Comments Add Comment

सार्कमा कोरोना : कुन देशमा कस्तो अवस्था ?

३ चैत, काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरस कोभिड–१९ को असर सार्कका मुलुकमा पनि देखिएको छ ।

तर युरोपमा जस्तो संक्रमण फैलिएको छैन ।

सार्कमा समग्रमा अहिलेसम्म २८९ जनामा यो भाइरसको संक्रमण देखिँदा २ जनाको ज्यान यो भाइरसको कारण गएको छ । ज्यान गुमाउने सबै भारतका छन् ।

सार्कको सबैभन्दा प्रभावित मुलुक भारत हो । भारतमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १२९ पुगिसकेको छ । २ जनाको ज्यान गएको छ ।

संक्रमण फैलिन नदिन भारतले पर्यटक भिसा तत्कालका लागि निलम्बन गर्ने निर्णय गरेको छ ।

पाकिस्तानमा पनि ९४ जनामा संक्रमण देखिएको छ । तर अहिलेसम्म कसैको ज्यान गएको छैन । पाकिस्तानले अफगानिस्तान र इरानसँगको सीमानाका बन्द गरेको छ भने अप्रिल ५ सम्मका लागि सम्पूर्ण शैक्षिक संस्था बन्द गर्ने र भीडभाड हुने कार्यक्रम गर्न रोक लगाएको छ । उसले चेकजाँच पनि प्रभावकारी ढंगमा बढाउँदै लगेको छ ।

श्रीलंकामा अहिलेसम्म २२ जनामा संक्रमण देखिएको छ । कोरोनाको संक्रमण देखिएसँगै पर्यटक आगमनमा कडाइ गरेको छ र, बेलायतबाट आउने पर्यटकमाथि प्रतिबन्ध लगाएको छ ।

अफगानिस्तानमा अहिलेसम्म २१ जनामा संक्रमण देखिएको छ । तर मुलुकमा बढ्दो राजनीतिक अस्थिरताको कारण कोरोना भाइरस नियन्त्रणको लागि आवश्यक कदम नचालेको भन्दै पाकिस्तानलगायतका छिमेकी मुलुकले अफगानिस्तानको आलोचना गर्दै आएका छन् ।

अफगानिस्तानमा उल्लेख्य मात्रामा कोरोना भाइरसको संक्रमण रहेको हुनसक्ने भएपनि चेकजाँच नगरेका कारण बाहिर नआएको दाबी गर्दै पाकिस्तानी सञ्चार माध्यमहरुमा समाचार आउने गरेका छन् । इरानबाट पनि दैनिक उल्लेख्य संख्यामा मानिस आउजाउ गर्ने भएकाले अफगानिस्तान कोरोना भाइरसको उच्च जोखिममा रहेको बताइएको छ ।

अर्को सार्क मुलक माल्दिभ्समा १३ जनामा संक्रमण देखिएको छ । माल्दिभ्सले पनि मुलुकमा भाइरसको प्रकोप रोक्न चीन, इरान, इटाली, दक्षिण कोरिया र बंगलादेशबाट मानिसहरु आउन रोक लगाएको छ । उसले चार क्वारेन्टाइन रिसोर्ट पनि घोषणा गरेको छ ।

बंगलादेशमा पनि भाइरसका संक्रमित ८ जना पुगेका छन् । कोरोना भाइरसको महामारीबाट बच्न भारत र बेलायत बाहेकका यूरोपेली मुलुकबाट पर्यटक आउन रोक लगाएको छ ।

भुटानमा एकजनामा यसको प्रकोप देखिएको छ । आफ्नो मुलकमा आएका पर्यटकमा कोरोना संक्रमण भएको पुष्टि हुनासाथ उसले संक्रमित व्यक्तिसँग सम्पर्कमा आएका सबैको पहिचान गरेर परीक्षण गराएको छ भने पर्यटक आगमनमा रोक लगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment