Comments Add Comment

मन्त्रीले नै बुझाइन् मन्त्रीलाई ज्ञापनपत्र

४ चैत, काठमाडौं । खानेपानी मन्त्री बिना मगरले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्याललाई ज्ञापनपत्र बुझाएकी छन् । नेपाल भारतबीच सीमा समस्या समाधान गर्न माग गर्दै मन्त्री मगर नेतृत्वको टोलीले मंगलबार ज्ञापनपत्र बुझाएको हो ।

मन्त्री मगरको अगुवाइमा कञ्चनपुरका स्थानीय तह र त्यहाँका संघीय संसदका जनप्रतिनिधिहरुले ६ बुँदे ज्ञापनपत्रमा नेपालको भूमि भारततर्फ पर्ने गरी बनाइएको स्ट्रिप नक्सा तुरुन्त पुनरावलोकन गर्नुपर्ने माग गरिएको छ ।

यस्तै, सुगौली सन्धिपछि स्थापना गरिएका जंगे पिलरलाई अन्तर्राष्ट्रिय सीमा रेखाङ्कनको मुख्य आधार बनाउनुपर्ने, भत्किएका र गायब भएका पिल्लरहरूलाई पुरानै ठाउँको खोजी गरी तत्काल पुर्नस्थापना गरिनुपर्ने र नेपाली नागरिकहरूको भोगचलनमा भएको अतिक्रमित जमिन फिर्ता गरिनुका साथै सीमा रेखाङ्कनबाट प्रभावित हुने जनताको आवश्यक व्यवस्थापन गर्नुपर्ने लगायतका माग राखेका थिए ।

ज्ञापनपत्र बुझ्दै मन्त्री अर्यालले नेपाल र भारतबीच भएको सीमा रेखाङ्कन सम्बन्धी विवादलाई राजनीतिक नेतृत्वबाट हल गर्नुपर्ने बताइन् । उनी भन्छिन्, ‘दुवै देशबीच भएको नक्साङ्कन सम्बन्धी कार्य कर्मचारीले मात्रै गरेर हुँदैन ।’

नेपाल भारतबीच देखिएको सीमा विवादले कञ्चनपुरबासीलाई समस्या परेको भन्दै कुटनीतिक संवाद मार्फत पहल थालिनुपर्ने मन्त्री मगरको भनाइ छ ।

नेपाल भारत संयुक्त सीमा सर्भे टोलीले रेखाङ्कन गर्दा मुख्य सीमा स्तम्भलाई आधार नबनाएकाले विवाद उत्पन्न भएको कञ्चनपुरबासीको भनाइ छ । उनीहरूका अनुसार स्ट्रिप नक्साले कञ्चनपुरका विभिन्न स्थानमा ऐतिहासिक कालदेखि नेपाली भूभाग कायम भएको सयौं हेक्टर जमीन भारततर्फ पारिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment