Comments Add Comment

कोरोना भाइरसले डिभोर्सका घटनामा वृद्धि !

विश्वभर आतंक फैलाइरहेको कोरोना भाइरसले झण्डै ६ हजार जनाको ज्यान लिइसकेको छ । झण्डै पौने दुई लाख मानिस यसबाट संक्रमित भइसकेका छन् । विश्वको अर्थतन्त्र, आवागमन तथा जनजीवन तहसनहस बनिरहेको छ । कोरोना भाइरसले केवल आर्थिक सामाजिक असर मात्र होइन, केही गम्भीर पारिवारिक असर पनि पार्न थालेको छ । अर्थात् कोरोना भाइरसका कारण दम्पतीहरूमा सम्बन्धविच्छेदका घटना पनि बढ्न थालेका छन् ।

मिडिया रिपोर्टहरूका अनुसार, हप्तौंसम्मको कोरोना भाइरसको आतंकका कारण कोरोनाको उद्गम मुलुक चीनमा मानिसहरू घरभित्रै बन्दी बनिरहँदा पारिवारिक कलहका घटनामा वृद्धि भएको हो । कोरोना भाइरसको महामारीको अन्त्यको घोषणासँगै चीनमा जनजीवन सामान्य हुँदै जाँदा डिभोर्सका घटना भने बढेका छन् ।

समाचार अनुसार, चीनको शिचुआन प्रान्तमा १ महिनाभित्रमा ३ सयभन्दा धेरै दम्पतीले डिभोर्सका लागि निवेदन दिएका छन् । कोरोनाका कारण कार्यालयहरू बन्द भई कामकाजी दम्पतीहरू लामो समयसम्म घरभित्र बस्नुपर्दा एक अर्कासँग आवश्यकताभन्दा धेरै समय बिताउन पाएको र त्यसले गर्दा लोग्ने स्वास्नीबीचमा झगडा उत्पन्न भएको बताइएको छ । जसका कारण दम्पतीहरू डिभोर्सको निर्णयमा पुग्न थालेका छन् ।

चीनको डाझोउ इलाकाको विवाह दर्ता कार्यालयले कोरोना भाइरसको प्रकोपपछाडिको समयमा सम्बन्धविच्छेदका निवेदनमा वृद्धि भएको पुष्टि गरेको छ ।
तर कतिपयले चाहिँ कोरोना भाइरसका कारण करिब एक महिनासम्म कार्यालय बन्द भएर अहिले बल्ल खुलेको हुँदा निवेदनको संख्या धेरै देखिएको हुनसक्ने बताएका छन् ।

उता, इटालीमा चाहिँ कोरोना भाइरसको प्रकोपले गाँजिरहेको बेला मानिसहरू घरभित्रै बन्द छन् । त्यहाँ इन्टरनेटको प्रयोगमा ७० प्रतिशतले वृद्धि भएको बताइएको छ । घरभित्र बस्नुपर्दा मानिसहरूमा कुण्ठा नबढोस् र मनोरञ्जन प्राप्त गर्न सकून् भनेर इटालीमा कतिपय पोर्न साइटहरूले निःशुल्क रूपमा पोर्न सामग्रीहरू उपलब्ध गराउन थालेका छन् ।
एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment