्यापी संकट समाधान हुने सम्भावना नरहेको एन गाङ बताउँछन् ।

उनका अनुसार अहिले अमेरिका कोभिड–१९ को संकटको मध्यमा छ र चीनले सहकार्यको शुरुवात गर्नुपर्छ । यसले विश्वस्तरमा उसको छवि सुधार्ने अवसरसमेत चीनलाई दिनेछ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment