Comments Add Comment

लोक सेवा आयोगको लिखित परीक्षा स्थगित, अन्तर्वार्ता नरोकिने

६ चैत, काठमाडौं । कोरोना भाइरसको जोखिमका कारण लोक सेवा आयोगले यही चैत ८ गतेदेखि चैत मसान्तसम्मका सबै लिखित परीक्षाहरु स्थगित गरेको छ । यसबीचमा हुने अन्तर्वार्ता परीक्षा भने नरोक्ने आयोगले जनाएको छ ।

आयोगको बिहीबार बसेको पदाधिकारी बैठकले चैत मसान्तसम्मका पूर्वनिर्धारित लिखित परीक्षाहरु स्थगित गर्ने निर्णय गरेसँगै बिभिन्न पदका ५० हजारभन्दा बढी परीक्षार्थीहरु प्रभावित भएका छन् ।

लोक सेवा आयोगले भोलि (शुक्रबार) लिने परीक्षा भने स्थगित हुने छैन ।

कुन–कुन परीक्षा स्थगित भए ?

लोक सेवा आयोगले चैत मसान्तभित्रका परीक्षा स्थगित गर्दा १०४ वटा विज्ञापनका बिभिन्न पदका परीक्षा प्रभावित हुनेछन् ।

आयोगका अनुसार राजपत्रांकित तृतीय श्रेणीका (प्राविधिक र अप्राविधिक अधिकृत) पदहरु, अधिकृतस्तरकै स्वास्थ्य सेवातर्फका सातौं र आठौं तहका पदहरुका लिखित परीक्षा स्थगित भएका छन् ।

यही चैत १७ गतेदेखि २६ गतेसम्म अप्राविधिक अधिकृत तहको द्वितीय चरणको परीक्षा निर्धारण गरिएको थियो । गत माघ २५ गतेको पहिलो चरणको परीक्षा पास गरेर द्वितीय चरणको परीक्षाको तयारीमा बसेका करिब ३ हजार ५ सय ५६ परीक्षार्थीहरु प्रभावित भएका छन् ।

स्थगित हुनेमा कृषि, इन्जिनियरिङ्ग, वन र विविध सेवा तथा स्वास्थ्य सेवाका सातौं र आठौं तहका अधिकृतको परीक्षा छन् ।

यस्तै राष्ट्रिय अनुसन्धान विभाग, दुग्ध विकास संस्थान, नेपाली सेना, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपाल नोटरी पब्लिक परिषदका परीक्षाहरु पनि स्थगित भएका छन् ।

अन्तर्वार्ता नरोकिने

यसबीच अन्तर्वार्ता परीक्षा भने नरोकिने लोक सेवा आयोगले जनाएको छ । ‘चैत मसान्तभित्र सहसचिव स्तरका थोरै परीक्षार्थीको मात्र अन्तर्वार्ता हुने भएकाले यसलाई हामीले रोकेका छैनौं,’ आयोगकी प्रवक्ता गीता होमेगाईंले भनिन् ।

यसैगरी चैत ६ र ७ गतेका परीक्षा भने रोकिएका छैनन् । चैत ६ गते दुग्ध विकास संस्थान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, केमिकल इन्जिनियर र कृषि भेटेरिनरीका लागि पहिलो पत्रको परीक्षा लिइएको थियो । दोस्रो पत्रको परीक्षा भने चैत ७ गते शुक्रबार हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment