Comments Add Comment

धार्मिक स्थलमा ठूलो भीड हुन नदिइने, सभाहलहरुमा कार्यक्रम निषेध

६ चैत, काठमार्डौ । सरकारले सरकारी निकाय मातहत रहेका सबै संग्रहालय बन्द गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रालय मातहतका सबै साँस्कृतिक केन्द्र, संग्रहालय तथा अभिलेखालय चैत मसान्तसम्म बन्द गर्ने निर्णय गरेको हो ।

सांस्कृतिक संस्थान, प्रज्ञा प्रतिष्ठानहरुका सभाहल र प्रेक्षालयमा अब कार्यक्रम गर्न नपाइने भएको छ । पूर्वनिर्धारित कार्यक्रम समेत स्थगित गर्ने निर्णय सरकारले गरेको छ ।

विभिन्न मठ मन्दिर, गुम्बा, मस्जिद, चर्च जस्ता धार्मिक स्थलहरुमा एकपटकमा २५ जना भन्दा बढी तीर्थालु र दर्शनार्थी भेला नहुने व्यवस्था मिलाउने निर्णय पनि भएको छ । त्यस्ता स्थलहरुमा लामबद्ध हुने दर्शनार्थी र तीर्थालु बीचको दूरी कम्तीमा १ मिटर कायम गर्ने व्यवस्था मिलाउने निर्णय सरकारले गरेको हो ।

यी स्थानमा साबुन पानीले हात खुट्टा धुने प्रवन्ध मिलाउने निर्णय समेत गरेको छ । सबै तीर्थालुहरुलाई अनिवार्य मास्क लगाउन सूचित गर्ने निर्णय पनि गरिएको छ । यस्ता स्थलहरुमा निश्चित अन्तरालमा सरसफाइ गर्ने निर्णय समेत भएको छ ।

पर्यटक सवारी साधनमा सिट क्षमताभन्दा बढी यात्रु ओसारपसार नगर्ने नगराउने निर्णय पर्यटन मन्त्रालयले गरेको छ । त्यस्ता सवारी साधन चलाउनु अघि सवारी साधनलाई भाइरसमुक्त बनाउनु पर्ने छ । यसको नियमित अनुगमन पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड र पर्यटक प्रहरीले संयुक्त रुपमा गर्ने निर्णय मन्त्रालयले गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आउने यात्रुहरुलाई हेल्थ ‘डिक्लियरेन्स फारम’ अनिवार्य भर्न लगाएर स्वास्थ्य जाँच गराउने निर्णय गरेको छ । यसको अनुगमन त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका महाप्रवन्धकले गर्ने जिम्मेवारी तोकिएको छ । साथै, आन्तरिक विमानस्थलका प्रस्थान क्षेत्रमा पनि सबै यात्रुहरुको स्वास्थ्य जाँच गर्ने व्यवस्था मिलाउने निर्णय मन्त्रालयले गरेको छ ।

यूरोप, पश्चिम एशिया तथा खाडी क्षेत्रक सबै मुलुकहरु एवं टर्की, मलेशिया, दक्षिण कोरिया र जापानबाट सिधा उडान भई आउने, ती मुलुकलाई ट्रान्जिट बनाई आउने तथा उल्लेखित मुलुकबाट प्रथम यात्रा शुरु गरी अन्य जुनसुकै मुलुकलाई ट्रान्जिट बनाई आउने सबै यात्रुहरुलाई २०७६ चैत्र ७ गते नेपाली समयको मध्यरातदेखि २०७६ चैत्र ३० गतेसम्म आगमनमा प्रतिवन्ध लगाइए अनुसार कार्यान्वयन गर्ने निर्णय समेत मन्त्रालयले गरेको छ ।

नेपाल सरकारद्वारा निश्चित अवधि तोकी ट्राभल एडभाइजरी जारी गरेको कारणबाट कुनै यात्रुले उक्त अवधिभित्रको यात्रा स्थगन गरेको वा वायुसेवा कम्पनी आफैंले उडान रद्द गरेको अवस्थामा हवाई टिकट रद्द गर्दा वा यात्रा मिति परिवर्तन गर्दा कुनै शुल्क नलिने र हवाई टिकट रद्द गर्दा पूरै रकम फिर्ता गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले सबै वायुसेवा कम्पनीहरुलाई निर्देशन दिने निर्णय समेत मन्त्रालयले गरेको छ ।

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान, नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानले सञ्चालन गरिरहेका पठनपाठन २०७६ चैत्र मसान्त सम्म बन्द गर्ने निर्णय समेत पर्यटन मन्त्रालयले गरेको छ । पर्यटन मन्त्रालय मातहतका निकयाबाट आयोजना हुने सबै कार्यक्रम चैत मसान्तसम्म बन्द गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment