Comments Add Comment

एसईई परीक्षाको तयारी पूरा, परीक्षा केन्द्रमा सहायता कक्ष राखिने

५ चैत, भक्तपुर । माध्यमिक शिक्षा परीक्षा (एसईई)को सम्पूर्ण तयारी पूरा भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले बिहीबारदेखि सुरु भइ १७ गतेसम्म सञ्चालन हुने परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।

यस वर्षको एसईई परीक्षामा कूल चार लाख ८२ हजार ७०७ विद्यार्थी सहभागी हुने र परीक्षाका लागि देशभर एक हजार ९९५ परीक्षा केन्द्र निर्धारण गरिएको परीक्षा नियन्त्रक रामराज खकुरेलले जानकारी दिए । परीक्षामा प्राविधिक धारतर्फ नौ हजार ५०९ परीक्षार्थी सहभागी हुने भएका छन् ।

त्यस्तै कूल परीक्षार्थीमा ग्रेड वृद्धितर्फ १६ हजार २४२ र प्राविधिकतर्फ १३९ परीक्षार्थी सहभागी हुनेछन् । सबैभन्दा धेरै परीक्षार्थी वाग्मतीबाट एक लाख तीन हजार ६६७ र थोरै कर्णाली प्रदेशबाट ३६ हजार ४३६ सहभागी हुने बोर्डले जनाएको छ ।

परीक्षा नियन्त्रक खकुरेलले कूल ८६ वटा विषयमा हुने परीक्षामा करिब ५१ लाख सेट प्रश्नपत्र छपाइ गरी जिल्ला-जिल्ला पठाइएको जानकारी दिए ।

परीक्षामा करिब ६५ हजार जनशक्ति परिचालन गरिने भएको छ । प्रत्येक परीक्षा केन्द्रमा एक केन्द्राध्यक्ष, दुई सहायक केन्द्राध्यक्ष, २० विद्यार्थी बराबर एक निरीक्षक, १०० विद्यार्थी बराबर एक परीक्षा सहायक, ५० विद्यार्थी बराबर एक परिचारक खटाइएको छ । प्रत्येक परीक्षा केन्द्रमा १६ जनाका दरले सुरक्षाकर्मी खटाइने भएको छ ।

चैत ६ गते बिहान ८ बजेदेखि देशभरका सबै परीक्षा केन्द्रमा एकैसाथ सुरु हुने परीक्षाका लागि आवश्यक प्रश्न सबै जिल्लाको परीक्षा केन्द्रको नजिक रहेको सुरक्षा निकायमा पुर्‍यायाइएको छ ।

परीक्षा नियन्त्रक खकुरेलका अनुसार परीक्षा केन्द्रमा असम्बन्धित व्यक्तिलाई भिडभाड गर्न बन्देज लगाएको जानकारी दिँदै एउटा परीक्षा केन्द्रमा बढीमा ३०० र एउटा कक्षा कोठामा २०-३० परीक्षार्थी राख्ने व्यवस्था गरिएको छ ।

कसैले परीक्षाको मर्यादा भङ्ग गर्ने वा बिथोल्ने काम गरे कानूनअनुसार छ महिना कैद वा रु एक लाख जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था गरिएको छ ।

कोरोनालाई ध्यानमा राखी परीक्षा केन्द्रमा सहायता कक्ष

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विश्वभरि महामारीका रुपमा फैलिएको कोरोना भाइरसको त्रासलाई ध्यानमा राख्दै सरकारले परीक्षा केन्द्र व्यवस्थापन गरेको जानकारी दिए ।

परीक्षार्थीलाई त्रासरहित वातावरणमा परीक्षा सञ्चालन गर्न सरकारले सबै तयारी पूरा गरेको बताउँदै बालबालिकाको स्वास्थ्य सुरक्षाबारे सरकारले निकै सतर्कता अपनाएको बताए ।

परीक्षाका समयमा विद्यार्थीमा कोरोना भाइरसको सङ्क्रमण नफैलियोस् भनेर शिक्षा विज्ञान तथा प्रविधि र स्वास्थ्य मन्त्रालय एवं स्थानीय तहको समन्वयमा सहायता कक्ष ‘हेल्थ डेस्क’ स्थापना गरिने भएको छ ।

परीक्षा केन्द्रहरूमा परीक्षा अवधिभर हेल्थ डेक्स राख्ने व्यवस्था मिलाउन सात सय ५३ वटै स्थानीय तहलाई शिक्षा मन्त्रालयले अनुरोध गरेको छ ।

कोरोना सङ्क्रमण रोकथाम गर्न र एसईई परीक्षालाई मनोवैज्ञानिक एवं त्रासमुक्त वातावरण बनाइएको जनाएको छ । परीक्षा हलभित्र जानुअघि परीक्षार्थी, कर्मचारी, सुरक्षाकर्मी, अनुगमनकर्तालगायत परीक्षामा संलग्न सबैको तापक्रम जाँच गरिने भएको छ भने परीक्षाका क्रममा कुनै विद्यार्थीमा ज्वरो आएको पाइएमा अस्पताल लगेर उपचारको व्यवस्थासमेत हेल्थ डेस्कले गर्ने व्यवस्था मिलाइएको छ ।

शिक्षामन्त्री पोखरेलले हिजो सार्वजनिक अपिल जारी गर्दै कोभिड-१९ को सङ्क्रमणको जोखिमप्रति सचेत हुन आग्रह गरेका छन् । परीक्षाका लागि पर्याप्त सावधानीको प्रबन्ध गरिएकाले त्रसित र भयभित नुहुन परीक्षार्थीलाई मन्त्री पोखरेलले आग्रह गरे ।

उनले सङ्क्रमणको रोकथाम गर्नुपर्ने र परीक्षालाई मनोवैज्ञानिक एवम् त्रासमुक्त वातावरणमा सम्पन्न गर्नुपर्ने भएकाले विद्यार्थीलाई व्यक्तिगत सरसफाइमा ध्यान दिन, माक्सको प्रयोग गर्न, अरूसँग हात नमिलाउन, सकभर भिडभाडमा नजान पुनः स्मरण गराएका छन् ।

यो पनि पढ्नुहोस एसईई परीक्षा नरोकिने, अरु परीक्षा र भर्ना नलिन सरकारको अपील

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment