Comments Add Comment

तीन नायिकाको बिहेमाथि समाजशास्त्रीय बहस

उपभोक्तावादी संस्कृतिको असर : सुरेश ढकाल

५ चैत, काठमाडौं । तीन महिनाजतिको अन्तरालमा नेपाली चलचित्रका तीन चर्चित नायिकाहरु वैवाहिक जीवनमा बाँधिए । नायिका ऋचा शर्माको गत मंसिर २१ गते र प्रियंका कार्कीको गत फागुन १५ गते विवाह भएको हो भने आँचल शर्माको विवाह गत बिहीबार ।

विवाह कुनै पनि व्यक्तिको निजी विषय हो । तर, सेलिब्रिटीहरुको विवाहमा चाहिँ आममानिसको चासो हुने भएकाले समाचारको विषय बन्छ । कतिपय सेलिबि्रटीहरुले मिडियाबाट लुकाएर गोप्य र सानो जमघटमा बिहे गर्छन् । कोही चाहिँ ठूलै तुजुक देखाएर मिडियामा छाउन खोज्छन् ।

अहिले बिहे गरेका तीन नायिकाहरुले दोस्रो शैली पछ्याए । उनीहरुबीच एक हिसाबले भड्किलो विवाहको प्रतिस्पर्धा नै भयो र कोभन्दा को कमको शैलीमा उत्रिए ।

विवाह कसरी गर्ने भन्ने कुनै सर्वमान्य सिद्दान्त हुँदैन । देश र भेषअनुसार यसका आ-आफ्ना रिति-थिति हुन्छन् । नेपालीहरुको पनि आफ्नो संस्कार र परम्परा छ । नेपालभित्रै पनि जात र भुगोलका आधारमा भिन्न प्रचलनहरु विद्यमान छन् । कतिले यही प्रचलनलाई संक्षेपिकरण गरेर केही मिनेटमै विवाह सिध्याउँछन् । कतिले यसैलाई लम्ब्याएर महिनौंसम्म उत्सव मनाउँछन् । कस्तो विवाह गर्ने भन्ने कुरा व्यक्तिको सोच र आर्थिक हैसियतले निर्धारण गर्छ । खर्चिलो विवाह वा गर्ने-नगर्ने नितान्त व्यक्तिगत छनोट र स्वतन्त्रताको कुरा हो ।

अरुलाई जस्तै नायिकाहरुलाई पनि आफ्नो विवाह भव्य बनाउने रहर हुन सक्छ । तैपनि कलाकारहरुले के कुरा भुल्नु हुँदैन भने उनीहरुलाई देशका लाखौं जनताले हेरिरहेका हुन्छन् । उनीहरुको सिको गर्न खोज्नेहरु उत्तिकै हुन्छन् । त्यसकारण कलाकारहरुले विवाहमा अनावश्यक आडम्बर देखाउँदा समाजमा त्यसको राम्रो सन्देश जाँदैन । अत्यधिक भड्किलो र खर्चिलो विवाहलाई नेपालको कानूनले पनि वर्जित गरेको छ ।

नायिका आँचल शर्माको लेहेंगाको अहिले सामाजिक सञ्जालमा निकै चर्चा भइरहेको छ । उनले आफ्नो विवाहपछिको पार्टीमा लगाएको लेहेंगा १६ लाख रुपैयाँमा डिजाइन गरेको बताएकी छिन् । होला । यसको वजन १६ किलोको थियो रे ! होला । बिहे पार्टीमा ६० लाखको हिराको गहना लगाएको समाचारमा आएको छ । त्यो पनि होला ।

तर, यति धेरै गहना र गह्रुंगो लेहेंगा लगाएर उनले के सावित् गर्न खोजेकी हुन् त ? आफ्नो आर्थिक हैसियत कि श्रीमानको ? कि फगत चर्चाको लोभ ?

आँचलले १६ हजारको साडी लगाएको भए पनि सम्भवतः उत्तिकै सुन्दर देखिने थिइन् । बाँकी १५ लाख ८४ हजार रुपैयाँ कुनै सत्कर्मका लागि योगदान दिएको भए समाजमा उनको सकारात्मक चर्चा हुन सक्थ्यो । अनावश्यक आडम्बर देखाएको भनेर टीकाटिप्पणी हुने थिएन ।

खैर, यो पनि उनको व्यक्तिगत च्वाइसको कुरा भयो । हेलिकोप्टरमा चढेर पार्टीस्थलमा पुग्नु पनि व्यक्तिगत रहरको कुरा नै भयो । गहना र लेहेंगामा ७६ लाख खर्च गरेको बताउने आँचलले बिहेमा कति खर्च गरिन् भन्ने हिसाब गर्नतिर पनि नलागौं ।

बरु अलि गम्भीर मुद्दातर्फ जाउँ । त्यो हो, यी नायिकाहरुको विवाहमा देखिएको सांस्कृतिक विसंगति । तीनै नायिकालेे परम्परागत तवरबाट विवाह गरे । तर, उनीहरुको वैवाहिक प्रक्रियामा विदेशी संस्कृतिको चर्को प्रभाव देखियो । विवाहपूर्व ब्याचलरेट पार्टीदेखि मेहेन्दी समारोह, संगीत समारोह हुँदै रिसेप्सन पार्टीसम्म हेर्दा नायिकात्रयमा विदेशी पहिरन र संस्कारको मोह नराम्ररी उजागर भएको छ ।

प्रियंकाले एउटा रक्सी कम्पनीको प्रायोजनमा थाइल्यान्डमा पुगेर ब्याचलरेट पार्टी मनाइन् । थाइल्यान्डमा आफ्ना केही साथीहरुसँग खिचाएका अर्द्धनग्न तस्वीर र भिडियोहरु आफैंले सामाजिक सञ्जालमा प्रचार-प्रसार गरिन् । जब कि दुनियाँलाई थाहा छ, उनी ‘ब्याचलर’ नभएर एक डिभोर्सी महिला हुन् ।

ब्याचलर पार्टी वा ब्याचलरेट पार्टी पश्चिमा संस्कृति हो । विवाह अगाडि केटा वा केटी आफ्ना निकट साथीहरुसँग स्वच्छन्द तरिकाले रमाइलो गर्ने यो परम्परालाई ऋचा शर्मा र आँचल शर्माले पनि पछ्याए । तथापि, प्रियंकाको जस्तो उनीहरुका अर्द्धनग्न तस्वीरहरु बाहिर आएनन् ।

विवाह अगाडि मेहेन्दी समारोह र संगीत समारोहको संस्कार सतप्रतिशत भारतीय हो । भारतीय टीभी च्यानले र फिल्मको प्रभावले गर्दा यी प्रचलन नेपाली समाजमा तीव्र प्रसार भइरहेका छन् । मेहन्दी समारोह त शहरमा अनिवार्य जस्तै भइसक्यो । संगीत समारोह चाहिँ त्यति प्रचलनमा आइसकेको छैन । अब नायिकाहरुले सुरु गरेपछि त्यसको सिको त अरुले गर्ने नै छन् ।

विदेशी सस्कृति सुरुमा सहरी क्षेत्रका सम्भ्रान्तहरुबाट प्रवेश हुन्छ अनि विस्तारै मध्यमवर्ग भएर गाउँसम्म पुग्छ । सेलिबि्रटीहरु प्रयोग हुँदा त यो झन् फास्ट ट्र्याकमा फैलिन्छ । यो एउटा बजार र व्यापारसँग जोडिएको विषय पनि हो । किनकि संस्कृतिसँगै त्यसका लागि आवश्यक वस्तुहरुको आयात र खरिद गर्नुपर्ने हुन्छ । जस्तो कि, आँचल शर्माले लगाएको लहेंगा भारतीय पहिरन हो र उनले यो भारतमै डिजाइन गराएकी हुन् । अर्थात् उनको एउटा वस्त्रका लागि १६ लाख रुपैयाँ नेपाली पैसा विदेशिएको छ ।

तपाईंले प्रियंका र आयुष्मान देशराजको विवाहका तस्वीरहरु हेर्नुभएको होला । दुबैले विवाहमा भारतीय पोशाक लगाए । राजस्थानी पोशाक लगाएका आयुष्मानले टाउकोमा पगरी पनि भिरेका थिए । जबकि उ नी काठमाडौंका नेवार हुन् । यता प्रियंकाको पहिरन, श्रृंगार, मेकअप सबै भारतीय शैलीका थिए ।

आफ्ना मावलीतर्फका पूर्खा भारतीय भएकाले भारतीय शैलीमा विवाह गरेको तर्क उनीहरुले गरेका छन् । तर, दुलाहा र दुलही दुवै नेपाली भएको अवस्थामा मावली पूर्खा खोज्दै भारतीय संस्कार अवलम्वन गरियो ।

कलाकार भनेका कुनै पनि देशको पहिचान र संस्कृतिलाई विश्वमाझ फैलाउने दूत पनि हुन् । नेपाली कलाकारहरु दर्शकमाझ आफ्नो चलचित्रको प्रचार गर्दा बारम्बार भन्ने गर्छन्, ‘विदेशी नेपाली कला-संस्कृतिलाई माया गरौं ।’ तर, यिनै कलाकारहरु विदेशी संस्कृतिको अन्ध नक्कलमा दौडिरहेका छन् । भोलि आयुष्मान र प्रियंकाले कुन मुखले दर्शकलाई भन्न सक्छन्, ‘नेपाली कला-संस्कृतिलाई माया गर्नुस, हाम्रो चलचित्र हेरिदिनुस’ भनेर ?

आफ्नो विवाहलाई सकेसम्म रमाइलो र अविष्मरणीय बनाउन जोकोही चाहन्छ । तर, यसका लागि विदेशी संस्कृतिको सहारा लिइरहनु पर्दैन । हाम्रो आफ्नै परपम्परा र संस्कृति पर्याप्त छ । विवाहमा रत्यौली खेल्ने, रुमाल खोसाखोस गर्ने, सुपाडी खेल्ने, सासु-बुहारीबीच माना-पाथी गर्ने लगायतका रमाइला चलनहरु अन्यत्र कहाँ छन् ?

तर, विदेशी संस्कारको अतिक्रमणले पछिल्लो समय हाम्रो वैवाहिक प्रणाली नै ‘ककटेल’ बनेको छ । यस्तो लाग्छ कि, मानौं विश्वका सबै परम्परा र संस्कृतिलाई बोकेर हिँड्ने ठेक्का नेपालीले नै लिएका छन् । आर्थिक हिसाबले पनि यो धान्नै नसक्ने गरी बोझिलो भइरहेको छ ।

शहरमा त विवाहको खर्च लाखमा होइन, करोडमा हुन थालेको छ । ईंगेजमेन्टदेखि सम्धी भेटसम्म बीचमा अनगिन्ति नयाँ-नयाँ रिवाजहरु पैदा गरिएका छन् । यी रिवाजहरुमा हुने लेनदेनले खासगरी केटी पक्ष चर्को दवावमा पर्छन् । मध्यमवर्गीय परिवारलाई त जीवनभर बहन गर्नुपर्ने आर्थिक भार सिर्जना गर्छ । दाइजो त अब विवाहको खर्चको सानो अंशजस्तो मात्रै देखिन थाल्यो ।

यस्तो प्रवृत्तिलाई निरुत्साहन गर्ने जिम्मेवारी समाजका अगुवाहरुको हो, जसमा कलाकारहरु पनि पर्छन् । उनीहरुले समाजमा फरक उदाहरण प्रस्तुत गर्ने कि आफू पनि त्यही दलदलमा भासिने भन्ने प्रश्न उठ्छ । महंगो वा भड्किलो विवाह टिकाउ हुने, अनि साधारण तरिकाले गरिएको विवाह कमजोर हुने पक्कै हुँदैन । भड्किलो विवाह गरेका सेलिब्रिटीहरु एक वर्षपछि एक-अर्कालाई सत्तोसराप गर्दै अलग्गिएका उदाहरण धेरै छन् । यी तीन नायिकाहरुको हकमा चाहिँ त्यस्तो नहोस् ।

ऋचा शर्माका सात तर्क

नायिका ऋचा शर्मा आफ्नो विवाहमा विदेशी संस्कृतिलाई आत्मसात गरेको सम्बन्धमा यस्ता तर्कहरु गर्छिन् :

१. मेरो विवाह नेपाली संस्कृति र परम्पराअनुसारै भएको हो । मैले लगाएको पोशाक, श्रृंगार सबै नेपाली थिए । विवाहमा रत्यौली पनि खेलियो, जसको चर्चा गरिँदैन । कुनै पनि हिसाबले मैले नेपाली संस्कृतिको उल्लंघन गरेको छैन ।

२. ब्याचलरेट पार्टी, मेहन्दी समारोह र संगीत समारोह पनि गरेकै हुँ । तर, त्यो नाम मात्रै दिएको हो । विवाहअघि केटी मान्छेलाई एकदम स्ट्रेस हुन्छ । त्यसैले आफ्ना साथीहरुसँग रमाइलो गरेँ । त्यसलाई ब्याचलरेट पार्टी भन्ने नाम दिइएको हो । यसमा मैले कुनै उछृङ्खलता प्रदर्शन गरेको छैन ।

३ . संगीत समारोह पनि त्यस्तै हो । खासमा विवाहअघि दुवै पक्षका परिवारहरुबीच घुलमिल हुनका लागि ‘किक अफ’ पार्टीका रुपमा खानपिन र नाचगान गरिएको थियो । यसलाई ‘संगीत सेरेमोनी’ नाम दिँदैमा केही फरक पर्दैन ।

४ . म्युजिक सेरिमोनीमा कुन भाषाको गीत बजाइयो भन्नेले कुनै अर्थ राख्दैन । मेरो विचारमा संगीतको कुनै भाषा हुँदैन । जुन मन पर्छ त्यही बजाउने हो ।

५. हामीले मेहेन्दी समारोह भने पनि विवाहअघि दुलहीले ‘आल्टा’ लगाउने चलन हाम्रै हो । मैले पनि आल्टा लगाएको हुँ । कसैलाई मेहेन्दी लगाउन मन लाग्यो उनीहरुले लगाए । सजिलोका लागि ‘मेहेन्दी समारोह’ भनिएको हो ।

६. नेपालीपन जगेर्ना गर्नुपर्छ । तर, यसको जिम्मा कलाकारले मात्रै लिएका छैनन् । सबै नेपालीको जिम्मेवारी हो । कलाकारलाई पछ्याउने हो भने उनीहरुले गरेका राम्रा कामलाई पछ्याए भयो नि ।

७. नेपाली संस्कृतिको कुरा गर्ने हो भने त केक काट्ने संंकृति पनि हाम्रो होइन । त्यसो भनेर जन्मदिनमा केक नै नकाट्ने ? त्यसैले विदेशी संस्कृति भन्नासाथ विकृतिकै रुपमा लिनुपर्छ भन्ने होइन । समयअनुसार चेन्ज पनि हुँदै जानुपर्छ ।

अन्त्यमा, नेपालको बदलिँदो वैवाहिक प्रणालीलाई समाजशास्त्रले कसरी हेर्छ ? समाजशास्त्री सुरेश ढकालको विचार जस्ताको त्यस्तै  :

‘यो उपभोक्तावादी संस्कृतिको असर हो’

सुरेश ढकाल, मानवशास्त्री

संस्कृति आफैंमा परिवर्तनशील कुरा हो । यसलाई विभिन्न तत्वहरुले प्रभाव पारिरहेका हुन्छौं । जसमध्ये एउटा हो, विदेशीको नक्कल ।

हामी टीभीमा, फिल्ममा भारतीय कल्चर हेर्छौं । त्यसलाई नक्कल गर्न खोज्छौं । त्यसैको प्रभाव हो पछिल्लो समयको विवाहमा भित्रिएका नयाँ प्रचलनहरु । म यसलाई विकृतिकै रुपमा चाहिँ हेर्दिनँ ।

हो, आजकाल विवाह भड्किलो भएको छ । यो पुँजीवादको असर हो । विवाहको भड्काउपनको सिधा सम्वन्ध बजारसँग हुन्छ । विदेशी वस्तुको बजार विस्तार गर्ने क्रममै यी विदेशी संस्कृतिहरु पनि भित्रिरहेका हुन्छन् । यसका लागि सेलिबि्रटीहरुको प्रयोग गर्ने चलन विश्वव्यापी नै छ । चाहे मेहेन्दीको कुरा गर्नुस् वा लेहेंगाको । सबै बजार र व्यापार नै हो ।

हामीकहाँ अहिले उपभोक्तावादी संस्कृति हाबी छ । यस्तो संस्कृतिको चरित्र के हो भने तपाईंले जति धेरै उपभोग गर्नुभयो त्यति माथिल्लो श्रेणीको देखिनुहुन्छ । त्यसैले माथिल्लो श्रेणीको देखिन बढीभन्दा बढी उपभोगका लागि लालायीत बन्नुहुन्छ ।

उपभोक्तावादी संस्कृति विस्तार गर्न विभिन्न एजेन्टहरुले काम गरिरहेका हुन्छन् । उनीहरुले हाम्रो निजी जीवनलाई प्रभावमा पार्छन् । यो आफ्नो परम्परा विर्सेर नयाँ संस्कृति अपनाउने नियत नभएर उपभोग गर्ने प्रतिस्पर्धा हो । यस्तो प्रतिस्पर्धाले मध्यमवर्ग र निम्नमध्यम वर्गलाई दबाबमा पार्छ नै । किनभने मध्यमवर्गले उच्चवर्गको नक्कल गर्न खोज्छ । त्यसैले यो वर्गलाई धान्न गाह्रो पर्छ ।

विवाहको मात्रै कुरा होइन । खानपान, लवाइदेखि घर बनाउने र चाडबाड मनाउनेसम्म कुरामा मध्यम वर्गलाई त्योखालको दबाव हुन्छ । उपभोक्ता संस्कृतिको विस्तारकै परिणाम हो यो । मध्यमवर्गको मनोविज्ञानलाई बजारले प्रभावित गर्ने कुरा हो ।

कतिपय कुरामा हामी आफ्नो पुरानो मौलिकतातर्फ फर्किरहेका पनि छौं । जस्तो, केही वर्ष अगाडिसम्म विवाहमा सुट लगाउनु अनिवार्यजस्तै थियो । आजकाल दौरासुरुवाल, टोपी बढी लगाउँछन् । विदेशी ब्याण्ड बाजाभन्दा नेपाली पञ्चैबाजातर्फ धेरै मोडिन थालेका छन् । यस्तो चक्रीय परिवर्तन निरन्तर चलिरहन्छ ।

विगतमा नेपालमा बेहुलीलाई डोली चढाएर पठाइन्थ्यो । त्यो अहिले सम्भव छैन । डोली चढाएर पठाउन त कार चढाउन भन्दा महंगो पर्छ ।

मानवशास्त्रले त मौलिक संस्कृति भन्ने नै केही हुँदैन भन्छ । यो समय र स्थान सापेक्ष हुन्छ । ५० वर्ष अगाडि जे मौलिक थियो त्यो अहिले रहँदैन । मौलिकता भनेको स्थान र समयअनुसार हुने हो । हाम्रा हजुरबाले जसरी विहे गरे, हामीले त्यसरी गरेनांै । हामीले जसरी बिहे गर्‍यौं, हाम्रा छोरा-नातिले नगर्लान् । यसमा पीर लिएर बस्नु हुँदैन ।

न त राज्यले कानून बनाएर यस्ता कुराहरुलाई रोक्न सक्छ । कानून त छ नि, विवाहमा यतिभन्दा बढी खर्च गर्न नपाइने, यतिभन्दा धेरै पाहुना बोलाउन नपाउने भन्ने । तर, त्यसको पालना कसले गरेको छ ? जुन देशमा प्रधानमन्त्रीले हेलिकोप्टरमा केक लगेर बर्थडे मनाउँछन्, त्यहाँ के सांस्कृतिक मितव्ययिताको कुरा गर्ने ?

जहाँसम्म कलाकारको कुरा छ, उनीहरु समाजका मानक हुन् भन्ने भ्रम हामी बोकिरहेका छौं । यो भ्रम तोडिनुपर्छ । कतिपय कलाकारलाई विवाहमा कम्पनीहरुले धेरै कुरा स्पोन्सर गरेका पनि हुन्छन् । यो बजार विस्तार गर्नलाई हो । उपभोक्तावादी, पुँजीवादी संस्कृतिको चरित्र नै यही हो । कलाकारलाई प्रयोग गर्दा उनीहरुको उद्देश्य चाँडो पूर्ति हुन्छ नि ।

कलाकार कुनै रोलमोडल होइनन् । उनीहरु त्यतिबेला रोलमोडल हुन सक्छन् जब समाजमा कुनै सकारात्मक योगदान दिएका हुन् । कलाकारले भयंकर खर्च गरेर बिहे गर्यो भने अरुले पनि त्यसलाई पछ्याउनुपर्छ भन्ने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment